धुलिखेल अस्पतालमा आमा र नवजात शिशुको मृत्यु
काभ्रे : धुलिखेल अस्पतालमा नवजात शिशु र आमाको मृत्यु भएको छ। नमोबुद्ध नगरपालिका-९ निवासी कान्छामान लामा तामाङकी ३० वर्षीया श्रीमती माइली माया तामाङको उपचारको क्रममा मृत्यु भएको हो।
माइली माया तामाङ ३२ हप्ता ४ दिनको गर्भवती थिइन्। नियमित चेकजाँच गराउँदै आएकी माइली साउन ७ गते पुन: चेकजाँचको लागि मेथिनकोट अस्पताल भकुण्डे पुगेकी थिइन्। सोही दिन उनको अवस्था बिग्रिएकाले धुलिखेल अस्पतालमा विस्तृत परीक्षणको लागि पठाइएको थियो।
धुलिखेल अस्पतालमा आमा र पेटभित्र रहेको बच्चाको अवस्था गम्भीर रहेकाले बुधबार २ बजे अप्रेशन गरी नवजात शिशु निकालिएको थियो। नवजात शिशुको अवस्था गम्भीर रहेकाले १:२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
आमाको पनि अवस्था गम्भीर रहेकाले उनलाई राति २ बजे आइसीयुमा राखिएको थियो। उपचारको क्रममा माइलीको बुधबार दिउसो ३ बजे मृत्यु भएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। यस घटनालाई लिएर विभिन्न पक्षबीच बुधबार अस्पतालमा छलफल भए पनि ठोस निष्कर्षमा पुग्न नसकेको डीएसपी श्रेष्ठले बताए।
वार्ता भएको कुनै विषयमा कुरा नमिलेको अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु भएको नमोबुद्ध नगरपालिकाको मेयर कुन्साङ लामाले जानकारी दिए। यस घटनाले अस्पतालको चरम लापरबाही भएको भन्दै आफन्तहरू आक्रोशित छन्।
यसअघि पनि विगत पटक-पटक सुत्केरी महिला र बिरामी कुरुवाको समेत अस्पतालमा निधन भएको थियो। धुलिखेल अस्पतालमा पछिल्लो समय चरम लापरबाही हुने गरिएको स्थानीयले बताएका छन्।