भत्केको सडकलाई त्रिपालको ओत
स्याङ्जा : बाढी पहिराका कारण भत्केको सडकलाई त्रिपालको ओत लगाइएको छ। पुतलीबजार नगरपालिका १२ स्थित पेल्काचौर जाने सडक खण्डका अधिकांश सडक भत्किएका छन्।
असारको अन्तिम साता आएको मुसलधारे पानीसहितको बाढी पहिराले नवनिर्मित जाडखोला-पेल्काचौर पक्की सडकका ३-४ ठाउँमा भत्काएको छ। करिब ६-७ किलोमिटरका अन्तरमा ४ वटा ठूला र धेरै साना पहिरा खसेका छन्। पहिरोले धेरै लामो र ठूलो भूभाग खसालेको छ। माथिबाट झरेका पहिराले सडक जीर्ण बनाएको छ।
गण्डकी प्रदेश सरकारको सहयोगमा पुतली बजार नगरपालिका ११ जाँड खोला र १२ पेल्काचौर जोड्नेगरी पक्की सडक निर्माण पक्रिया अघि बढेको थियो। पछि नगरपालिकाले समेत सडक निर्माणमा लगानी रहेको छ।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले भने, ‘दिनहुँ दर्जनौ सवारी साधन गुड्ने यस सडकमा अहिले दोहोरो सवारी साधन गुडाउन कठिन छ। अझै पनि माथिबाट ढुंगाा र माटो फुसफुस झरिरहेको छ। सडकको आधाआधी जसो भाग खसालेको छ।’ सडकको अवस्था जाँचबुझ गर्न नगरप्रमुख रेग्मी सहितको प्राविधिक टोली पुगेर निरीक्षण तथा अवलोकन गरेको छ। सोही टोलीले भत्केको जमिनलाई त्रिपाल ओढाएर राखेको छ।