जानकी आँखा अस्पताललाई लागेको रोग
अरू उपचार सन्तोषजनक होला, तर आँखाको उपचारमा नेपाल अब्बल मानिन्छ । नेपालमै उत्पादन भएका लेन्स विश्व बजारमा बिक्री हुन्छन् । डा. सन्दुक रुइतले नेत्र विशेषज्ञका रूपमा विश्वमा ख्याति कमाएका मात्रै होइनन् देशका अधिकतर आँखा अस्पतालको उपचार उच्चकोटीको छ । तर यही विषयको एउटा स्वास्थ्य संस्था जानकी आँखा अस्पतालको हालत भने चौपट छ । जानकी आँखा अस्पताललाई लागेको रोग एउटा छैन, अनेक छन् । राजनीतिक हस्तक्षेप, आर्थिक अपारदर्शिता, नातावाद÷कृपावादको भरमा नियुक्ति, जातिवादी मानसिकतालगायत रोगले यो अस्पताललाई ग्रस्त पारेको छ । बेथितिले कतिसम्म सीमा पार गरेको छ भने डाक्टर, स्वास्थ्यकर्मी कुटिएका छन् । अनि कर्मचारी र स्वास्थ्यकर्मी नै आन्दोलित हुँदै सेवा ठप्प पार्छन् ।
कतिपय जटिल रोगका उपचारका लागि नेपालीहरू भारतीय सहर सिलगुढी, लखनउ वा दिल्ली पुग्छन् । त्यति भरपर्दाे मानिन्छ यहाँका आँखा अस्पतालको उपचार कि भारतीय आफ्नै देशको भन्दा हाम्रा अस्पतालको उपचार निको मान्छन् । जानकी अस्पतालमा आउने आँखाका बिरामीमा पनि भारतीयको संख्या उल्लेख्य हुन्छ । नेपाली त हुने नै भए । बिरामी त आखिर बिरामी नै हो, आखिर जहाँको नागरिक भए पनि । नेपाली हुनुको नाताले हुने विशेष सुविधाबाहेक उपचारमा कसैलाई पनि चिकित्सा वा स्वास्थ्य सेवाले विभेद गर्ने कुरा भएन । जानकी अस्पताल प्रशासनदेखि उपचारसम्ममा भएका बेथिति र भित्रको द्वन्द्वको मारमा नेपाली र भारतीय दुवैथरी बिरामी परेका छन् ।
आँखा अस्पतालहरू सरकारी स्वामित्वभन्दा पनि गैरसरकारी संस्था नेत्रज्योति संघअन्तर्गत चलिरहेका छन् नेपालमा । जानकी आँखा अस्पताल पनि सरकारी स्वामित्वको होइन, नेपाल रेडक्रस सोसाइटीको हो । सरकारीमा राजनीतिक हस्तक्षेप धेरै हुन्छ तर गैससवालामा त्यस्तो कम भन्ने अरू आँखा अस्पतालहरूका हकमा देखिन्छ । तर रेडक्रसजस्तो पवित्र र परोपकारी संस्थाबाट सञ्चालन हुँदाहुँदै पनि जानकीमा धेरै रोग लाग्नु विडम्बना हो । त्यसो त रेडक्रस केन्द्र आफैंमा निकै ठूलो विवादको भुँमरीमा फसेको छ । सरकारी वा गैरसरकारी लक्ष्य त बिरामीको सेवा नै हो । गैरसरकारी संस्था पनि सार्वजनिक सम्पत्ति हुन् । तसर्थ जानकी अस्पतालका जुन विवादका छालहरू छन्, तिनलाई पन्छाउन सरकारी पहल पनि जरुरी हुन्छ । स्थानीय बासिन्दा र नागरिक अगुवाको पनि भूमिका चाहिन्छ । जानकी आँखा अस्पतालको रोगको निदान छिटो हुनुपर्छ, स्थानीयदेखि र प्रदेश सरकारसम्मले चासो राखेर सकारात्मक पहल कदमी चाल्नुपर्छ । त्यसका नाममा उनीहरूले पनि राजनीतिक हस्तक्षेप चाहिँ गर्नु हुँदैन । परिवर्तन र सुधारका लागि सकारात्मक हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ ।