जहाजको सी–चेक के हो ? के बिग्रिएको जहाज नै उडाइएको थियो ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सातौं दुर्घटना
उड्नासाथ सौर्य एयरको विमान खस्दा १८ को मृत्यु
काठमाडौं : पाँच आन्तरिक गन्तव्यमा उडान भर्दै आएको सौर्य एयरलाइन्सले जहाज नियमित चेकजाँचका लागि पोखरा लैजाने तयारी थियो। जहाजको नियमित उडान तालिकालाई रोकेर फेरि उडानको अनुमति लिएको थियो। फेरि उडानमा चालकदल र केही प्राविधिज्ञ जाने चलन छ।
विमान परिचारिका पनि यो उडानमा नलगिने विज्ञ बताउँछन्। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग फेरि उडानको अनुमति लिँदै बुधबार जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लैजान अनुमति लिएको थियो। एयरलायन्सको कलसाइन नाइनएन–एएमई बोम्बारडियर जहाज सी चेकका लागि पोखरा लगिँदै थियो।
नियमित उडान रोकी नियमित मर्मत सम्भारका लागि पोखरा जाने तयारी जहाज भएको प्राधिकरणका प्रवक्ता हंसराज पाण्डे बताउँछन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ बजेर ११ मिनेट पोखरा उड्ने स्लट थियो। १७ जना प्राविधिज्ञ र २ चालकदलसहित पोखरा जाने जानकारी प्राधिकरणलाई दिइएको थियो।
जहाज उडानका लागि योग्य थियो। ११ बजेर ११ मिनेटमा रनवे ०२ कोटेश्वरबाट उडेको जहाजले सतह छोडेर करिब ४ सय फिटमाथि गएपछि सन्तुलन बिग्रिएर रनवेको पूर्वतिर भुइँमा बजारिन पुग्यो। ‘उडेर करिब ४ सय फिटमाथि पुगेपछि जहाजको कन्ट्रोल असन्तुलन भएको देखिन्छ। पहिला बायाँतिरे र फेरि दायाँतिर मोडिदा जहाज धावनमार्गको पूर्वतिरको घाँसे मैदानमा बजारिएर र जोतिएर दुर्घटना भएको देखिन्छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
जहाज दुर्घटनापछि तुरुन्तै विमानस्थल बन्द गरिएको थियो। उद्धार टोली, फायरफाइटरहरूले आगो निभाउने काम गरे। जहाजका क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरेर अस्पताल लगिएको थियो। उद्धार गर्ने क्रममा सहचालकसहित १८ जनालाई महाराजगन्जस्थित टिचिङ अस्पताल पुर्याइयो। अस्पतालले १८ जनालाई नै मृत घोषण गर्यो।
प्राधिकरणका अनुसार विमानमा पाइलट मनिष शाक्य र को–पाइलट एस कटवाल रहेका थिए। त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र विदेशी नागरिक एरिफ रेडा सवार थिए। कम्पनीले सबै कर्मचारी भने पनि एक बालक र एक महिला सौर्यको कर्मचारी नभई कर्मचारीको परिवार भएको खुलेको छ। फेरि उडानमा अन्य यात्रु लैजान नमिल्ने सूचना अधिकारी भुल बताउँछन्।
तस्बिर : अशोक दुलाल
जहाज दुर्घटनामा मृत्यु भएकामध्ये एकजना विदेशी प्राविधिज्ञ छन्। उनी सौर्य एयरलाइन्समा प्राविधिकका रूपमा कार्यरत रहेको बुभिएको प्राधिकरणले बताएको छ। जहाज के कारणले दुर्घटना भयो भन्ने थाहा हुन सकेको छैन।
‘अधिकांश तीनै इन्जिनियर हुन् जसले जहाज उडानका लागि योग्य छ भने प्रमाणीकरण गर्थे। उनीहरू नै यात्रु भएर चढेको जहाज दुर्घटना भएको छ। यसको कारण अहिले भन्न सकिँदैन। मौसम ठीक छ, रनवे खाली छ कसरी दुर्घटना भयो ?’ प्रवक्ता पाण्डे प्रश्न गर्छन्।
जहाजको सी–चेक के हो ? के बिग्रिएको जहाज नै उडाइएको थियो ?
करिब १० वर्षदेखि सञ्चालनमा रहेको सौर्य एयरलाइन्स उडान सुरक्षामा अब्बल नै रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्। अरू विमान कम्पनीहरूमा सानातिना समस्याहरू देखापरी रहेको भए पनि यसमा भने त्यस्ता समस्या अहिलेसम्म नआएको प्राधिकरणको भनाइ छ।
११९ घन्टा फ्लाइङ आवर(उडान गर्न योग्य अवधि) बाँकी रहँदा नै नियमित तथा पूर्णजाँच जसलाई सी–चेक पनि भनिन्छ, गर्नका लागि पोखरा लैजान प्राधिकरणसँग अनुमति मागेको थियो।
काठमाडौं विमानस्थलमा रहेको बुद्ध एयरलाइन्सको ह्यांगर(जहाज मर्मत तथा सम्भार गर्ने ठाउँ) मा स्पेस नभएका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आफ्नै नयाँ ह्यांगरमा चेकजाँचका लागि लैजान प्राधिकरणसँग अनुमति मागिएको भुल बताउँछन्। जहाज नियमित, कार्गो र फेरि गरी ३ प्रकारको अनुमतिमा उडाइने गरिन्छ। नियमित र कार्गो उडान पैसा तिरेर गर्ने व्यावसायिक उडान हो भने फेरि उडानमा चेकजाँच तथा मर्मतका लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाने गरिन्छ। जसमा यात्रु राख्न मिल्दैन।
सूचना अधिकारी भुलका अनुसार जहाजको २ मेन्टेनेन्स हुन्छ, लाइन र बेस। लाइन मेन्टेनेन्स भनेको उड्दा जहाजमा समस्या आएपछि जहाजको पार्किङमा नै गर्ने मेन्टेनेन्स हो। बेस मेन्टेनेन्समा जहाजको फरक चेक हुन्छ। ए चेक, बी चेक, सी चेक र डी चेक भन्ने हुन्छ। जहाजले उडान गरेको डेढ वर्षबाट २ वर्षमा सी–चेक गर्नुपर्ने हुन्छ। यसलाई ५ हजार घन्टाको चेक पनि भनिन्छ। फेरि उडानमा जम्बो टोली लैजान हुने वा नहुने सम्बन्धमा पनि प्रश्न खडा भएको छ। चालक दल र केही प्राविधिज्ञ जानुपर्नेमा प्राविधिकहरूको जम्बो टोली नै जान उचित हुने वा नहुने सम्बन्धमा छानबिन समितिले अध्ययन गर्ने भुल बताउँछन्। नियामक निकायको त्रुटि या विमान कम्पनीको त्रुटि भन्ने अध्ययनपछि थाहा हुने उनको भनाइ छ।
काठमाडौंको ह्यांगरमा पर्याप्त ठाउँ नभएकाले पोखरामा मर्मतका लागि लैजान लागिएको थियो। अन्य विमान कम्पनीहरूले पनि जहाजको मर्मतका लागि पोखरा लैजाने गरेका थिए। सौर्य एयरलाइन्सले जहाज उडान मात्र नगरी मेन्टेनेन्स गर्ने अनुमति पनि पाएको छ। एयरक्राफ्ट मेन्टेनेन्स अर्गनाइजेसन(एएमओ) गर्ने अनुमति पाएको कम्पनीमा बुद्ध र सौर्य एयरलाइन्स पर्छन्। सबै ठाउँबाट अनुमति लिएर र प्रक्रिया पुर्याएर नै पोखरा लैजाने तयारी भएको सूचना अधिकारी भुलले जानकारी दिए।
काठमाडौं विमानस्थलमा भएको यो ७ औं दुर्घटना
२००६ सालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरण विमानस्थलको रूपमा सञ्चालनमा आएको हो। विमानस्थलको आधिकारिक उद्घाटन भने २०१२ सालमा भएको थियो र यसलाई त्रिभुवन भनी नामाकरण गरिएको थियो। नेपालमा हवाई इतिहास सुरु भएदेखि पछिल्लो दुर्घटना जोड्दा १०८ हवाई दुर्घटना (आन्तरिक उडान भर्ने जहाज तथा हेलिकप्टर र विदेशी जहाजसहित) भएका छन्।
दुर्घटनाग्रस्त जहाजको भग्नावशेष। तस्बिर : सुनिता डंगोल
हवाई दुर्घटनाका दृष्टिकोणले नेपालको पहाडी तथा हिमाली भेगका जोमसोम, लुक्ला, सिमिकोट, जुम्ला, डोल्पा जस्ता विमानस्थलहरू बढी जोखिमयुक्त रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाउँछ। भौगोलिक बनावट, धावनमार्ग र अन्य आवश्यक पूर्वाधारका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षित नै मानिन्छ। तर, पनि यो विमानस्थल सौर्य एयरलाइन्सको जहाज दुर्घटनासँगै कुल ७ दुर्घटना भएका छन्।
त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा अहिलेसम्म ७३ जनाले ज्यान गुमाएका छन्। मृत्यु संख्याको हिसाबले सौर्यको यो दुर्घटना दोस्रो ठूलो हो। पहिलोमा यूएस बंगला एयर दुर्घटनामा ५१ यात्रुको ज्यान गएको थियो। त्रिभुवन विमानस्थलमा सबैभन्दा पहिला थाई एयरवेजको विमान २०२९ सालमा दुर्घटना भएको थियो। उक्त जहाज दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो। २०५२ सालमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुँदा २
को मृत्यु भएको थियो।
डेढ घन्टामा विमानस्थल पूर्ण सुचारु
सौर्य एयरको जहाज धावनमार्ग नजिकै दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही घन्टापछि खुले थियो। बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको विमान दुर्घटनापछि विमानस्थल बन्द गरिएको थियो।
आपतकालीन उद्धारका लागि विमानस्थल बन्द गरिएको थियो। उद्धारको काम सकिएपछि विमानस्थल सञ्चालनमा आएको हो। विमानस्थल बन्द भएपछि बाहिरबाट आएका जहाजहरूलाई डाइभर्ट गरिएको थियो। आपतकालीन बन्द गरिएपछि विमानस्थल अस्तव्यस्त बनेको थियो। सुचारु भएको केही समयमा नै सबै उडानहरू नियमति रूपमा सञ्चालन भएको सूचना अधिकारी भुलले जानकारी दिए।
हवाई दुर्घटनापछि जाँचबुझका लागि गठन भयो १०८औं आयोग
सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग बनाएको हो।
समितिमा दीपु ज्वारचन, सुदीप भट्टराई, सञ्जय अधिकारी र मुकेश डंगोल रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार समितिले ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ।
यसअघि पनि १ सय ७ दुर्घटनामा त्यति नै जाँचबुझ समिति गठन भएका छन्। सबै समितिले दुर्घटनाका कारण दिने गरेका छन्। यी समितिहरूले दिएका कारण र सुझाव प्रायः एकै किसिमका छन्। दुर्घटनाका मुख्य कारणमा वातावरणको स्थिति, मानवीय त्रुटि, संगठनात्मक निर्णय र प्राविधिक त्रुटि हुने गरेकोमा नेपालमा भने मानवीय त्रुटि नै मुख्य हुने गरेको अघिल्ला प्रतिवेदनहरूले दर्साएका छन्। तर, उस्तै प्रकृतिका हवाई दुर्घटनाहरू दोहोरिने गरेका छन्।
यसअघिका जाँचबुझ समितिले दिएका सुझाव कार्यान्वयन भएकी भएन भनेर हेर्ने निकाय भने नेपालमा छैन। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ) को एनेक्स १३ ले दुर्घटनासम्बन्धी जाँचबुझका लागि एउटा छुट्टै निकाय चाहिन्छ, जुन स्थायी प्रकृतिको हुनुपर्ने भनी उल्लेख छ। सिकागो कन्भेन्सनले पनि दुर्घटना छानबिन आयोग स्थायी प्रकृतिको अलग्गै गठन गर्नुपर्छ भनेको छ। तर, नेपालमा त्यस्तो निकायको आवश्यकता महसुस अहिलेसम्म गर्न नसकिएको प्राधिकरण स्रोत बताउँछ।
‘१०८ औं दुर्घटना भयो। अहिलेसम्म हवाई दुर्घटनामा परी ९५९ जनाले ज्यान गुमाएका छन्। विमानस्थल हाताभित्रै नै यसअघि पनि दुर्घटना भएका छन्। उस्तै प्रकृतिका दुर्घटना नेपालमा दोहोरिने गरेको छ।’ स्रोत बताउँछ।
सरकारले ४५ दिनको समय दिएर दुर्घटनाको अध्ययन गर्न भन्छ तर समिति सदस्यहरूसँग नत साधन, स्रोत न त दक्ष जनशक्ति नै हुन्छ। तोकिएको समयभित्र २–४ वटा पुराना सुझाव अध्ययन गर्छन्, सम्बन्धित कम्पनी लगायतलाई सोधपुछ गर्छन् र सरकारलाई रिपोर्ट बुझाएर जाने गरेको स्रोत बताउँछ। तर, ती सुझावको कार्यान्वयन भयो कि भएन भनेर निरन्तर अनुगमन गर्ने निकाय नै छैन। दुर्घटना भइसकेपछि मात्र दुर्घटना आयोग चाहिने भन्ने गलत मान्यता नेपालमा रहेको उनको तर्क छ। यदि पहिला प्रतिवेदन कार्यान्वयन हुने हो भने
सोही प्रकृतिका दुर्घटना कि कम हुन्छन् कि घट्दैन भन्दै ती अधिकारीले उच्चस्तरीय दुर्घटना आयोग गठन आवश्यक रहेको बताए। आयोग गठनसँगै त्यसमा तोकिने अध्यक्ष तथा सदस्यहरूको मापदण्डका बारेमा पनि प्रश्न उठ्ने गरेको छ।