मृत्यु र भ्रष्टाचार
मुलुकलाई कंगाल बनाएर व्यक्ति मोटाउने प्रवृत्ति भड्किएको मृतात्मा सरह नै हो।
नटार्न सकिने न त रोक्न सकिने मृत्यु। तर, शाश्वत सत्य मृत्यु कहिलेकाहीँ अत्यन्तै हृदयविदारक र अस्वाभाविक झै लाग्छ। सबै मर्छन्। तर, केही व्यक्ति मरेर पनि बाँचेका हुन्छन्। विषय अति नै मननीय छ। अर्थात् हरेक जीवित पदार्थको अन्त्य हुन्छ हुन्छ मृत्यु निश्चित छ। त्यसैले बाँच्नु अल्पकालीन हो, भने मर्नु दीर्घकालीन, मानिसले जगत्बाट बहिर्गमनलाई त्यसैगरी सहनुपर्छ, जसरी आगमनलाई।
पौराणिककालदेखि नै मानिसहरूले, अझ भनौं पुराणहरूमा वर्णित कथाहरू अनुसार त त्यसकालमै मानिसहरूले मृत्युमथि विजय पाउने चाहना राख्दै आएको र त्यसका लागि उपायहरूको खोजी गर्दै आएको पाइन्छ। तर सम्भव देखिएन। अहिलेसम्मको शाश्वत सत्यचाहिँ के हो भने जीवनपछि मृत्यु अनिवार्य छ।
बाबुले पति शिवजी गरिब भएकाले गरेको अपमानले भएको मानसिक पीडाका कारण सतीदेवीले यज्ञ अग्निमा हामफालेर आत्महत्या गर्दा, आत्महत्याले शिवजी मानसिक रूपमा नै विक्षिप्त भई र सतीको लास नै उठाएर हिँडेका विषय पनि हाम्रा ग्रन्थमा पाइन्छ। क्षणभरको आवेगमा आएर आत्महत्या गर्ने सतीदेवीप्रतिको शिवजीको आशक्ति र नजिकका मानिसको मृत्यु हुँदा मानसिक रूपमा विक्षिप्त हुने विषय पनि सामान्य नै लाग्छ।
मानसिक रूपमा विक्षिप्त हुँदा कसैले सहायता गर्न सक्थ्यो कि ? रामले सीतालाई दिएको दुःखको हीनताबोधले उनलाई पीडा हँुदा सरयु नदीमा डुबेर गरेको जीवनको अन्त्य मानसिक विक्षिप्त भएकै कारण भएको पीडा भनी बुझ्न पनि कठिनाइ रहेन। रामायणमा रामको वा दशरथको मृत्यु भएको कुरालाई हेर्दा मानसिक समस्या कि असत्यप्रतिको विद्रोह ? आत्महत्या कि आत्मदाह, शंकाको घेरामा रहन सक्ला, तर कृष्णले अर्जुनलाई युद्धको संघारमा विचलित मानसिकतावाट स्वचालित बनाउँदा पाएको सफलता पनि मननीय नै छ। तर भीष्मपितामह र हिरण्यकशिपुको हृदयविदारक मृत्यु पनि टारिएन। कारण फरक होलान् तर मृत्यु सत्य हो भगवान्देखि असुर जे होस् टारेर टर्न सक्दैन।
फेरि आम मान्छेकै कुरा गरौं। कोभिड–१९ महामारीको सामना गर्नु भनेको अनिश्चितता र जीवनयापनका चिन्ताहरूसँग जुध्नु र भविष्यका लागि आशाहरू सिर्जना गर्न संघर्ष गर्नु पनि थियो। कतिको ज्यान गयो त कति बेपर्वाह रहे। जे होस् कसैले चाहेर नचाहेर पनि मृत्युलाई टार्न सकेन।
तर यति हुँदाहुँदै पनि कतिपय मानिसमा अजम्बरी देहझै मुलुकलाई कंगाल बनाएर व्यक्ति मोटाउने प्रवृत्ति भने अध्यावधिक छ। मुख्यसचिवलाई नै भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता परेको छ।
भ्रष्टाचारले बालबालिकाका सपना चँुडिन्छ, बाआमाको ओखतीमूलो धुतिन्छ, युवाको रोजगारी खोसिन्छ, अर्थतन्त्र कमजोर हुन्छ, समृद्धि लुटिन्छ, अति सम्पूर्ण राष्ट्र असफलताको दलदलमा भासिँदै जान्छ र राज्यको अस्तित्वको अन्त्यसमेत हुन सक्छ।
खराब व्यवहारको नतिजा सही हुनै सक्दैन। न त यसले स्वयं व्यक्तिलाई सकारात्मक प्रभाव पार्छ त राष्ट्रलाई। अनैतिकता केवल दुःखको कारण हो, भने सदाचार र नैतिक चरित्र व्यक्ति, परिवार र समाज तनाव हरणको शत्रु हो। त्यसैले भ्रष्टाचारीको जीवन पापको रास मात्र हो र मृत्यु मस्त्र्यलोकको भारको अवशान मात्र।
मृत्युलाई त्यति सस्तो पनि नबनाउँ कि कसैको मृत्युको कुरा गर्दा लाज पनि नलजाओस्। आम मानिसमा के विषय अनुभूति हुनु आवश्यक छ भने मर्नु र बाँच्नुभन्दा पनि बाँच्छौँ भने कसरी बाँच्छौँ, मर्छौं त कसरी मर्छांै भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ। मुलुकलाई कंगाल बनाएर व्यक्ति मोटाउने प्रवृत्ति भड्किएको मृतात्मा सरह नै हो। सार्थक जीवनका लागि व्यक्तिको रुचि, खुबी र ज्ञानको आधारमा पेसा व्यवसाय अवलम्बन गर्ने र अवलम्बन गरेको पेसा व्यवसायको विशिष्ट अनुशासन र आचारसंहिताको पालना गर्नै पर्छ।
मृत्युलाई त्यति सस्तो पनि नबनाउँ कि कसैको मृत्युको कुरा गर्दा लाज पनि नलजाओस्।
पूर्वीय दर्शनमा स्थापित षड्दर्शनका मूलभूत मान्यताहरू छचल्किए झै लाग्छ। हाम्रो संस्कार र सभ्यतालाई युग, समाज र जीवनसापेक्ष ग्रहण गरी त्यसलाई मानवजीवन, धर्तीको कल्याणको आधार मान्नु पनि हो। जसमा लोककल्याणकारी भावना, मानवसेवा र समाजसेवाको चेतना, आध्यात्मिक चिन्तन र सत्कार्य आफनो जीवन अर्पण गर्ने आत्मा र ईश्वरीय सत्ताप्रति विश्वास रहेको विषय उल्लेख छ। परोपकारी र लोकहितकारी भावनाबाट प्राप्त आनन्द अनित्य र विपरिणामी भौतिक जगत्भन्दा परको अमृततत्व जीवनको प्राप्ति नै हो अनि अज्ञानता, क्षणिक स्वार्थ र सांसारिक सुखभोगको अभिलाषा मुक्तिमार्गको अवरोध हो। लोभ, ईष्या, मोह र लालचाबाट मुक्त भई ईश्वरीय परम प्राप्तिलाई जीवनको लक्ष्य बनाएमा जीवन सबै खालका दुःखबाट मुक्त हुन्छ भन्ने आध्यात्मिक चिन्तनसमेत प्रस्तुत भएको छ।
भनिन्छ, मानिस मरे पनि यश, कीर्ति र चेतना मर्दैन। आत्माले त अर्को जन्म लिन्छ। जसरी एउटा सलाईको काँटी आफू निभ्ने निश्चित हँुदाहँुदै पनि दियो जलाउन आतुर हुन्छ। त्यसरी नै एउटा आत्माले अर्कोलाई मुक्ति मिल्न सक्दछ। के जीवनको अन्त मृत्यु हो ? भागवत गीताले जीवन अनि मृत्युका बारे मान्छेको जीवन र आत्मालाई जोडेर मृत्युलाई मुक्तिका रूपमा व्याख्या गरेको पाइन्छ। त्यस्तै आदिकवि भानुभक्त आचार्यको कविता ‘देह र आत्मा’ले पनि आत्मा शरीर परिवर्तन गर्दै हिँड्दछ, न कुनै हतियारले यसलाई नष्ट गर्न सक्छ, न त हावाले सुकाउन सक्छ, आत्मा अजर अमर छ भन्ने सार उल्लेख गरेको छ।
हरेक जीवन एउटा नयाँ देह हो। जहाँ आत्मालाई आत्मिक शुद्धता र चेतनाका आधारमा नयाँ जीवन्तता प्रदान गरिन्छ। विशिष्ट जीवन प्राप्त गर्न भने चेतनामा नियन्त्रण गर्न जरुरी मानिन्छ, चेतनशीलतामा कमी भएमा तल्लो तहको जीवन प्राप्त हुने बताइन्छ। जीवनको वास्तविक मूल्य र उद्देश्य मृत्युलाई एउटा अर्थपूर्ण समाधिको स्वरूप दिनका लागि हो भन्ने हिन्दु शास्त्रहरू केन्द्रित देखिन्छन्। त्यसैले मृत्युलाई जीवनको अन्त्य नभई अनन्त यात्रामा सानो अंश मनन् गर्नुपर्ने देखिन्छ।
बौद्ध दर्शनमा अष्टमार्गमा आठ सिद्धान्तहरू अपनाउन आग्रह गरिएको छ। बुद्धले लालसाको दमन गर्न र मोक्ष प्राप्त गर्न अष्टाङ मार्गको प्रतिपादन गरेका हुन्। जसअनुसारका नियमहरू सम्यक दृष्टिकोण, सम्यक वाणी, सम्यक संकल्प, सम्यक कर्म, सम्यक निर्वाह, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि हुन्। दुःखहरू हटाउन तथा एकाग्रतासँग विचार, भावना स्थिर र शुद्ध अष्टमार्ग महत्वपूर्ण रहन्छ जुन आधुनिक नैतिकता र सदाचारमा आधारित छ। जसको अभ्यासबाट मनको एकाग्रताबाट शुद्ध ज्ञानको अनुभूति हुने र धर्मको सागरमा छलांग मार्न सकिने विषय उल्लेख छ। सम्पूर्ण मनुष्य जगत्को कल्याण गर्नेको मृत्यु पनि अमर हुने निष्कर्ष छ।
अन्त्यमा, ‘वचनको ऋषि र व्यवहारको सिसी’ प्रवृत्ति व्यक्ति र संगठन पतनको द्योतक हो। ‘मनको सफा र वचनको पक्का’ नेतृत्व संस्थागत समृद्धिको आधारभूत सर्त हो। व्यक्तिका जिम्मेवारी फरक होलान्। तर प्रत्येक जीवनको उत्तिकै महत्व हुन्छ। कुनै पेसामा राष्ट्रप्रतिको दायित्व बढी होला त कसैको कम। बढी दायित्वयुक्त व्यक्ति झन् बढी नैतिक, सदाचारी र विभेदरहित हुनुपर्छ।
किनकि उसलाई समाजले पछ्याइरहेको हुन्छ र उसको फराकिलो प्रभाव पनि रहेको हुन्छ। खराब आचरण र व्यवहारले मानिस, जीवनभर दुःखका शृंखलामा परिरहन्छ। र ऊ बाँचेर पनि पलपल मरिरहेको हुन्छ। तर जुन मानिस निस्वार्थपूर्वक सामाजिक कल्याणका लागि मर्छ, ऊ प्रेरणाको रथारोहण गर्छ। त्यसैले दुःख आर्य सत्य हो र दुःखको कारण आफू र आफन्तप्रति भौतिकको आशक्ति हो भन्ने बोध नभएसम्म दुःखको निवारण गर्न सकिँदैन। र, दुःखको निवारणको लागि आर्य अष्टांगिक मार्गको बोध र पालनाबाट सम्भव छ। जसका लागि नियमसंगत सबैप्रतिको समभाव र सहानुभूति हो भन्ने कुराको अनुभूति अनिवार्य देखिन्छ। अनिमात्रै सम्यक समाधि प्राप्त गर्न सहज हुन्छ।
मृत्यु शाश्वत सत्य नै हो। अतः जिम्मेवारी जेसुकै होस्। आफ्नो अन्तरनिहित स्वार्थ र लोभवाट मुक्त भई स्वार्थहीन, सदाचारी, जवाफदेही, पारदर्शी, इमान्दार र उदाहरणीय व्यवहार गर्न सकेमा व्यक्ति मरेर पनि बाँच्न सक्छ। समाधिको बाबजुद समाजले उसको यश, कीर्ति पुस्तौ पुस्ताका लागि स्मरणको पानामा कैद गर्नेछ। र, यस्तो मृत्यु अत्यन्तै हृदयविदारक र अस्वाभाविक झै लाग्नेछ किन कि ऊ मरेर पनि बाँचिरहेछ।
- तिमिल्सिना, गण्डकी विश्वविद्यालयका रजिस्ट्रार हुन् ।