जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रीको प्रतिवद्धता, सांसदहरूले उठाए प्राधिकरणका महानिर्देशकमाथि प्रश्न

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रीको प्रतिवद्धता, सांसदहरूले उठाए प्राधिकरणका महानिर्देशकमाथि प्रश्न
सुन्नुहोस्

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले विमान दुर्घटनापछि सरकारले बनाएको जाँचबुझ आयोगको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गर्ने दाबी गरेका छन्।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पाण्डेले यसअघि भएका विमान दुर्घटनापछि बनेका आयोगको प्रतिवेदनमा विषयमा निकै प्रश्न उठ्ने गरेको भन्दै अहिलेको आयोगले दिने प्रतिवेदन सूक्ष्म ढंगले अध्ययन गर्ने र शत प्रतिशत कार्यान्वयन गर्ने बताए। 

बुधबार भएको सौर्य एयरको विमान दुर्घटनाका बारेमा जानकारी दिँदै मन्त्री पाण्डेले दुर्घटना भइसकेपछि विमानस्थल पुगेर घटनाको अध्ययन गरिरहेको र सरोकारवाला निकायलाई पनि आवश्यक निर्देशन दिइएको बताए। उनले नेपालको हवाई क्षेत्र इयुको कालोसूचीबाट निकट भविष्यमा नै हट्ने विश्वास व्यक्त गरे।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सौर्य एयरलाइन्स दुर्घटनाको प्राविधिक विषयमा छानबिन आयोगलाई जानकारी गराउने बताए। अनुसन्धानमा प्रभाव पर्ने भएकाले अड्कलबाजी वा देखिएका कुराहरूमा राय दिन नमिल्ने उनको भनाइ छ। 

बैठकमा समिति सदस्यहरूले नेपालमा निरन्तर हवाई दुर्घटना भइरहँदा पनि नियामक निकाय गम्भीर हुन नसकेको बताएका थिए। उनीहरूले दुर्घटनामा पाइलटलाई मात्रै दोषी देखाएर आफू पन्छिन खोजेको हो कि भन्ने आशंका पैदा भएको समेत बताए। समिति सदस्य उदय शम्शेर जबराले जहाज दुर्घटनाको जिम्मेवारी सरकार र सरोकारवाला निकायले लिनुपर्ने बताए। विमान दुर्घटनापछि आयोग बनाएर प्रतिवेदन निकाल्ने र पछि थन्काउने कामलाई बन्द गर्नुपर्ने उनको भनाइ छ।

संसदहरूको प्रश्नको जवाफ दिँदै प्राधिकरणका महानिर्देशक अधिकारीले प्राधिकरणको जिम्मेवार निकायमा रहेका कारण दुर्घटनाको सबै जिम्मेवारी आफूले लिने बताए। उनले राज्यद्वारा गठित आयोग आधिकारिक भएकाले आयोगको रिपोर्ट स्वीकार्य हुने जिकिर गरे। जवाफ दिने क्रममा अधिकारीले सांसदसँग सवाल जवाफ गरेपछि सभापति राज किशोर यादवले आपत्ति जनाउँदै संसदीय मर्यादा कायम गर्न निर्देशन दिएका थिए। अधिकारीले आफू संसदीय अभ्यासको विद्यार्थी नभएकाले समितिको नियमबारे जानकारी नभएको भन्दै क्षमा मागेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.