अनुभवसँगै सोच र दृष्टिकोण बदल्ने मानवीय अवस्था
मानिसको जीवनमा ८ वटा आयाम हुँदा रहेछन्। पहिलो बाँच्नुपर्ने। यसमा गाँस, बास र कपाससँगै निरोगिता रहने विषय पर्छन्। यी चार कुरा हामीलाई आवश्यक पर्दोरहेछ। जब बाँच्यो तब मान्छे दोस्रो भोगतर्फ आकर्षित हुन्छ। हिजो खान पाए हुन्थ्यो भन्ने ऊ आज मिठो खानेतर्फ मोडिन्छ। त्यस्तै, लाउन पाए हुन्थ्यो भन्ने ऊ अब राम्रो लाउन पाए हुन्थ्यो भन्छ। अझ राम्रोसँग बसोबास गर्न पाए हुन्थ्यो भन्छ।
भोग गर्दागर्दै मलाई मात्र हैन, अरूलाई पनि होस् न भन्दै तेस्रो तहमा ‘सेवा’ गर्न चाहँदो रहेछ मान्छे। चौथो, सेवा गरिरहँदा त्यसको नेतृत्व गर्न चाहँदो रहेछ। त्यसको नेतृत्व आफूले लिन पाए ? भन्दोरहेछ मान्छे। नेतृत्व लिँदालिँदै मान्छे सम्मान खोज्दो रहेछ, पाँचौंमा। सम्मान खोज्दा खोज्दै त्यो सम्मानको लायक हुन बल्ल मैले केही जान्नुपर्छ भन्ने बुझ्छ र छैटौंमा ज्ञान खोज्दो रहेछ।
त्यसपछि बल्ल मानिस केही खोज्ने र पढ्ने तहमा पुग्दोरहेछ। यसरी ज्ञान भइसकेपछि सातौं चरणमा मान्छे ध्यानमा प्रवेश गर्दो रहेछ। हिजो अस्ति खान मिठो चाहिन्छ भन्ने मान्छे अब भए पनि ठीक नभए पनि ठीक भन्नेमा पुग्छ। हिजोसम्म राम्रो लगाउनुपर्छ भन्ने ऊ अब जे भए पनि ठीक भन्नेमा पुग्छ।
यसबेलामात्र मानिसले थाहा पाउँछ कि मैले गहिरिएर केही जानेबुझेको रहेनछु। सतही ज्ञान अर्थात् भ्रमको संसारमा बाँचेछु। ध्यानको यात्राले ऊ त्यसभन्दा माथि पुग्नेरहेछ अर्थात् समृद्ध हुँदोरहेछ। यो आठौं चरणमा पुगेपछि अब मान्छेमा कुनै कुराको लोभलालच बाँकी नरहने रहेछ। अर्थात्, हुँदा पनि ठीक नहुँदा पनि। वैराग्यको यो संसारमा पुगेपछि मात्र उसले समभाव राख्दोरहेछ, समदर्शी बन्दोरहेछ।