सडकमा पहिरोसहित खसेको ढुङ्गाले बेनी–जोमसोममा सडक अवरुद्ध
बेनी : सडकको बीचमा पहिरोसहित खसेको ठूलो ढुङ्गाले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध बनेको छ ।
रघुगंगा गाउँपालिका–२ सिरुबारीमा शुक्रबार बिहान खसेको पहिरो र ठूलो ढुङ्गा सडकको बीच भागमा थुप्रिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सवइञ्जिनियर सोहनजंग कार्कीले सडकको बीच भागमा रहेको ठूलो ढुङ्गा फुटाउन ब्रेकरसहितको डोजर परिचालन गर्न लागिएको बताए ।
स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुरहरू पहिरो र ढुङ्गा पन्छाउन परिचालन भएका छन् । करिब ५०० मिटर माथिदेखिको जमिन बगेर सिर्जना भएको सिरुबारीको पहिरो स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको नयाँ चुनौती बनेको छ ।
७४ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै तीर्थयात्री र पर्यटकहरूलाई समस्या भएको छ ।