कोशीमा माओवादीले छाड्यो सरकार

कोशीमा माओवादीले छाड्यो सरकार
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले सरकार छाडेको छ। नेकपा (एमाले) नेतृत्वको सरकारबाट माओवादी शुक्रबार बाहिरिएको हो। 

कोशीमा एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन्। यसअघि एमाले र माओवादीसहितको गठबन्धन बनेपछि एमालेको नेतृत्वमा सरकार बनेको थियो। केन्द्रमा असार १७ गते सत्ता गठबन्धन परिवर्तन भएर नेपाली कांग्रेस र एमालेसहितको नयाँ समीकरण बने पनि कोशीमा भने माओवादीले सरकार छाडेको थिएन। 

मुख्यमन्त्रीले पनि माओवादीका मन्त्रीहरुलाई हटाएका थिएनन्। माओवादी आफैं सरकारबाट बाहिरियोस् भन्ने उनले चाहेका थिए। गठबन्धन फेरबदल भएर नयाँ सत्ता समीकरण बने पनि सरकार नछाडेको भनेर माओवादीको तीव्र आलोचना भइरहेको थियो। आलोचना खेप्दै सरकारमै बसिरहेको माओवादी अन्ततः सरकार छाड्नैपर्ने बाध्यतामा पुगेको हो। माओवादीले पत्रकार सम्मेलन गरेरै सरकारबाट बाहिरिएको औपचारिक जानकारी दिएको छ। 

प्रदेश सरकारमा माओवादीका ३ मन्त्री र १ राज्यमन्त्री थिए। सबै जनाले पदबाट राजीनामा दिएका छन्। माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले औपचारिक हिसाबले माओवादी सरकारबाट बाहिरिएको जानकारी दिए। ‘केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि मुख्यमन्त्रीकै आग्रहमा माओवादी प्रदेश सरकारमा बसिरहेको थियो,’ उनले भने, ‘अहिले मुख्यमन्त्रीकै आग्रहमा सरकार छाडिएको हो।’

आङ्बोका अनुसार केन्द्रमा नयाँ समीकरण बने पनि प्रदेशमा मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने प्रयास गरेका थिए। मुख्यमन्त्रीको प्रयासकै कारण आफूहरु अहिलेसम्म सरकारमा रहेको उनको स्पष्टोक्ति छ। तर, मुख्यमन्त्रीको प्रयास सफल नभएका कारण माओवादीले सरकार छाडेको उनले बताए। 

‘माओवादीले बनाएको मुख्यमन्त्री भएका कारण मुख्यमन्त्रीले चाहेसम्म माओवादी सरकारमा बसेको हो,’ आङ्बो भन्छन्, ‘मुख्यमन्त्रीले सहमतिको सरकार बनाउन नसक्ने बताएपछि हामी बाहिरियौं।’ उनले सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा भने संसद सुरु भएपछि निर्णय गरिने जानकारी दिए। सरकार छाडेको माओवादीले प्रतिपक्षमा बसेर जनताको आवाज बोल्ने उनको भनाइ छ।  

प्रदेश सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायणबहादुर बुर्जामगर पर्यटन, वन तथा वातावरणमन्त्री र बन्दना झाँगड वन, पर्यटन तथा वातावरण राज्यमन्त्री थिए। कोशीमा माओवादीले नछाडेकै कारण नयाँ सरकार गठन अलमलमा परिरहेको थियो। अब भने कांग्रेससहितको नयाँ सरकार गठनको बाटो खुलेको छ। 

स्रोतका अनुसार कोशीमा एमाले नेता कार्कीकै नेतृत्वमा कांग्रेससहितको सरकार बन्ने छ। कोशीमा ९ वटा मन्त्रालयका छन्। तीमध्ये ४ वटा कांग्रेसलाई दिने मुख्यमन्त्रीको तयारी रहेको स्रोतले बतायो। सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका केदार कार्की यसअघि मुख्यमन्त्री बनेका थिए। 

उनलाई संकल्प प्रस्तावमार्फत पदमुक्त गर्दै सोही उपधारा अनुसार एमाले नेता हिक्मतकुमार कार्की गत वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन्। नयाँ सरकार गठनविरुद्ध केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले हिक्मतकुमार कार्कीको पक्षमा फैसला गरेको थियो। तर, फैसलको पूर्णपाठ अहिलेसम्म आइसकेको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.