बङ्गलादेशमा आरक्षण कोटाविरुद्ध प्रदर्शन गर्ने ३ विद्यार्थी नेता अस्पतालबाटै पक्राउ
ढाका : बङ्गलादेशी प्रहरी जासुसहरूले शुक्रबार अशान्ति मच्चाएको आरोपमा विद्यार्थी आन्दोलनका तीन नेतालाई अस्पतालबाट डिस्चार्ज गर्न बाध्य बनाइ अज्ञात स्थानमा लगेको एक कर्मचारीले बताएका छन्।
आसिफ महमुद, नाहिद इस्लाम र अबु बेकर मजुमदार सबै स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका सदस्य हुन्। उक्त समूह निजामती सेवा भर्ती नियमविरुद्ध हालै सडक र्याली आयोजना गर्न जिम्मेवार मानिन्छ।
प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका मानिएको आरक्षण कोटविरुद्धको विद्यार्थी प्रदर्शनका क्रममा प्रहरी र अस्पतालले दिएको रिपोर्टअनुसार प्रहरीको कारवाही र झडपहरूमा कम्तीमा एक सय ९३ जनाको मृत्यु भएको एएफपीले जनाएको छ।
हाल पक्राउ परेका तीनै विद्यार्थी नेताको राजधानी ढाकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो। उनीहरू हिरासतमा प्रहरीको यातनाका कारण घाइते भएका थिए।
गोनोष्ठय अस्पतालका सुपरभाइजर अनवरा बेगम लकीले भने, 'प्रहरीले उनीहरूलाई हामीबाट लगे, उनीहरू जासुसी शाखाका थिए।' विद्यार्थी नेताहरूलाई आफूले डिस्चार्ज गर्न नचाहेको तर प्रहरीले अस्पताल प्रमुखमाथि डिस्चार्ज गर्न दबाब दिएको उनले बताए।
इस्लामकी दिदी फातेमा तस्निमले सादा कपडा लगाएका जासुसहरूले तीनजनालाई लगेको बताइन्।