मोरङमा मोटरसाइकल दुर्घटनामा छोरीको मृत्यु, बुवा–आमा घाइते
विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–१ झण्डे डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजना बालिकाको मृत्यु भएको छ।
रमिते–टाँडी सडक खण्डमा दुर्घटना हुँदा बेलबारी नगरपालिका–१ घर भएकी १३ वर्षीया सुस्मिता धिमालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार रमितेबाट उर्लाबारीतर्फ जाँदै गरेको बा २७ प १८३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर शनिबार दिउँसो ३ बजेतिर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सुस्मिता गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। दुर्घटनामा मोटरसाइकल चालक सुस्मिताका बुवा ३७ वर्षीय सुनील धिमाल र आमा ३५ वर्षीया चन्द्रमाया धिमाल घाइते भएका छन्।
सामान्य अवस्थाका दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेको मोटरसाइकल सडकबाट लगभग ७० मिटरजति तल झरेको थियो। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।