स्वयंसेवी रक्तदाता !

स्वयंसेवी रक्तदाता !
फाइल तस्बिर।
सुन्नुहोस्

हामी वर्षैपिच्छे विभिन्न विषयअन्तर्गत दिवस मनाउँदै आइरहेका छौं। भर्खरै विश्व रक्तदाता दिवस जून १४ संसारभर एकसाथ मानाएर सम्पन्न गर्‍यौं। शनिबार ५९औं राष्ट्रिय रक्त सञ्चार सेवा स्थापना दिवस मनायौं। २०२३ साउन १२ गतेदेखि सुरु भई आजसम्म आइपुग्दा ५८औं बसन्त पार गरिसकेको समय हो। सुरुको वर्षमा यथेष्ट मात्रामा पेशेवर रक्तदाताहरूको बर्चस्व रहेको यस क्षेत्र २०३८–३९ देखि पूर्णरूपमा पेशेवरहरूलाई विस्थापित गराइ अहिले स्वयंसेवी रक्तदाताहरूबाट मात्र रक्त संकलन गरिँदै आइरहेका छौं।

वर्ष दिनभर जम्मा १५७ युनिट रगत संकलन गरी सेवा प्रदान गरिएको यो क्षेत्रमा अहिले लाखौंलाखको संख्यामा रगत संकलन गरी आवश्यक मात्रामा रगत र रगतबाट तयार पारिएको रक्ततत्वहरूको वितरण सम्भव भइरहेको छ। यसरी नै भविष्यमा पनि यो संख्याको गुणात्मक वृद्धि हुँदै जान जरुरी छ। तर, यो विषयमा राज्य उदासीन देखिएको छ। फेरि पनि स्वयंसेवी रक्तदाताहरूको बिकल्प छैन। आम स्वयंसेवी रक्तदाताहरूको समर्पणभावले मात्र यो सम्भव हुँदै आइरहेको छ। वर्तमानमा देखिएको अवस्थाले राज्यद्वारा रक्त व्यवस्थापनमा गरिएको गैरजिम्मेवारीपनाले यो क्षेत्रमा नकारात्मक प्रभाव नपर्ला भन्न सकिन्न।

नीति र व्यवहारमा मेल हुन सकेन भने सेवा प्रदायक र सेवाग्राही बीचमा उत्पन्न हुने नकारात्मक प्रभावले समस्त रक्त व्यवस्थापनलाई नै दीर्घकालीन असर नपर्ला भन्न पनि सकिन्न। हाल देशभित्र सञ्चालित रक्त व्यवस्थापन सही नीतिमा रहेर कार्यान्वयन भइरहेको छैन। रगत संकलनदेखि प्रयोगशाला प्रशोधन र वितरणसम्म आइपुग्दा देखिएका त्रुटिपूर्ण गतिविधिलाई सच्याउन अति जरुरी भइसकेको छ। तर, सम्बन्धित निकाय बेवास्ता गरेर बसिरहेको अवस्था छ। रक्त व्यवस्थापनको यो क्षेत्रमा त राज्य पूर्णतः उदासीन नै छ। रगत र नगद कहिल्यै पनि एकआपसमा दाँजिनु हुन्न। तर, हाम्रो देशमा पूर्णतया रगतलाई नगदसँग जोडिएको हुन्छ। रगत परीक्षण शुल्कको नाममा वा ‘कस्ट रिकोभरि’को नाममा नै किन नहोस् यो वा त्यो बहानामा आर्थिक चलखेल भइरहेको छ।

यसरी रक्तदाताले निःशुल्क दानमा दिएको रगत र त्यस रगतबाट तयार पारिएको रक्ततत्वहरू पीडित समक्ष पनि निःशुल्क उपलब्ध गराउनुपर्नेमा चर्को मूल्यमा बिक्री वितरण भइरहेको वर्तमान अवस्था छ। के यो राज्यको लाचारीपनाको पराकाष्ठा होइन र ? स्वयंसेवी रक्तदाताहरूबाट गरिने रक्तदानले लाखौंलाख मानिसको जीवन–मरण हुनबाट जोगिएको छ। यसो भन्दैमा जोखिमपूर्ण व्यवहार वा कुलतमा परेकाहरूबाट गरिने रक्तदानले रक्तदानको मर्ममाथि नै प्रहार हुन जान्छ। तसर्थ अहिलेको अवस्थामा नियमित रूपमा गरिने स्वैच्छिक अवैतानिक रक्तदानको माध्यमबाट सुरक्षित रगतको सुनिश्चितता गर्न सकिनेमा विश्वास गर्न सकिन्छ। सबैभन्दा सुरक्षित र स्वस्थ रगत भनेकै कम जोखिममा रहेको स्वैच्छिक अवैतनीक रक्तदाताहरूकै रगत हो। अबको समयमा रगत आपूर्तिमा स्वैच्छिक अवैतनीक रक्तदाताहरूलाई नै प्रोत्साहित गर्नुको बिकल्प छैन।

रक्तसञ्चार सेवालाई नेपाल सरकारले स्वास्थ्य सेवाको अति महत्वपूर्ण विषयको रूपमा स्वीकार गर्दै आएको छ भन्छन् तर व्यवहारमा लागू गरेर सेवा पुर्‍याएको अनुभूति कसैले काहीँ गर्न पाएको छैन। नागरिकलाई आवश्यकतानुरूप रगत र रगतबाट तयार पारिएको रक्ततत्वहरूको आपूर्तिमा सुनिश्चितता गर्नु नेपाल सरकारको हुनुपर्नेमा केवल स्वयंसेवी रक्तदाताहरूबाट स्वतःस्फुर्त तवरले गरिएको रक्तदानले यो क्षेत्र धानिएको छ। नेपाल सरकारले राष्ट्रिय रक्त सञ्चार नीति र निर्देशिकाहरू जारी गरेर व्यवस्थित गर्नुपर्नेमा झन् अस्तव्यस्तको अबस्थामा पुर्‍याइदिएको छ। निःशुल्क शब्दकै उपहास हुने गरी निजी क्षेत्रलाई समेत व्यापारीक मनसायबाट प्रवेश गर्न दिइरहेको अवस्था छ।

देशको जेठो अस्पताल बीर अस्पतालको प्याथोलोजी बिभागबाट सुरु गरिएको रक्त सञ्चार सेवा लक्ष्मी ब्लड बैंकको नामबाट सुुरु भएको थियो। हाल यो सेवा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत देशका ७३ जिल्लाको १०२ स्थानबाट सेवा प्रवाह भइरहेको छ। २०५० सालमा राष्ट्रिय रक्त सञ्चार पहिलोपटक तर्जुमा गरी कार्यान्वयनमा ल्याएको थियोे। यो नीतिलाई दुईपटक संशोधनसमेत गरिसकेको छ। २०७१ सालको नीतिले निजी क्षेत्रलाई पनि सहभागी गराउँदै स्वयंसेवी रक्तदाताहरूको रगतलाई व्यापार गर्ने वस्तुको रूपमा प्रस्तुत गरिरहेको छ। यत्रो समय पार गर्दै सेवा प्रदान गर्दै आइरहेको कमिकमजोरीलाई सुधार गर्न छोडेर झन् डामाडोलको स्थितिमा पुर्‍याइदिएको छ। कसरी हुन्छ सुधार ? केवल अपेक्षा गर्नुको बिकल्प छैन।

हाम्रो देशमा रक्त सञ्चार सेवाको इतिहास छ दशक हो कि आठ दशक पुरानो हो ? नेपाल सरकारले यसको निक्र्यौल गर्नुपर्‍यो। नेपाल रेडक्रस सोसाइटीको अभिलेख हेर्ने हो भने छ दशक मात्र पुरानो देखिन्छ। प्रथम रक्तदाताले रक्तदान गरेको साल हेर्ने हो भने आठ दशक पुरानो भेटिन्छ। यसरी दुई थरी मिति र साल भेटिन्छ। हामीले अहिले राष्ट्रिय रक्त सञ्चार सेवा दिवस ५८औं वार्षिकोत्सव अथवा ५९औं स्थापना दिवसको रूपमा मनाएका छौं। यसरी एक प्रकारको अन्योलतापूर्ण तवरले राष्ट्रिय रक्त सञ्चार सेवा दिवस मनाउँदै आइरहेका छौं।

नयाँ–नयाँ प्रविधिको आविष्कारले चौतर्फी छलाङ मारि रहेको वर्तमान अवस्थामा रक्त सञ्चार सेवाभित्र हाम्रो देशमा खासै समयनुसार प्रविधिहरू भिœयाउन सकिरहेको छैन। जसको कारण रक्त सञ्चार सेवा क्षेत्रभित्र रगतबाट रक्तजन्य रोगहरूले एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै संक्रमित नबनाउला भन्न सकिन्न। हामीले समयलाई समयमै पछ्याउन सक्यौं भनेमात्र समयसापेक्ष सेवा प्रदान गर्न सक्नेछौं। स्वयंसेवी रक्तदाताहरू आफूले दान गरेको आफ्नो शरीरको रगत गुणस्तरीय परीक्षणपश्चात् पीडितहरूलाई उपलब्ध गराउन सकेमा आफू पनि स्वस्थ रहेको स्वयंसेवी रक्तदाताहरू ढुक्कले अनुभूति गर्न पाउने थियोे।

स्वयंसेवी रक्तदाताहरूको संख्यामा वृद्धि भएअनुसार, समय व्यतित भएअनुसार, प्रविधिहरूको विकास भएअनुसार र जनशक्ति सक्षम भएनुसार सेवा प्रवाहमा भने सन्तोष लिने ठाउँ भने छैन। हदैसम्मको सरकारी निकायको कमिकमजोरी उदांगिएको छ। छ भनौं वा आठ दशकौं बसन्त पार गरेर सेवा प्रवाह गरेको आभास अनुभूति दिलाउन सकेको छैनौं। राष्ट्रिय रक्त सञ्चार सेवा दिवसले रक्त सञ्चारको क्षेत्रमा आजको दिनसम्म भए गरेका कार्यहरूको सही समीक्षा हुन जरुरी छ। ततपश्चात् भोलिका दिनका लागि स्तरोन्नतिमा टेवा पुग्ने छ। आजको यो विशेष दिनमा देशैभर रक्तदानसम्बन्धी स्वयंसेवी तवरले गतिविधि सञ्चालन गर्दै रक्त व्यवस्थापनमा साथ सहयोग गर्नेहरू नै वास्तविक रूपमा रक्त सञ्चार सेवा दिवसका नायक हुन्भन्दा अत्युक्ति नहोला।

कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.