महामन्त्री निलम्बन प्रकरण
पार्टीले आफूलाई गरेको कारवाही अवैधानिक भन्दै मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले पार्टीले आफूमाथि गरेको कारवाही अवैधानिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनलाई पार्टी अनुशासनविपरीत अभद्र र अमर्यादित व्यवहार गरेको भन्दै रास्वपाको केन्द्रीय समितिको बैठकले असार २५ गते महामन्त्री,प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो।
आफूमाथि भएको कारवाही अवैधनिक भन्दै उनले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन्। यसअघि पार्टीले कारवाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन गर्न सकिने निर्णय गरेको थियो।
उनले महामन्त्री, प्रवक्ता एवं केन्द्रीय समितिको सदस्यबाट पद मुक्त गरिएको जानकारी हालसम्म पार्टीले आफूलाई नगराएको समेत दावी गरेका छन्।
कारवाही संविधानले दिएको राजनीतिक अधिकार विपरित भएको उनको ठहर छ। 'राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई पेश गर्न मनासिव मौका दिइएको छैन। नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रुपमा व्याख्या गरेको र सफाइको मौका दिनुपर्ने विश्वव्यापी लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले पनि व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्छ,'उनले निवेदनमा उल्लेख गरेका छन्।
कारवाही पूर्वाग्राही,विधि विधान र प्रक्रिया विपरित भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्णय अध्यावदिक गर्न आए नगर्न उनले आग्रह गरेका छन्।