इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमण, १३ बालबालिकाको मृत्यु
इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ ।
फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् । इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको बताएको छ । तर हिजबुल्लाहले इजरायली सेनाले लगाएको आरोप अस्वीकार गरेको छ ।
इजरायली सेनाले माजदल शाम्सको ड्रुज सहरमा रकेट प्रहार गरेको जनाएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस हमलाको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् ।
यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्छ । गत वर्ष अक्टोबरमा इजरायल-गाजा युद्ध सुरु भएदेखि इजरायली सेना र हिजबुल्लाहबीच लगातार गोलावारी भइरहेको बीबीसी समाचारमा उल्लेख छ।
इजरायली वायुसेनाले पनि गोलान हाइट्समा भएको रकेट आक्रमणको जवाफमा लेबनानमा हिजबुल्लाह स्थानहरूमा आक्रमण गरेको बताएको छ।
आइतवार बिहान इजरायली सेनाले लेबनान भित्रको सातवटा हिजबुल्लाह स्थानहरूमा आक्रमण गरेको बताएको छ। यस हमलामा कति जना घाइते भएका छन् भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।