सत्ता टिकाउन साना दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन : शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता टिकाउन साना दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न नसकेको दाबी गरेका छन्। भारतको चण्डीगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले साना दलका कारण अस्थिरता बढेपछि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई आफूले उठाएको दाबी गरेका हुन्।
कोइरालाले भने,‘केवल सत्ता टिकाउँन सधै साना-साना २/४ सिट भएका दललाई बोकेर हिंडदा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ।’
अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनुपर्ने एजेन्डा शुरुदेखि आफूले उठाएको बताए। हरेक ६/६ महिनामा भइरहने सरकार गठन र विघटनले देशलाई धरासायी बनाएको उनको भनाई छ।
कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिकतै गल्ती गर्ने छुट नभएका भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर-घर सम्म लैजाने बताए। कोइरालाले भने,‘कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर बिरोध गर्नुपर्छ।’
डा. कोइरालाले निरंकुशता विरोधि हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरुले नेपाललाई ठूलो गुन लगाएको बताए।