ऋणको विदेशी विनिमय जोखिम व्यवस्थापन गर्न नीति
काठमाडौं : नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ जारी गरेको छ। विदेशी मुद्रामा लिएको ऋणको विदेशी विनिमय जोखिम व्यवस्थापन गर्न आइतबार नीति सार्वजनिक भएको हो।
बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको भारतीय रुपैयाँबाहेकको विदेशी मुद्रामा उल्लेख भएको ऋणको विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने डेरिभेटिभ उपकरणको कारोबार स्वाप कारोबार हो। केन्द्रीय बैंकले विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले स्वाप कारोबार विनियमावली जारी गरेको बताएको छ।
स्वाप कारोबारका लागि राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (संशोधनसहित) बमोजिम विदेशबाट भारतीय रुपैयाँबाहेकको विदेशी मुद्रामा ऋण भित्र्याउने वर्गका बैंक तथा वित्तीय संस्था (‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्ग) र पूर्वाधार विकास बैंक काउन्टर पार्टी बन्न पाउँछन्। ‘काउन्टर पार्टी’ भनेको राष्ट्र बैंकसँग स्वाप कारोबार गर्ने बैंक तथा वित्तीय संस्था हुन्। यी संस्थाले स्वाप कारोबार गरिने मुद्राबमोजिम गरिने स्वाप कारोबार अमेरिकी डलर÷नेपाली रुपैयाँमा हुनेछ।
यस्ता कारोबारमा पहिलो र दोस्रो चरणका कारोबार मिति, रकम र विदेशी विनिमय दरलगायतका विषय स्वाप कारोबारको बोलकबोल मितिमा नै तय गर्ने र तोकिएबमोजिम राफसाफ गर्छ। विनियमावलीअनुसार राष्ट्र बैंक र काउन्टर पार्टीबीच ‘खरिद–बिक्री अमेरिकी डलर/नेपाली रुपैयाँ स्वाप कारोबार गर्न सकिनेछ।
स्वाप कारोबारको पहिलो चरणमा राष्ट्र बैंकले काउन्टर पार्टीसँग तोकिएको स्पट दरमा अमेरिकी डलर खरिद गरी नेपाली रुपैयाँ बिक्री गर्नेछ।
दोस्रो चरणमा पहिलो चरणको कारोबार रकमबराबरको अमेरिकी डलर तोकिएको फरवार्ड मिति र तोकिएको फरवार्ड दरमा राष्ट्र बैंकले काउन्टर पार्टीलाई बिक्री गरी नेपाली रुपैयाँ खरिद गर्नेछ। जसमा अमेरिकी डलर रकम, स्पट दर, पहिलो चरणको कारोबार राफसाफ मिति, फरवार्ड दर र दोस्रो चरणको कारोबार राफसाफ मिति स्वाप कारोबारको बोलकबोल मितिमा नै तय गरिनेछ। राष्ट्र बैंकले काउन्टर पार्टीसँग गर्ने स्वाप कारोबारको अवधि समितिले तोकिदिएबमोजिम हुन्छ।
कुल कारोबार रकमभन्दा बढी नहुने गरी प्रतिकाउन्टर पार्टी स्वाप कारोबारको न्यूनतम रकम अमेरिकी डलर १० लाख र बढीमा अमेरिकी डलर १० लाखले भाग गर्दा निःशेष भाग जाने गरी काउन्टर पार्टीले विदेशबाट भित्र्याएको भारतीय रुपैयाँबाहेकको विदेशी मुद्रा ऋणको बक्यौता सावाँ रकमसम्म हुनेगरी काउन्टर पार्टीले बोलकबोल पेस गर्नु पर्नेछ। स्वाप कारोबारको बोलकबोल पेस हुने मिति समितिले तोकिदिएबमोजिम हुनेछ। ‘फरवार्ड दर’ भनेको स्वाप कारोबारको लागि राष्ट्र बैंक र काउन्टर पार्टीबीच दोस्रो चरणको कारोबार राफसाफ हुने विदेशी विनिमय दर हो।
स्वाप कारोबार गर्ने प्रक्रिया
समितिले स्वाप कारोबारको रकम, स्वाप कारोबारको मितिलगायतका विषयमा निर्णय गर्नेछ। काउन्टर पार्टीले स्वाप कारोबारको बोलकबोल रकम पेस गर्दा आफूले विदेशबाट भित्र्याएको भारतीय रुपैयाँबाहेकको विदेशी मुद्रा ऋणको बोलकबोल पेस हुने मितिमा बक्यौता सावाँ रकमभन्दा बढी नहुने गरी बोलकबोल पेस गर्नु पर्नेछ।