प्रतिनिधिसभा बैठक
'मेयर, वडाध्यक्ष र जेसीबीका अपरेटरले जथाभावी बाटो खन्दा राजमार्गहरू पहिरोको जोखिममा'
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दिपकबहादुर सिंहले वर्षाका कारणले मात्रै नभइ जथाभावी सडक निर्माणले राजमार्गहरू अस्तव्यस्त भएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै राप्रपाका सांसद सिंहले सर्भे नगरी सडक निर्माण गर्दा अधिकांश राजमार्गहरू अस्तव्यस्त भएको बताएका हुन्।
सर्भे नगरी मेयर, वडा अध्यक्ष र जेसीबीको अपरेटरले गाउँमा जथाभावी बाटो खनेका कारण अधिकांश राजमार्गहरूमा पहिरोको जोखिमसँगै सडक दुर्घटना निम्त्याइरहेको उनको भनाइ छ।
गाउँगाउँमा सर्भे नगरिकन मेयर,वडा अध्यक्ष र जेसीबीको अपरेटर यी तीनजनाले जथाभावी बाटो खनेका कारण अधिकांश राजमार्गहरू पहिरोको जोखिममा परेका हुन्। न नाली छ, न वालै छ त्यहाँ। उनले भने,' जसका कारण राजमार्गमा ठूलाठूला पहिरो जाने र दुर्घटना समेत निम्त्याइरहेको छ।'
उनले जथाभावी सडक खनेका कारण गाउँगाउँमा ठूल्ठूला पहिरोले तहसनहस मात्रै गरेको छैन जनधनको ठूलो क्षति भएको बताए। नेता सिंहले सडक निर्माणका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने माग गरे।
भने,'स्थानीय निकाय र जिल्ला सडक डिभिजनको समन्वयमा मात्रै सडक निर्माण गर्नुपर्ने भन्ने स्पष्ट मापदण्ड बनाउनुपर्छ। तब मात्रै जनधनको क्षति हुनबाट बचाउन सकिन्छ।'