कृष्णमान प्रधानले निर्वाचन आयुक्तको उम्मेदवारी फिर्ता लिए
काठमाडौं : निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो उम्मेदवारी फिर्ता लिन संसदीय समितिमा निवेदन दिएका छन्।
सोमबार संसदीय सुनुवाइ समितिमा निवेदन दिँदै प्रधानले निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको जानकारी गराएका छन्। पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरन्जित दुष्प्रचार गरी केही समूह सक्रिय भएर लागेको उनको दावी छ।
संगठित रुपमा लागेपछि झुटहरू पनि डरलाग्दो रुपमा प्रभावकारी हुने आफूले महशुश गरेको बताएका छन्। 'नेपालको संविधान र संसदीय सुनवाई समितिको प्रकृयाको सम्बन्धमा मेरो उच्च विश्वास व्यक्त गर्दछु । मेरो सम्बन्धमा संवैधानिक परिषदको सिफारिस प्रति निष्ठावान रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकोले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्रति निष्ठावान रहने बचनबद्धता सहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समिति समक्ष जानकारीको लागि अनुरोध गरेको छु,'उनले निवेदनमा उल्लेख गरेका छन्।
यसअघि प्रधानलाई संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तको पदका लागि सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको थियो। प्रधानविरुद्ध संसदीय समितिमा एक महिलाले उजुरी समेत दिएकी थिइन्।
नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले उनको नाम अनुमोदन गर्न नसक्ने संकेत गरेपछि प्रधान आफै पछि हटेका हुन्।