अब्बल अन्न कोदो

अब्बल अन्न कोदो

धेरै धान फलाउने किसानले पुरस्कार पाउँछन् तर धेरै कोदो फलाउने किसानले धन्यवादको शब्दसम्म पाएका छैनन्।

कोदो बाली स्वास्थ्य पोषण व्यवसाय वातावरणीय र खाद्य सुरक्षामा महत्त्वपूर्ण मानिन्छ। थोरै खाए पुग्ने, आडिलो बिस्तारै पच्ने, छिटो पाक्ने, लगानी कम, मलजल कम चाहिने खाद्यान्न हो यो। सबै ठाउँ र रुखोपाखो जमिनमा पनि फल्ने, रोग, किरा कम लाग्ने, विषादी र रासायनिक मल नचाहिने, दाना र पिठोबाट बन्ने सम्पूर्ण परिकार बनाउन मिल्ने पोसिलो र आडिलो खाद्यबालीको रूपमा लिन सकिन्छ। यसले खाद्य सुरक्षा र अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको पाइन्छ।

खाद्य सुरक्षा र पोषणमा वरदान  :  चामलमा भन्दा क्याल्सियम ३५ गुणा र आइरन १५ गुणा बढी कोदोमा पोषण तत्त्व पाइने पोषणयुक्त अनाज हो। सन्तुलित पोषण तत्त्व कार्बाेहाइड्रेट कम र अन्य लवण, आइरन, क्याल्सियम, फस्फोरस र अमिनो एसिडलगायतका तत्त्वहरू प्रशस्त पाइने भएकाले मानवलाई यो अत्यावश्यक मानिन्छ। सबै उमेरसमूहका रोगी व्यक्तिहरूले समेत उपयोग गर्न मिल्ने औषधीय गुण भएकाले यसको महत्त्व बढिरहेको छ। यसको सेवनले मानवलाई रोग नलाग्ने तथा रोग लागिहाले पनि निको पार्न सहयोग पुर्‍याउने भएकाले स्वास्थ्य सुरक्षामा कोदोको महिमा बढ्दै गएको छ।

गाउँघरमा कोदोबाट बन्ने परिकार पाक्न छोडेका छन्। स्वास्थ्यप्रति जनचेतना बढेका कारण सहरी क्षेत्रमा उपभोत्ताले कोदो एवं कोदोजन्य खाना खान थालेका छन्।

विविधीकरण र परिकार  :  पुर्खाहरूले कोदो खेती गरी कोदोको ढिँडो, रोटी, पुवा र खोलेजस्ता परिकार बनाएर खाने गर्छन्। हाल कोदोबाट बिस्कुट, कोदो चिया, कोदो कफी, कोदोको झोल बनाइन्छ। यसका परिकारलाई विविधीकरणमा जोड दिँदै केक, म : म, पिज्जालगायतका परिकार पनि बनाएर सेवन गर्न थालिएको छ। तर पनि कोदोलगायत कोदोजन्य बालीहरू चिनो, कागुनो, जुनेलो, बाजराजस्ता गुणैगुणले भरिपूर्ण बालीहरू छायामा परेका छन्।

जसकारण देश खाद्य असुरक्षित बनिरहेछ भने मानव स्वास्थ्यमा जोखिम बढिरहेको छ। राज्यले कोदोलगायत कोदोजन्य बालीहरूप्रति चासो नलिनु, उत्पादन बढाउने नाममा विभिन्न मिसनलगायत सुपरजोन, जोन, ब्लक र पकेटजस्ता कार्यक्रम सञ्चालन गर्नु दुर्भाग्य बनेको छ। जसमा ठूलो धनराशि खर्च गरेको पाइन्छ तर कोदो प्राथमिकतामा परेन। null

गत आवमा मात्र ७५ करोड ४४ लाख २२ हजार ६ सय ५९ रुपैयाँको कोदो आयात भएको छ। स्थानीय उत्पादन घट्नाले यत्रो ठूलो मूल्यको कोदो आयात भएको हो। यो क्रम बढ्दो छ। ग्रामीण तहमा कोदोका फाइदाको बारेमा जनचेतना विस्तार हुन सकेको छैन। सम्मानित खाना भनेको चामलको भात हो भन्ने बुझाइले व्यापकता छाएको छ।

संस्कृतिसँग जोडिएको विषय भएकाले कोदोलाई प्राथमिकतामा राखी कोदोको रक्सीलाई ब्रान्डिङ गर्नुपर्छ।

गाउँघरमा कोदोबाट बन्ने परिकार पाक्न छोडेका छन्। स्वास्थ्यप्रति जनचेतना बढेका कारण सहरी क्षेत्रमा उपभोक्ताले कोदो एवं कोदोजन्य खाना खान थालेका छन्। हाल कोदोको परिकार गाउँ होइन, सहरबजारका होटेलमा बढी खोजिन थालेका छन्। कोदेको ढिँडो खान होटल तथा रेस्टुरेन्टहरूमा जाने क्रम बढेको छ। सचेत खानदानका व्यक्तिहरूको चुलोमा पाक्न थालेको छ।

बालीका जात र फाइदा  :  उत्पादक किसानहरूको संगठन तथा संयुक्त राष्ट्रसंघले समेत कोदो तथा कोदोजन्य बालीको प्रचारप्रसार र प्रवद्र्धन गरी उत्पादन वृद्घि एवं खानपानमा सुधारमा जोड दिए पनि नेपाल सरकार यस्तो गहन विषयप्रति गम्भीर हुन सकेको छैन। नेपालको कृषि प्रणालीमा कोदो, कागुनो, चिनो, जुनेलो, सामा, बाजरा, कुट्की सामा र कोदी गरी आठ प्रजातिका कोदो पाइन्छन्। यी प्रजातिमध्ये अधिकांश कृषकले खेती गर्ने बालीमा कोदो पर्छ।

नेपालमा कोदोबालीमा अनुसन्धान कम भएको पाइन्छ। हालसम्म पाँचवटा जातमात्र सिफारिस र एउटा जुम्लाको रैथाने जात पञ्जीकृत अवस्थामा छ। स्थानीय जात पोषणका हिसाबले क्याल्सियम, फाइबर, आइरन र प्रोटिनको राम्रो स्रोत हो। यसमा पाइने विभिन्न पौष्टिक तत्त्वहरूले रगत, हाडजोर्नी, पाचन प्रणाली र मांसपेशीलाई फाइदा पुर्‍याउँछ। मानव शरीरले कोदोलाई विस्तारै पचाउने हुनाले रगतमा चिनीको मात्रा मध्यम गर्न समेत सहयोग गर्छ। यसको सेवनले मधुमेह रोग लागेकाहरूलाई फाइदा गर्छ।

राज्यको दायित्व  :  कोदो तथा कोदोजन्य रैथाने बालीको विकास, विस्तार र प्रवद्र्धन गर्नु राज्यको दायित्व हो। राज्यले आमनागरिकको स्वास्थ्य एबं पोषणमा ध्यान दिनुपर्छ। स्वच्छ उत्पादन उपभोक्ताहरूको घरदैलोमा पुर्‍याउनु पर्छ। जसको मूल आधार भनेको कोदो एवं कोदोजन्य रैथाने बालीको विकास, विस्तार र प्रवद्र्धन गर्नु आवश्यक छ।

खानपानका बारेमा जनचेतना अभिवृद्घि गर्नु, दिवस तथा उत्सवहरू मनाउँदै प्रचार–प्रसारमा जोड दिनु, उत्पादक किसानहरूलाई प्रोत्साहनका साथ उत्पादन वृद्घिका लागि वातावरण सिर्जना गर्नुपर्छ। राज्यले कोदो एवं कोदोजन्य बालीलाई प्राथमिकतामा राख्नुपर्छ। धेरै धान फलाउने किसानले पुरस्कार पाउँछन् तर धेरै कोदो फलाउने किसानले धन्यवादको शब्दसम्म पाएका छैनन्।

नेपाल बहुसंस्कृति तथा संस्कार मान्ने बहुजाति, बहुभाषीको साझा घर हो। यहाँ विभिन्न समुदायका आआफ्ना रीतिरिवाज, संस्कार तथा चालचलन छन्। हाम्रो संस्कारले कोदोको रक्सीलाई प्रसादको रूपमा ग्रहण गरेको छ भने झैझगडामा मेलमिलापको माध्यमको रूपमा लिएको पाइन्छ। यसरी संस्कृतिसँग जोडिएको विषय भएकाले कोदोलाई प्राथमिकतामा राखी कोदोको रक्सीलाई ब्रान्डिङ गर्नुपर्छ।

कोदोप्रति किसान तथा उपभोक्ताहरूको आकर्षण बढाउन उत्पादन बीउलगायत सामग्री र प्रविधिजस्ता कुरामा अनुदानको व्यवस्था गर्न साथै अध्ययन, अनुसन्धानमा जोड दिनुपर्छ। कोदो तथा कोदोजन्य बालीलाई पिछडिएको अपहेलित एवं सिमान्त बालीको रूपमा पुर्‍याउने कार्य राज्यबाटै भएकाले कोदो तथा कोदोजन्य बालीलाई विशेष आरक्षणको व्यवस्था गर्नुपर्छ।

बस्नेत, राष्ट्रिय कृषक समूह महासंघ, नेपालका संरक्षक एवं किसान अभियन्ता हुन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.