प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेण्डाहरू
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।
उनका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
सभामुख घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली,२०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ।
यसैगरी बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको 'सुरक्षति कारोबार पहिलो (संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्'भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।