उत्पादन घट्दै कोदोको महिमा बढ्दै
इलाम : कोदो रोप्ने समय हो यो। इलामका अधिकांश किसानलाई भने कोदो रोप्ने चटारो नै छैन। झन्डै दुई दशकअघि जसरी कोदो खेती प्राथमिकता थियो, हिजोआज छैन।
कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको १४ सय ३२ हेक्टर क्षेत्रमा कोदो खेती हुन्छ भने त्यसबाट १ हजार ७ सय ४७ टन कोदो उत्पादन हुने गरेको छ। इलामका १० स्थानीय तहमै कोदो खेती हुने गरेको छ। उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको छ। इलामका बजारमा भारतको कोदो पाइने गरेको इलाम नगरपालिका–४ का कृषक विष्णुप्रसाद दुलाल बताउँछन्।
कोदो खाने बानीको विकास भए पनि सरकारले पर्याप्त ध्यान नदिएको कारण बहुगुणी कोदोले प्राथमिकता नपाएको राष्ट्रिय कृषक समूह महासंघकी पूर्वमहासचिव, कृषि प्रशिक्षक रीता बस्ताकोटी बताउँछिन्।
कृषि निर्देशनालयका अनुसार कोशी प्रदेशका १४ जिल्लामा कोदो खेती हुने गरेको छ। पहाडी जिल्लामध्ये ओखलढुंगामा सबैभन्दा बढी ७ हजार ७ सय ५१ ह्ेक्टरमा कोदो खेती हुने गरेको छ भने त्यस जिल्लामा १९ हजार ३ सय ७८ टन कोदो उत्पादन हुने गरेको छ। कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख टीकाराम बानियाँका अनुसार तीन वर्षको उत्पादन रेकर्ड हेर्दा त्यस जिल्लामा कोदोको उत्पादन खास घटबढ देखिँदैन। उनी भन्छन्, ‘तर अब गाउँमा काम गर्ने मान्छे नै छैनन्, गाउँहरू जंगलमा परिणत हुँदै गएका छन्।’
कृषि निर्देशनालय कोशीका अनुसार प्रदेशभरमा ६५ हजार ३ सय ७२ हेक्टरमा कोदो खेती हुने गरेको छ। त्यसबाट १ लाख ८ हजार ३ सय ७५ टन कोदो उत्पादन हुने गरेको छ। यो करिब ५ अर्ब २० करोड २० लाख रुपैयाँबराबरको उत्पादन हो। तर यो वर्षदेखि कोशी प्रदेश सरकारले रैथाने बालीको प्रवद्र्धनका लागि विनियोजन गर्दे आएको बजेटसमेत कटौती गरेको छ।
सरकारको बेवास्तामा परेसँगै कोदो बाली हेलाँमा परेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन्। उनी भन्छन्, ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रयासहरूको प्रभावस्वरूप जनस्तरमा चेतना अभिवृद्धि भई हाल बजारमा कोदोको माग बढिरहेको पाइन्छ तर विडम्बना उत्पादन भने घटिरहेको छ।’
संयोजक अधिकारीका अनुसार २०७३ सालबाट साना किसानको संगठन राष्ट्रिय कृषक समूह महासंघ नेपालले सुरु गरेको प्रस्तावित कोदो दिवस लक्षित कार्यक्रमको प्रभाव र संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई कोदोजन्य बाली वर्षको रूपमा घोषणा गरेपश्चात् नेपाल सरकारले पनि कोदोजन्य बालीहरूलाई प्राथमिकतामा राखेको पाइन्छ।
यसैको फलस्वरूप कृषि मन्त्रालयले साउन १५ लाई कोदोजन्य बाली दिवस घोषणा गर्ने प्रस्ताव तयारी गरिरहेको छ। उद्योग मन्त्रालयले कोदोको रक्सीलाई कानुनी मान्यता दिई प्रवद्र्धन गर्ने योजना अगाडि सारेको छ।
भारतबाट ८५ करोडको कोदो आयात
पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार रुपैयाँ मूल्यबराबरको १७ हजार ७ सय ९७ टन कोदो भारतबाट आयात भएको छ।
कार्यालयका अनुसार आव २०७९/८० मा ५१ करोड ३१ लाख २० हजार रुपैयाँ मूल्यबराबरको १६ हजार ३५ टन कोदो भारतबाट आयात भएको थियो। नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो।
कोदो नेपालको चौथो मुख्य बाली हो। कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रूपमा लिइन्छ। कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ। संयोजक अधिकारी भन्छन्, ‘खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत् वपूर्ण बाली हो,’ उनी भन्छन्, ‘पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ।’
कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने विभिन्न अध्ययनले देखाएको छ। कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइने विज्ञहरू बताउँछन्।
सामान्य स्वस्थ व्यक्तिमात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ। केटाकेटी, बूढाबूढी र सबैका लागि कोदोको रोटी र ढिँडो सजिलै पच्ने भएकाले यो स्वास्थ्यबद्र्धक पनि छ। कोदो सुक्खा सहन सक्ने बाली हो।