सरकार बनाउँदा साना दलले बार्गेनिङ गर्न थाले, थ्रेसहोल्डको प्रतिशत बढाऔं : महासचिव पोखरेल
दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङले सरकार अस्थिर हुने गरेको बताएका छन्। राजनीतिक अस्थिरता हटाउन थ्रेसहोल्डको प्रतिशत बढाउनुपर्ने भएकाले कांग्रेससँग सहकार्य गर्नुपरेको उनले बताएका हुन्।
‘राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ। ३ प्रतिशत भोट ल्यायो भने राष्ट्रिय पार्टी भइहाल्छ। तर हाम्रै निर्वाचन कानुनले के भन्छ भने प्रत्यक्षतर्फको उम्मेदवारको हकमा १० प्रतिशत भोट ल्याएन भने जमानत जफत हुन्छ। मिलेको छ त ?’ उनले प्रश्न गरे।
संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक पर्ने भएकाले एमाले एक्लैले सम्भव नभएको उनले बताए। ‘राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुँदै गयो।’ दाङमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने,‘त्यसको अन्त्य गर्न निर्वाचन कानुन/ संविधान संशोधन गर्न आवश्यक छ। एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको हो।’
उनले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेसबीच सत्ता सहकार्य भएको बताए। लोकतन्त्र बलियो बनाउन कांग्रेस–एमालेबीच गठबन्धन आवश्यक परेको पोखरेलको दाबी छ।