संसद भवनको अवलोकनपछि मन्त्री सिंहको निर्देशन- ९ महिनाभित्र निर्माण सक्नेगरी काम गर्नुहोस्
काठमाडौं : उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारमाभित्र निर्माणधिन नयाँ संसद भवनलाई समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन्। मंगलबार निर्माणाधिन संसद भवनको अवलोकन गर्दै सहरी विकास मन्त्री सिंहले निर्माणका लागि देखिएको समस्यमा समाधान गर्दै समयमा नै सम्पन्न गर्न निर्देशन दिएका हुन्।
उनले सदनको अगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने गरी काम सम्पन्न गर्ने लक्ष्य लिइएको उल्लेख गरे । प्रयाप्त संख्यामा कामदार नराखिएकाले निर्माणमा ढिलाइ भएको गुनासोलाई सम्बोधन गर्दै त्यही अनुसारको जनशक्ति राखेर तीव्रताका साथ कामलाई अघि बढाउनुपर्ने उनले बताए ।
उनले भने,' सहजीकरण गर्न मन्त्रालय तयार छ । काम छिटो हुनुपर्यो । बाँकी रहेको समयावधि ९ महिनामा बाँकी सबै काम काम सक्नुपर्यो।'
सिंहले अनुमगनपछि निर्माणमा देखिएका समस्यालाई आफूले समाधानका लागि पहल गर्ने जिकिर गरे । ठेकेदार कम्पनीलाई बोलाएर समयमा नै सम्पन्न गर्नका लागि देखिएका जटिलता हटाउने उनको भनाइ छ ।
त्यस्तै मन्त्रालयका सचिव मणिराम गेलालले प्रयाप्त कामदार नदेखिएकाले ठेकेदार कम्पनीहरु छलफल गरेर निर्माण कार्यलाई तीव्रता दिने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए। तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटकपटक म्याद थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएका छन् ।