प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित
काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराएका हुन्।
आजको बैठकको अन्तिममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षति कारोबार (पहिलो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
सभामुख देवराज घिमिरेले सो प्रस्तावलाई निर्णार्थ प्रस्तुत गरेका थिए। प्रस्तावको पक्षमा हुन्न भन्ने आवाज नसुनिएपछि सभामुख घिमिरेले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए।
बैठकमा सभामुख घिमिरेले सहकारी संस्था बचत रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति तथा विभिन्न विषयगत समितिमा सदस्यको नाम हेरफेरको प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।
त्यसअघि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा सुनाएका थिए।