लक्ष्यभन्दा पहिल्यै विद्युत निर्यात गर्नेगरी काम गर्न ऊर्जामन्त्री खड्काको निर्देशन

लक्ष्यभन्दा पहिल्यै विद्युत निर्यात गर्नेगरी काम गर्न ऊर्जामन्त्री खड्काको निर्देशन
सुन्नुहोस्

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले राखेको लक्ष्यभन्दा पहिल्यै विद्युत निर्यात गर्नेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। 

नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमबार तालिम व्यवस्थापन विभाग खरिपाटीमा आयोजित ‘वृक्षारोपण कार्यक्रम’मा उनले सरकारले राखेको लक्ष्य समय अगावै पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्।  

सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने लक्ष्य लिएको छ। ऊर्जामन्त्री खड्काले सरकारले २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले लक्ष्य र उद्देश्यलाई परिपूर्ति गर्नका लागि उच्च मनोवलका साथ कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए। पछिल्लो समय नेपालको विद्युत भारतमा निर्यात गर्ने क्षमता बढेको उनको भनाइ थियो। 

उनले नेपालको ऊर्जा क्षेत्रमा विभिन्न देशले लगानी गर्न इच्छुक रहे पनि कानुनी झन्झटका कारण लगानी गर्न समस्या भइरहेको बताए। उनले अफ्ठयारोलाई फुकाउनका लागि आवश्यक पर्ने ऐन, कानून संशोधनका लागि मन्त्रालयलले काम गर्ने बताए। 

मन्त्री खड्काले विभिन्न देशले ऊर्जा क्षेत्रमा गरेको प्रगतिलाई हेरेर नेपालले समेत आफ्नो देशलाई प्रगतिको पथमा अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे। उनले दुई ठूला पार्टी मिलेर अहिलेको सरकार बनेकाले यो सरकारलाई अल्मलिने छुट नरहेको उल्लेख गरे।  

उनले जलविद्युत परियोजना निर्माणका क्रममा भइरहेको वातावरणीय प्रभावलाई कम गर्नका लागि वृक्षारोपणजस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले रुख काट्ने मात्र नभई रोप्ने पनि हो भन्ने सन्देश दिन स्थापना दिवसका अवसरमा हरेक वर्ष वृक्षारोपण कार्यक्रम आयोजना गर्दै आएको बताए। 

उनले प्रत्येक वर्ष प्राधिकरणको वार्षिकोत्सवका अवसरमा अतिरिक्त क्रियाकलापअन्तर्गत २०० शाखा तथा उपशाखाबाट वृक्षारोपण गर्दै आएको जानकारी गराए। प्राधिकरणका उप–कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले जलविद्युत आयोजना निर्माण र प्रसारण लाइन विस्तारका क्रममा प्राधिकरणले सहमति लिएरै रुखहरू काट्ने गरे पनि त्यत्तिकै मात्रामा रुखहरू पनि रोप्दै गएको बताए।  

सोही अवसरमा ऊर्जामन्त्री खड्का, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ लगायतले तालिम व्यवस्थापन विभाग परिसरमा १०१ विभिन्न प्रजातिका विरुवा रोपेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.