छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै
जुम्ला : थोरै जग्गा। दुःख गरेर बाली लगायो। तर, उत्पादन भएको अन्नले वर्षभरि खानै नपुग्ने। गाउँमा छाकटार्ने अरू कुनै उपाय भेटिएन। जुम्लाको चन्दननाथ नगरपालिका ७ मिचा गाउँका तेजबहादुर रावतमा छटपटी सुरु भयो। केही उपाय नलागेपछि उनी रोजगारीका लागि मलेसिया उडे। मनले त मानेको थिएन। तर, पनि श्रीमती झुमा रावत श्रीमान्लाई बिदाइका हात हल्लाउन बाध्य भइन्।
चार जनाको परिवार पाल्न श्रीमान्लाई विदेश पठाउँदाको पीडाले झुमालाई पोलिरह्यो। श्रीमान् बिदेसिए पनि झुमाले गाउँमा मेहनत गर्न भने छोडिनन्। उनले पुर्खादेखि अंगाल्दै आएको परम्परागत खेती छाडेर तरकारी खेती गर्ने योजना बनाइन्। तरकारी खेती थालेपछि आम्दानी पनि राम्रै हुन थाल्यो।
तरकारी खेती विस्तार गर्नका लागि उनले जेठाजुको जग्गा पनि मागिन्। व्यावसायिक खेती थालेपछि तरकारी बेचेरै मनग्य आम्दानी हुन थाल्यो। घरखर्च कटाएर बचत पनि भयो। त्यसपछि झुमाले हाल रोजगारीका लागि मलेसियामा रहेका श्रीमान् तेजबहादुरलाई फिर्ता बोलाएकी छन्। परिवारसँग टाढिएर विदेशी भूमिमा पसिना बगाइरहेका तेजबहादुर पनि गाउँमै घरखर्च चल्ने अवस्था आएपछि स्वदेश फर्कने तरखरमा छन्।
झुमाका अनुसार तेजबहादुर अब केही समयमा गाउँ फर्किंदै छन्। झुमाले गाउँमा तरकारी फलाएर खर्च जुटाउन थालेपछि तेजबहादुर अब कहिल्यै विदेश नजाने गरी स्वदेश फर्कन लागेका हुन्। ‘अन्न बाली छाडेर तरकारी खेतीमा लागेपछि हाम्रा दिन फेरिए’, झुमा भन्छिन्, ‘पहिले परम्परागत रूपमा गर्दै आएको खेती लगाउँथ्यौं, जौ र गहुँ लगाउँदा वर्षभरि खान पुग्थेन। तरकारी खेती गर्न थालेपछि नगद आउन थाल्यो। सोचेअनुसार आम्दानी हुन थालेपछि परिवारको गुजारा पनि सजिलै चल्न थालेको छ।’
उनको बारीमा अचेल टमाटर, आलु, काउली, बन्दा, काँक्रा, खुर्सानी र सागलगायतका तरकारी फल्न थालेको छ। उनले थपिन्, ‘अचेल मान्छेहरू बारीमै तरकारी किन्न आउँछन्। हातमा खुरुखुरु नगद आइरहेको छ। अब श्रीमान्ले किन विदेशमा दुःख गर्ने ? त्यसैले मलेसियाबाट फिर्ता बोलाएकी छु।’ श्रीमान्लाई विदेशबाट फिर्ता बोलाएकी झुमाले अब दुवैजना मिलेर गाउँमै तरकारी खेतीमा रमाउने योजना सुनाइन्।
मिचा गाउँकै धनशोभा कामीले पनि रोजगारीका लागि भारतमा रहेका श्रीमान्लाई फिर्ता बोलाएकी छन्। धनशोभाका श्रीमान् कृष्ण कामी छाक टार्ने उपाय खोज्दै भारत पुगेका छन्। गाउँमा लगाएको अन्नले परिवारलाई खान पुगेन। पुर्खादेखि लगाउँदै आएको बालीको उत्पादन घट्दै गयो। उत्पादन नहुँदा वर्षभरि परिवार पाल्न कठिन भएपछि कृष्ण भारत जान बाध्य भए।
तर, कमाउन भारत पुगेका कृष्णलाई श्रीमती धनशोभाले अहिले गाउँमै फिर्ता बोलाएकी छन्। कृष्ण पनि अब फेरि कहिल्यै परदेश नजाने गरी दसैंभन्दा अगाडि नै गाउँ फिर्ता हुने तयारीमा छन्। गाउँमा तरकारी खेती सुरु गरेपछि आफूमा विदेशीएका श्रीमान्लाई फिर्ता बोलाउने आँट आएको धनशोभाले सुनाइन्। उनले भनिन्, ‘मेहनत गरेपछि गाउँमै आम्दानी हुने रहेछ, धान खेती छाडेर तरकारी खेती सुरु गरेकी छु। धानभन्दा तरकारीबाट तेब्बर फाइदा भइरहेको छ, गाउँमै पैसा फल्न थालेपछि भारतमा रहेका श्रीमान्लाई फिर्ता बोलाइसकेँ।’
धनशोभाको परिवारले पहिले धान रोप्थे। तर, उत्पादन भएको धानले ५ जनाको परिवारलाई वर्षभरि खान पुगेन। छाक टार्न धौ–धौ भएपछि कमाउन उनका श्रीमान् भारत गए। यता धनशोभाले गाउँकै अन्य महिलाबाट तरकारी खेती गर्दा फाइदा हुने थाहा पाइन्। त्यसपछि उनले धान खेती छाडेर तरकारी खेती सुरु गरिन्। उनले अचेल मौसम अनुसारको तरकारी फलाउन थालेकी छन्। आलु, सिमी, काउली, बन्दा, टमाटर र खुर्सानीलगायतको तरकारी बेचेरै घरखर्च चलाएकी छन्। तरकारी खेतीबाटै घरखर्च चलाउन सहज भएपछि उनले भारतमा दुःख गरिरहेका श्रीमान्लाई गाउँमै फिर्ता बोलाएकी हुन्। अब श्रीमान्लाई कहिल्यै परदेश नपठाउने उनको अठोट छ। श्रीमान् आएपछि उनले गाउँमै तरकारी खेतीलाई थप विस्तार गर्ने योजना उनले बनाएकी छन्। धनशोभाका अनुसार उनका श्रीमान्ले पनि गाउँ फर्केर तरकारी खेतीलाई थप व्यावसायिक रूपमा अगाडि बढाएर गाउँमै बस्ने बताइसकेका छन्।
झुमा र धनशोभा मात्र होइनन्, जुम्लाकै पातारासी गाउँपालिका–४ डोलकाँटी निवासी तारादेवी बुढाले पनि मलेसियामा रहेका आफ्ना श्रीमान्लाई अब फिर्ता बोलाउने बताइन्। उनले भनिन्, ‘पहिला हाम्रो खेतीले गुजरा मात्र हुन्थ्यो, छोराछोरी पढाउन समस्या हुने भएपछि श्रीमान् विदेश गए। अचेल आधुनिक तरिकाबाट खेती गर्न थालेका छौं, उत्पादन बढेपछि परिवारको खर्च सहजै टर्न थालेको छ।’
आफूहरूले हिजोआज बढी मूल्य पाउने आलु, सिमी, फापर, कोदो र चिनो उत्पादन गर्न थालेपछि आम्दानी पनि बढेको उनले सुनाइन्। गाउँमै धेरै आम्दानी हुन थालेपछि अब विदेश जानुपर्ने अवस्था नरहेको भन्दै उनले मलेसियामा रहेका श्रीमान्लाई घर फिर्ता हुन आग्रह गरिसकेको सुनाइन्।
तारादेवीका अनुसार उनका श्रीमान् पनि अब स्वदेश फर्किने तयारीमा छन्। माथि उल्लेखित केही प्रतिनिधि पात्र मात्र हुन्। पछिल्लो समय व्यावसायिक रूपमा तरकारी तथा उच्च मूल्यका बालीको खेती गर्दै गाउँमै मनग्य आम्दानी हुन थालेपछि कर्णालीका हिमाली जिल्लाहरू जुम्ला, कालीकोट र मुगुका महिलाले छाक टार्ने उपाय खोज्दै बिदेसिएका आफ्ना श्रीमान्लाई गाउँमै फिर्ता बोलाउन थालेका छन्।
गाउँमा पुरुष नहुँदा हली पाउन मुस्किल !
कर्णालीका बासिन्दाको मुख्य आम्दानीको स्रोत कृषि हो। खेतीपाती र पशुपालनबाटै यहाँका अधिकांश नागरिकले जीवन निर्वाह गर्दै आइरहेका छन्। त,र परम्परागत खेती प्रणालीका कारण उत्पादन भने न्यून हुन्छ। जसले गर्दा हिमाली जिल्लाहरू बर्सेनि खाद्यान्न संकट भोग्न बाध्य छन्। दुःख अनुसारको उत्पादन नहुँदा वर्षभरि खान पुग्दैन। यसकारण पनि यहाँका अधिकांश पुरुष छाक टार्ने उपायको खोजीमा गाउँ छाड्न बाध्य छन्। मुख्यगरी जुम्ला, कालीकोट, हुम्ला, डोल्पा र मुगुका पुरुषहरू परिवारको खर्च जुटाउनकै लागि खाडी मुलुक र भारतका विभिन्न सहरमा रोजगारी तथा कामका लागि पुगेका छन्।
काम र रोजगारीका लागि पुरुष बिदेसिएपछि गाउँमा खेतीपातीको काम महिलामा निर्भर हुन पुगेको छ। गाउँका प्रायः पुरुष छाक टार्ने उपायको खोजीमा वैदेशिक रोजगारीमा गएका छन्। भएका युवाहरू पनि शिक्षा र रोजगारीका लागि सहर पसेका छन्। यसको प्रत्यक्ष असर ग्रामीण कृषिमा परेको छ। अर्थात् अधिकांश गाउँमा पुरुष नहुँदा खेतीको सयममा हली (जोत्ने व्यक्ति) नै पाउन मुस्किल हुने गरेको हो।
यस क्षेत्रमा अहिले पनि महिलाले हलो जोत्नु हुँदैन भन्ने सोच कायमै छ। यसकारण पनि हलो जोत्ने काम पुरुषले मात्र गर्छन्। ‘हाम्रो गाउँका अधिकांश पुरुष यहाँ छैनन्’, जुम्लाको पातारासीस्थित डोलकाँटी गाउँकी सरिता बोहोरा भन्छिन्, ‘कोही कमाउन विदेशमा छन्, कोही कालापहाडतिर (भारत) छन्। खेतीको समयमा हामीले हली पाउनै मुस्किल हुन्छ, महिलाले नै सकी नसकी खनजोत गर्नुपर्ने बाध्यता छ।’
गाउँमा पुरुष नहुँदा खेतीको समयमा समस्या हुने गरेको महिलाको दुखेसो छ। हलीको अभावका कारण आफूहरूले एकदिन हलो जोत्न लगाए बापत २ हजार रुपैयाँसम्म ज्याला तिर्न बाध्य भएको महिला बताउँछन्। कतिपय अवस्थामा अर्को गाउँबाट समेत हली ल्याएर खनजोत गर्दै आएको उनीहरूको भनाइ छ।
जुम्लाको चन्दननाथ नगरपालिकास्थित मिचा गाउँ निवासी देवीसरा बुढाले भनिन्, ‘पुरुषहरू कमाउनका लागि विदेश र भारत जाने चलन छ। त्यही कारण पनि गाउँका धेरैजसो पुरुष यहाँ छैनन्। गाउँमा केही सम्भावना नदेखेर उहाँहरू विदेश जानुभएको हो, धेरै परिवारमा यो बाध्यता जस्तै छ।’
जुम्लामा मात्र होइन, कालीकोट र मुगुमा पनि यो समस्या छ। मुगुको छायाँनाथ रारा–६ निवासी रामदेवी रावलले भनिन्, ‘उत्पादन भएको अन्नले खान पुग्दैन, छोराछोरी पढाउनका लागि पनि पुरुषहरू कमाउन विदेश जान्छन्। अनि गाउँमा पुरुष कसरी भेटिउ,न् ? खेतीपातीको काम सबै हामी महिलाले नै गर्नुपर्छ।’ कालीकोटको खाँडाचक्र–५ तेस्रो बजार निवासी कमला कार्कीले खेतीको काम सबै महिलाको काँधमा आएको बताइन्। विस्तारै आफूहरूले खेती गर्ने तरिका बदलेर निर्वाहमुखीभन्दा पनि व्यावसायिक रूप दिन थालेको उनले सुनाइन्। आधुनिक खेतीमा जोडिएपछि आम्दानी बढ्न थालेको र बिस्तारै महिलाले बिदेसिएका पुरुषलाई गाउँमै सम्भावना देखाएर फिर्ता बोलाउन थालेको उनको भनाइ छ।
तरकारी बेचेरै मालामाल
चन्दननाथ नगरपालिकास्थित मिचा गाउँ पछिल्लो समय तरकारी गाउँका रूपमा चिनिन थालेको छ। कारण यो गाउँमा पछिल्लो सयम अधिकांश परिवारले तरकारी खेती गर्न थालेका छन्। तरकारी खेतीबाट आम्दानी हुन थालेपछि हिजोआज स्थानीयले परम्परागत अन्नबाली लगाउन छाडेका हुन्। वर्षमा मुस्किलले एउटा बाली मात्र पाक्ने यस क्षेत्रमा अहिले मौसमअनुसारको तरकारी खेती गरेर स्थानीयले राम्रो आम्दानी गरिरहेका छन्।
स्थानीय देवीसरा बुढा भन्छिन्, ‘तरकारी खेतीबाट एक सिजनमा एउटा परिवारले कम्तीमा पनि एक लाख कमाउँछ। वर्षमा तरकारीबाटै ३ देखी ४ लाख रुपैयाँसम्म आम्दानी हुन्छ।’ बजार पनि नजिकै भएकाले तरकारी बिक्री गर्न समस्या नभएको भन्दै उनले अन्नबालीभन्दा तरकारीबाट फाइदा भइरहेको सुनाइन्।
अधिकांश परिवारका पुरुष रोजगारीका लागि विदेशमा रहेको भन्दै उनले गाउँमा महिला मिलेर व्यावसायिक रूपमा तरकारी खेतीमा जुटेको बताइन्। महिलाले गाउँमा तरकारीबाट आम्दानी गर्न थालेपछि बिदेसिएका पुरुष स्वदेश फिर्ता हुन थालेको उनको भनाइ छ।
स्थानीय काली कामीले तरकारी खेतीबाटै आफ्नो ६ जनाको परिवारको खर्च टरेको बताइन्। आफूले एक सिजनमा आलु, धनियाँ र काउली बेचेर ५० हजारभन्दा बढी आम्दानी गरेको उनको भनाइ छ। उनका अनुसार गाउँमा अधिकांश परिवारमा महिलाले नै खेतीपातीको काम गर्छन्। तरकारी खेतीबाट नगद आम्दानी हुन थालेको भन्दै उनले परिवारको खर्च टार्न मात्र नभइ, आफूहरूले सहकारी र बैंकमा समेत बचत गर्न थालेको बताइन्। नगद आम्दानी हुन थालेपछि गाउँलेहरू हिजोआज तरकारी र स्याउ खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ।
कृषिमा महिलाको नेतृत्व
यहाँका महिला व्यावसायिक रूपमा तरकारी र उच्च मूल्यका बालीको खेतीमार्फत जीविकोपार्जन गर्न संगठित भएका छन्। गाउँ तथा टोलमा विभिन्न कृषि समूह गठन गरेर महिलाले आधुनिक तरकारी खेती र उच्च मूल्यका बालीको खेती गर्न थालेका हुन्। जसले गर्दा पछिल्लो समय यस क्षेत्रमा कृषि कार्यको नेतृत्व महिलाको काँधमा छ। महिलालाई व्यवसायीक खेतीमा आबद्ध गराएर आर्थिक रूपमा सबल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत संघीय सरकारले कृषि क्षेत्र विकास कार्यक्रममार्फत आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ।
समूहमा आबद्ध हुँदा आधुनिक खेतीको उपाय र अन्य भौतिक तथा प्राविधिक सहयोग मिल्ने भएकाले पनि आफूहरू संगठित बनेको महिला बताउँछन्। कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका सञ्चार अधिकृत रत्नबहादुर बुढाले व्यावसायिक खेतीका लागि आर्थिक तथा प्राविधिक सहयोग गरिएको बताए।
उनका अनुसार तरकारी खेतीका लागि स्थानीयलाई टनेल, उन्नत जातका बीउ, सिँचाइ कुलो निर्माण, कृषि औजार, जैविक विषादी र वित्तीय साक्षरता कक्षाका लागि सहयोग गरिएको छ। यस्तै बजारीकरणमा पनि सहयोेग गरिएको छ। महिलालाई समूहमा आबद्ध गराएर यस्तो सहयोग उपलब्ध गराइन्छ। महिला समूहमार्फत नै आधुनिक तरकारी खेती गर्ने तरिका र बजारिकरणबारे छलफल गर्छन्।
कृषि क्षेत्र विकास कार्यक्रमअन्तर्गत जुम्लामा मात्र तरकारी खेतीमा ७० वटा समूह छन्। ती समूहमा १ हजार ५ सय ७६ जना महिला आबद्ध छन्। यस्तै कर्णाली प्रदेशभर तरकारी खेतीमा मात्र जोडिएका महिला समूहको संख्या ३ सय ४० रहेको छ। जसअन्तर्गत ९ हजार १ सय १४ जना महिला आबद्ध भएर व्यावसायिक तरकारी खेती गरिरहेका छन्।
सञ्चार अधिकृत बुढाका अनुसार प्रदेशभर तरकारी खेतीका लागि कार्यक्रममार्फत हालसम्म १७ करोड, ७६ लाख, ४० हजार ८ सय १४ रुपैयाँ खर्च भइसकेको छ। उनका अनुसार स्थानीयले समेत यही हाराहारीमा स्वलगानी गरेका छन्। महिला समूह सक्रिय बनेको र गाउँमा व्यावसायिक खेतीको लहर चलेको उनको भनाइ छ।
यस्तै कार्यक्रमका लैंगिक समानता र सामाजिक समावेशीकरण अधिकृत रुद्र आचार्यले महिला व्यावसायिक खेतीबाट आत्मनिर्भर हुन थालेपछि पारिवारिक हिंसाका घटनामा समेत कमी आएको बताए। समग्र कृषि कार्य र पारिवारिक अर्थतन्त्रको नेतृत्व महिलाको हातमा पुगेको भन्दै उनले यसबाट महिला सशक्तीकरणमा समेत टेवा पुगेको बताए। आफूहरू आर्थिक रूपमा सवल हुन थालेपछि यहाँका महिलाले विदेशमा मजदुरीका लागि पुगेका पुरुषलाई पछिल्लो समय गाउँमै फिर्ता बोलाउने अवस्था बनेको उनको भनाइ छ। आर्थिक अवस्था सवल हुन थालेपछि कतिपय पारिवारिक मतभेद र बेमेलहरू पनि अन्त्य भएको उनको भनाइ छ।
कृषिबाटै आत्मनिर्भर बनाउने कर्णाली सरकारको योजना
कर्णालीमा अहिले पनि २६ दशमलव ६९ प्रतिशत नागरिक गरिब छन्। यसकारण पनि कर्णालीवासीलाई गरिबीको चक्रबाट मुक्त गर्न धेरै मेहनत गर्नुपर्ने अवस्था छ। यही तथ्यलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले पनि कृषिबाटै यहाँको गरिबी अन्त्य गर्ने योजना बनाएको छ। कर्णालीवासीको मुख्य आम्दानीको स्रोत कृषि भएकाले पनि कृषिमा लगानी गरेर यहाँका नागरिकलाई आत्मनिर्भर बनाइने प्रदेश सरकारको भनाइ छ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिमा नयाँ प्रविधि र लगानीमार्फत कर्णालीवासीलाई आत्भनिर्भर बनाइने जनाएको हो। चालु आर्थिक बर्षका लागि मन्त्रालयसँग १ अर्ब ८६ करोड बराबरको बजेट छ। यो बजेट कृषिको आधुनिकीकरण र किसानको जीवनस्तर उकास्नमा खर्च गरिने मन्त्रालयको भनाइ छ। कृषिको आधुनिकीकरण र पशुपन्छीमा लगानी गरेर रोजगारी सिर्जना गर्ने मन्त्रालयको योजना छ। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले प्रदेशको गरिबी घटाउन कृषिमा लगानी अनिवार्य भएको बताए।
उनले भने, ‘हाम्रो प्रदेशको मुख्य जीवन निर्वाहको स्रोत कृषि नै हो। अधिकांश परिवारले कृषिबाटै जीविकोपार्जन गरिरहेका छन्। त्यसकारण पनि सरकारले कृषिबाटै नागरिकलाई आत्मनिर्भर बनाउने योजना बनाएको छ, यसका लागि हामी कृषिमा लगानी गरेर रोजगारी सिर्जना गर्दै नागरिकलाई आत्मनिर्भर बनाउने छौं।’
उनका अनुसार मन्त्रालयले कृषिमा लगानी बढाउने, किसानलाई अनुदान, खेतीमा नयाँ प्रविधिको प्रयोग, कृषिमा युवालाई आकर्षित, तरकारी र फलफुल खेतीमा प्रोत्साहन, पशुपालनमा लगानी, सिँचाइ र औजारको व्यवस्थापन र व्यावसायिक पशुपालनका लागि किसानलाई प्रोत्साहन गरेर यहाँका नागरिकलाई आत्मनिर्भर बनाउने योजना बनाएको छ।
कृषिमा आत्मनिर्भर बनाउन सकेमा मात्र यहाँको गरिबी अन्त्य हुने प्रदेश सरकारको बुझाइ छ। उत्पादन न्यून भएकै कारण प्रदेशका अधिकांश नागरिक छाक टार्नकै लागि रोजगारीको खोजीमा बिदेसिनुपर्ने बाध्यता छ। यही समस्या समाधान गर्न कृषिमा लगानी बढाउनुपर्ने आवाज उठ्दै आएको छ। खेतीयोग्य जमीन भएर पनि आवश्यक कृषि पूर्वाधार र प्रविधिमा लगानी हुन नसक्दा उत्पादन बृद्धि हुन सकेको छैन।
यही तथ्य बुझेको कृषि तथा सहकारी मन्त्रालयले उत्पादनमा आधारित प्रोत्साहन, कृषि पूर्वाधारको विकास, कोल्ड स्टोर, अनुदान र संकलन केन्द्रमा लगानी गर्ने योजना बनाएको छ। कृषिमा लगानी भए गाउँमै रोजगारी सिर्जना हुने र यसले रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यताको पनि अन्त्य हुने मन्त्रालयको दाबी छ।