कर्तव्य ज्यानको सजायमा माफी, जेलबाट छुटेपछि अर्को हत्या

कर्तव्य ज्यानको सजायमा माफी, जेलबाट छुटेपछि अर्को हत्या
कुशल दाहालको हत्या गरेर फरार बनेका सुभाष तामाङ।

विराटनगर : कर्तव्य ज्यान मुद्दाको सजायमा माफी मिनाहा पाएर जेलबाट छुटेका मोरङको उर्लाबारी नगरपालिका-५ का ३५ वर्षीय सुभाष तामाङले मंगलबार अर्का युवकको हत्या गरेका छन्। 

प्रहरीका अनुसार तामाङले लाट्ठी र खुकुरी प्रहार गरेर उर्लाबारी-४ का २१ वर्षीय कुशल दाहालको हत्या गरेका हुन्। तामाङले अन्य युवाहरूको सहयोग लिएर दाहाल र उर्लाबारी-४ कै ३१ वर्षीय सञ्जय आचार्यलाई साँझ ६ बजेतिर उर्लाबारी-५ स्थित उद्योग वाणिज्य संघको कार्यालयनजिकै रहेको आफ्नो घरमा लगेका थिए। 

प्रहरीका अनुसार उर्लाबारी-५ का अन्दाजी २५ वर्षीय करण लिम्बु, उर्लाबारी-६ का अन्दाजी ३० वर्षीय रिजन आलेमगर र उर्लाबारी-७ का अन्दाजी २८ वर्षीय आङसुहाङ देवानले दाहाल र आचार्यलाई तामाङको घरसम्म पुर्‍याउन मद्धत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। तर, हत्यामा उनीहरुको संलग्नता यकिन भइसकेको छैन। 

‘घटना हुनुअघि दाहाल र आचार्यलाई तामाङको घरसम्म पुर्‍याउन सहयोग गरेको देखिन्छ। त्यसका लागि स्कुटरसमेत उपलब्ध गराएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘तर, प्रारम्भिक अनुसन्धानबाट हत्यामा लिम्बु, आलेमगर र देवानको प्रत्यक्ष संलग्नता देखिँदैन। तामाङको घरसम्म लैजान सहयोगीको भूमिकाचाहिँ निर्वाह गरेको खुल्यो।’ उनीहरू फरार रहेका कारण पक्राउ परेपछि मात्रै सबै कुरा प्रष्ट हुने प्रहरीले जनाएको छ।

घटनापछि फरार बनेका तामाङलाई भने प्रहरीले बुधबार दिउँसो मोरङको सुन्दरहरैँचा नगरपालिका-४ दुलारीबाट पक्राउ गरेको छ। उनी बसमा चढेर धरानतर्फ भाग्दै गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। दाहालको हत्या गरेर तामाङ फरार भएपछि प्रहरीले सार्वजनिक सवारीसाधन चेकजाँचमा कडाइ गरेको थियो। को१ख ६४७१ नम्बरको बसमा चढेर धरानतर्फ जाँदै गरेको अवस्थामा ट्राफिक प्रहरी पोस्ट गछियाका असइ किशोर निरौला नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको जानकारी कार्कीले दिए। 

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका उनी सजायमा माफी मिनाहा पाएर कारागारबाट छुटेको खुलेको छ। जेलबाट छुटेपछि पनि उनी विभिन्न अपराधमा संलग्न भएको रेकर्ड प्रहरीसँग छ।

 

उनका अनुसार ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा बसभित्र भेटिएपछि तामाङलाई पक्राउ गरिएको हो। पक्राउ गरेर तामाङलाई इलाका प्रहरी कार्यालय बेलबारीको जिम्मा लगाएको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। 

घटनाका प्रत्यक्षदर्शी आचार्यलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार लाट्ठी र खुकुरी प्रहार तामाङले मात्रै गरेको खुलेको छ। ‘तामाङ आक्रमणमा उत्रिएपछि अरुले छुट्याउनलाई भूमिका खेलेको भनिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘तर, अनुसन्धानपछि मात्रै वास्तविकता थाहा हुन्छ।’ 

घरमा तामाङ एक्लै बस्दै आएको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले फरार रहेकाको खोजी गरिरहेको छ। दाहालको हत्या भएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका थिए। 

प्रहरीका अनुसार तामाङले आफ्नो मोबाइल चोरी गरेको आरोप दाहालमाथि लगाएको र आचार्यले भने तामाङसँग केही दिनअघि १ हजार रूपैयाँ सापटी लिएर फिर्ता नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘दाहाललाई मोबाइल चोरी गरेको आरोप लगाइएको रहेछ। आचार्यले सापटी लिएको पैसा फिर्ता गरेका रहेनछन्,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘दुवै जनालाई उर्लाबारी चोकमा भेटेपछि केही युवाहरूको सहयोग लिएर तामाङले आफ्नो घरमा लगेछन्। घर पुर्‍याएर सुरुमा दाहालमाथि आक्रमण गरेको पाइएको छ।’

मोबाइलको विषयमा विवाद हुन थालेपछि दाहालमाथि लाट्ठी र खुकुरीले प्रहार गरिएको बस्नेतले बताए। उनका अनुसार प्रहरीले सोधपुछ गर्ने क्रममा आचार्यले आफूमाथि पनि लाट्ठी प्रहार भएको बताएका छन्। तामाङको आक्रमणबाट गम्भीर घाइते भएका दाहाललाई आचार्यले नै सीटी सफारीमा राखेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पुर्‍याएको जानकारी बस्नेतले दिए। 

थप उपचारका क्रममा झापा बिर्तामोडको बीएन्डसी अस्पतालमा राति ८:४० बजेतिर दाहाललाई चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए। उनका अनुसार मृतक दाहाल र आचार्य साथी हुन्। आचार्यलगायतका युवा घटनाका प्रत्यक्षदर्शी रहेको खुलेको छ। 

प्रहरीका अनुसार तामाङ अपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका उनी सजायमा माफी मिनाहा पाएर कारागारबाट छुटेको खुलेको छ। जेलबाट छुटेपछि पनि उनी विभिन्न अपराधमा संलग्न भएको रेकर्ड प्रहरीसँग छ। 

ढुंगाले हानेर उर्लाबारी-२ का नवीन राईको २०७१ साल असोज ८ गते राति हत्या गरिएको थियो। साविकको उर्लाबारी-२ स्थित उर्लाबारी-मधुमल्ला सडक खण्डमा घाइते अवस्थामा फेला पारेका राईको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। 

मादक पदार्थ सेवन (मापसे) गर्दैगर्दा विवाद भएको र त्यही बेला तामाङले ढुंगाले हानेर उनको हत्या गरेको प्रहरीको भनाइ छ। तामाङले राईको हत्या गर्दा मोरङका हालका एसपी नवराज कार्की इलाका प्रहरी कार्यालय उर्लाबारीको इञ्चार्ज थिए। तत्कालीन इन्सपेक्टर कार्कीकै नेतृत्वमा प्रहरीले घटनाको अनुसन्धान गरेर तामाङसहित २३ वर्षीय साइला भनिने रमेश राजधामीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको थियो। 

तामाङविरुद्ध २०७७ सालमा ज्यान मार्ने उद्योग मुद्दा चलेको थियो। उक्त मुद्दामा २०७७ भदौ ८ गते दोषी ठहर भएका उनी २ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर छुटेका थिए।

जिल्ला अदालत मोरङले तामाङलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने फैसला गरेको थियो। राजधामीले सफाइ पाए। तत्कालीन जिल्ला न्यायाधीश ऋषिराम निरौलाको इजलासले २०७१ माघ २७ गते उक्त मुद्दाको फैसला सुनाएको हो। तर, उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीश कुमारप्रसाद पोखरेल र शिवराज अधिकारीको संयुक्त इजलासले २०७३ भदौ २९ गते जिल्लाको फैसला उल्टाउँदै तामाङलाई १० वर्ष कैद सजाय हुने फैसला गर्‍यो। सर्वोच्च अदालतले २०७५ जेठ १० गते उच्चकै फैसलालाई सदर गरेको थियो। 

जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका तामाङलाई २०७४ कात्तिक १२ गते केन्द्रीय कारागार सुन्धारा (जगन्नाथदेवल) काठमाडौंमा स्थानान्तरण गरिएको थियो। मोरङ कारागारले दिएको जानकारी अनुसार कारागार व्यवस्थापन विभागको २०७४ कात्तिक ८ गतेको पत्रबाट उनीसहित १२ जना कैदीबन्दीलाई सुन्धारा कारागार स्थानान्तरण गरिएको हो। त्यसपछि तामाङलाई २०७५ असार १५ गते मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरियो। 

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तामाङ २०७६ सालमा प्रजातन्त्र दिवसको दिन माफी मिनाहा पाएर छुटेका थिए। सरकारबाट माफी मिनाहा पाएर कारागार मुक्त भएपछि विभिन्न अपराधमा संलग्न भएका तामाङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग, लागूऔषध र अभद्र व्यवहार मुद्दा चलाएको थियो। 

तामाङविरुद्ध २०७७ सालमा ज्यान मार्ने उद्योग मुद्दा चलेको थियो। उक्त मुद्दामा २०७७ भदौ ८ गते दोषी ठहर भएका उनी २ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर छुटेका थिए। त्यसअघि लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलेको थियो। साथबाट लागूऔषध ब्राउन सुगर बरामद भएपछि चलेको मुद्दामा अदालतले १ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दियो। धरौटी बुझाएर छुटेका उनलाई मुद्दाको किनारा लगाउने क्रममा अदालतले २०७७ कात्तिक ७ गते दोषी ठहर गर्दै ३ महिना कैद हुने फैसला गरेको थियो। 

लागूऔषध मुद्दाको फैसला हुँदा तामाङ ज्यान मार्ने उद्योग मुद्दामा जेल सजाय भुक्तान गरिरहेका थिए। सजाय भुक्तान गरेर छुटेका तामाङविरुद्ध २०८० असोज २४ गते अभद्र व्यवहार मुद्दा दर्ता भयो। धरौटीवापतको १ लाख रूपैयाँ तिरेर असोज २५ गते उनी छुटेका थिए। अपराधिक पृष्ठभूमिका तामाङले मंगलबार साँझ आफ्नै घरमा ल्याएर दाहालको हत्या गरेका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.