कोशी सरकारप्रति पूर्वमुख्यमन्त्री असन्तुष्ट, आन्दोलन गर्ने चेतावनी

कोशी सरकारप्रति पूर्वमुख्यमन्त्री असन्तुष्ट, आन्दोलन गर्ने चेतावनी
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेश सरकारप्रति पूर्वमुख्यमन्त्री केदार कार्की असन्तुष्ट देखिएका छन्। उनले प्रदेश सरकार कार्यकर्तामुखी भएको आरोप लगाए। 

प्रदेश सरकार फेरबदलसँगै जनमुखी कार्यक्रमहरू कटौती गर्दै ओझेलमा पारिएको कार्कीले बताए। विराटनगरस्थित कोशी प्रदेश प्रदेशसभा भवनमा बुधबार पत्रकार सम्मेलन गरेर कार्कीले वर्तमान प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। 

‘वर्तमान सरकारले कार्यकर्तामुखी योजनालाई प्राथमिकतामा राख्दै जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरू रोकर अन्याय गरेको छ,’ उनले भने, ‘अहिलेको सरकारले कार्यकर्तामूखी योजनालाई जोड दिँदै २५ हजार रुपैयाँ बजेटसम्मको  कार्यक्रम अघि सार्नु दुर्भाग्यपूर्ण हो।’

नेपाली कांग्रेसका प्रदेशसभा सदस्यसमेत रहेका कार्की सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, विपन्न विद्यार्थीलाई उच्च शिक्षाको छात्रवृत्ति, जनावरमैत्री जंगल, सुकुम्बासीलाई जग्गा खरिदमा ब्याज अनुदान, शैलजा आचार्य हृदयरोग केन्द्र स्थापना तथा सञ्चालन, महिला स्वयंसेवकलाई प्रोत्साहन कार्यक्रम, केशलीया करिडोर निर्माण र प्रदेशमा सगरमाथा दिवस मनाउनेजस्ता जनतामुखी कार्यक्रम रोकेर अन्याय गर्न नहुने बताउँछन्। यी कार्यक्रम कार्की नेतृत्वको सरकारले अघि सारेको थियो। अहिले नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेश सरकार छ। 

अघिल्लो सरकारले अघि बढाएका कार्यक्रमलाई ओझेलमा नराख्न पूर्वमुख्यमन्त्री कार्कीले चेतावनी दिएका छन्। ‘जनताको कर जनतालाई नै सुम्पिने कार्यक्रमलाई उपेक्षा गरिए लोकतान्त्रिक विधिबाट संघर्ष गरिने छ,’ उनले भने, ‘मानवीय विकासलाई अघि बढाउँदै वर्तमान सरकारले काम गर्नुपर्छ।’ 

कार्कीले आफू नेतृत्वको अघिल्लो सरकारले भौतिक पूर्वाधार निर्माणमा केन्द्रीत भएका टुक्रे बजेटलाई निरुत्साहित गर्दै २५ लाख रुपैयाँ माथिका योजनामा मात्र बजेट विनियोजन गर्ने प्रत्यत्न गरेको स्मरण गरे। 
‘विगतमा विकास निर्माणका नाममा स–साना टुक्रे बजेट राखिन्थ्यो। जसले जनताको करको अपमान भएको महसुस गरायो। त्यसपछि सरकारको नेतृत्वमा रहँदा टुक्रे योजनामा बजेट नराखी कम्तीमा २५ लाख रुपैयाँ माथिका योजनामा बजेट विनियोजन गरी प्रदेशको समृद्धि गराउने प्रयत्न हामीले गरेका थियौं,’ उनले भने। तर, सरकार परिवर्तनसँगै अहिलेको सरकारले जनतामुखी कार्यक्रम हटाएर कार्यकर्तामुखी कार्यक्रम ल्याएको आरोप कार्कीले लगाए
। 
उनले १० वर्षमुनिका बालबालिकाको निःशुल्क स्वास्थ्य उपचारलाई सरकारले निरन्तरता दिनुपर्ने माग गरे। ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकार कठोर हुन हुँदैन। यसले निम्न, गरिब, विपन्न परिवारलाई राहत हुने थियो। बालबालिकाको निःशुल्क उपचारले अभिभावक नै लाभान्वित हुने थिए। यो कार्यक्रममा रोकेर गलत राजनीति गरियो,’ कार्की भन्छन्। 

उनले गलत काम नरोके प्रदेश सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए। विभिन्न ८ बुँदे माग सार्वजनिक गर्दै उनले माग पूरा नभए आन्दोलन गर्ने घोषणा गरेका हुन्। कार्कीले आफू नेतृत्वको सरकार हुँदा सुरु भएका महत्वपूर्ण योजना समावेश गर्न पनि माग गरेका छन्।

‘सेटिङमा बजेट हाल्दा कमिसन आउँछ। जनतामा जाँदा आउँदैन भनेर प्रदेशमा बजेट बनाइयो,’ उनले भने, ‘सरकार भनेको सरकार नै हो। जनताको मुद्दा उठाउन जो सरकारमा भए पनि कम्प्रमाइज गर्नु हुँदैन।’

केन्द्रीय समीकरण अनुसार कोशीमा एमाले नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी हुँदैछ। तर, आफ्नो पार्टी सरकारमा सहभागी भए पनि जनताको मुद्दा उठाउन नछाड्ने कार्की बताउँछन्। उनले केन्द्रीय गठबन्धन अनुसार कोशी प्रदेश सरकारमा कांग्रेसको सहभागिता हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.