विराटनगरमा बन्धक बनाइएकी नाबालिकाको उद्धार, महिलासहित ३ जना पक्राउ
विराटनगर : सुनसरीको दुहवीबाट विराटनगर ल्याएर बन्धक बनाइएकी नाबालिकालाई प्रहरीले बुधबार बिहान सकुशल उद्धार गरेको छ।
दुहवी नगरपालिका-१० डुम्राहाकी ६ वर्षीया नाबालिकाको उद्धार गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए। उनका अनुसार दुहवी-१० स्थित मामाघरमा खेलिरहेकी नाबालिकालाई विराटनगर महानगरपालिका-६ का ५० वर्षीय सञ्जय पासवानले मंगलबार दिउँसो ३ बजेतिर अभिभावकको मञ्जुरी बिना नै लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सञ्जयले दुहवीबाट ल्याएर विराटनगर-१० स्थित आफन्तको डेरामा बन्धक बनाएर राखेको जानकारी भण्डारीले दिए। विराटनगर-१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवान डेरा बस्थे। डेरा बसेकै कोठामा बालिकालाई रातभर बन्धक बनाएर राखिएको प्रहरीले जनाएको छ।
नाबालिका हराएको जानकारी अभिभावकले इलाका प्रहरी कार्यालय दुहवीमा गराएका थिए। इप्रका दुहवी, जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले बुधबार बिहान ६ बजेतिर बालिकालाई फेला पारेर सकुशल उद्धार गरेको डीएसपी भण्डारीको भनाइ छ।
उनका अनुसार अभिभावक र आफन्त कोही कसैलाई पनि नसोधिकन नाबालिकालाई लगिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नाबालिकाकी ठूलीआमा र सञ्जयबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। ‘नाबालिकाकी ठूलीआमा वैदेशिक रोजगारीका लागि जानलाई काठमाडौंमा गएकी थिइन्,’ प्रहरी स्रोतले भन्यो, ‘उनलाई विदेश जानबाट रोक्नका लागि ‘बार्गेनिङ’ गर्न सञ्जयले नाबालिकालाई लिएर गएको पाइएको छ।’
नाबालिकालाई लिएर गएपछि सञ्जयले पीडिताका मामालाई फोन गरेका थिए। ‘तेरो भान्जी मेरो कब्जामा छ। दिदीलाई घर बोलाउने भए फिर्ता ल्याइदिन्छु। होइन भने अरुलाई नै दिन्छु’ भनेर सञ्जयले नाबालिकाको मामालाई फोन गरेको प्रहरीले जनाएको छ। नाबालिकाकी ठूलीआमालाई विदेश जान नदिने र आफूसँगै राख्ने योजना बनाएर सञ्जयले नाबालिकालाई आफ्नो कब्जामा लिएको प्रहरीको भनाइ छ।
प्रहरीले नाबालिकाको उद्धार गर्नुका साथै उनलाई कब्जामा लिने सञ्जय र उनका आफन्तहरु कलानन्द र सरितालाई पक्राउ गरेको छ। पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन अदालतबाट बुधबार ५ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी भण्डारीले दिए। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहवीका इन्सपेक्टर मोहन पोखरेल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ।