पैनीमा डुबिरहेको अवस्थामा भेटिएका वृद्धको मृत्यु
विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका-१ होक्लाबारीस्थित पैनी (कुलो)मा डुबिरहेको अवस्थामा भेटिएका वृद्धको बुधबार दिउँसो मृत्यु भएको छ।
घरदेखि करिब ३ सय मिटर पूर्व-दक्षिणमा रहेको पैनीमा डुबिरहेको अवस्थामा फेला परेका ६३ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दिउँसो १२:४० बजेतिर खड्कालाई पैनीको पानीमा डुबिरहेको देखेर छिमेकीले परिवारलाई खबर गरेका थिए।
घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले दिउँसो १:५० बजेतिर मृत घोषणा गरेको जानकारी डीएसपी बस्नेतले दिए। उनका अनुसार वृद्ध कसरी पैनीमा डुबे भनेर यकिन हुन बाँकी छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।