उपभोक्तालाई खुसी बनाएका छौं
एक वर्ष अघिसम्म पाल्पा सदरमुकाम तानसेनमा वर्षायाममा ५ दिनमा एकपटक, हिउँद तथा सुक्खा याममा साता दिनदेखि १२ दिनमा एक पटक उपभोक्ताको धारामा खानेपानी वितरण हुँदै आएको थियो । तानसेन नगरपालिकाको अग्रसरतामा पुरानो समिति विघटन गरी नयाँ तदर्थ समिति बन्यो । तदर्थ समिति बनेको ६ महिनामै पाल्पामा सबै पक्षको प्रतिनिधित्व हुने गरी तानसेन खानेपानी उपभोक्ता समिति गठन भयो ।
निर्वाचन लगत्तै अध्यक्षदेखि सदस्यलाई फरक–फरक कामको जिम्मेवारी बाँडफाँट गरियो । सबैले १५/१५ दिनमा आआफ्नो कामको विषयमा बैठकमा छलफल गर्दै आएका छौं । काममा निकै सुधार भएको छ । अहिले उपभोक्ताको घर–घरमा एक दिन बिराएर धारामा पानी वितरण गर्दै आएका छौं । अब हामी थप ३० लाख लिटरको रिजर्व ट्यांकी निर्माणको अभियानमा जुटेका छौं । रिजर्व ट्यांकी निर्माण पूरा भएपछि तानसेनका उपभोक्तालाई दैनिक रूपमा पानी वितरण गर्ने काममा लाग्ने छौं ।
मोहनप्रसाद श्रेष्ठ
अहिले तानसेनमा एउटा ग्राविटी फ्लो र ५ स्थानबाट लिफ्ट प्रणालीबाट पानी संकलन गरी वितरण गर्दै आएका छौं । खानेपानीका जीर्ण भएका पाइपहरू हटाएर नयाँ राख्ने, पानीको चुहावट रोक्ने, बिग्रिएका पानी तान्ने मोटरपम्प मर्मत गर्ने, सबै पम्प स्टेसनमा जगेडा मोटरको व्यवस्था गरेका छौं ।
नयाँ घर, ठूला उद्योग, होटल, विद्यालय, कलेज क्याम्पसहरूमा आवश्यकता अनुसारको पानी वितरणको व्यवस्था मिलाएका छौं । नयाँ घर तथा उद्योग, होटल निर्माणका लागि नगरपालिकाबाट अनुमतिपत्रको आधारमा तत्कालै धारा जोडिने व्यवस्था मिलाएका छौं ।
अहिले तानसेनमा २८ देखि ३० लाख लिटर पानीको आवश्यकता रहेकोमा सहज रूपमा पूर्ति गर्दै आएका छौं । यसपालि सुक्खायाममा समेत हामीले एक दिनको फरकमा उपभोक्तालाई पानी वितरण गर्न सफल भयौं । तानसेनमा पानीको समस्या हटेको सकारात्मक सन्देश दिन समिति सफल भएको छ ।
(श्रेष्ठ तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष हुन् ।)