सिन्धुलीको मरिणका १७९ छात्रालाई साइकल वितरण
सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकाले पालिका भित्र ‘प्लस टु’ अध्ययनरत १ सय ७९ जना छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका विभिन्न विद्यालयको कक्षा ११/१२ मा अध्ययनरत १ सय ७९ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो ।
बुधबार एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजन दाहालले छात्राहरूलाई साइकल वितरण गरेका हुन्। साइकल वितरण गर्दै सांसद दाहालले शिक्षाले नै समाजलाई परिवर्तन गराउने भएकाले छात्राहरूलाई यसरी गरिएको प्रोत्साहनले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक वृद्धि विकासमै मद्दत पुग्ने बताए ।
उच्च शिक्षा अध्ययनका लागि छात्राहरूलाई विद्यालयसम्म आउनजान सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको हो । गाउँपालिकाको गत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अनुसार ‘प्लस टु’ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले जानकारी दिए ।
‘पालिकाभित्र रहेका दुई वटा उच्च माध्यमिक तहमा अध्ययनरत १ सय ७९ जना विपन्न, दलित, आदिवासी जनजाति छात्राहरूलाई साइकल वितरण गरिएको हो,’ मोक्तानले भने ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीका अनुसार मरिण गाउँपालिका ७ स्थित कपिलाकोट माध्यमिक विद्यालयका १ सय २७ जना र मरिण गाउँपालिका ४ स्थित मावि मरिण खयरसालका ५२ जना छात्राहरूलाई गरी कुल १ सय ७९ वटा साइकल वितरण गरिएको हो ।
गाउँपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्लस टु अध्ययनरत छात्राहरूलाई साइकल वितरणमा बजेट विनियोजन गरे पनि साइकल खरिद गर्दा विद्यालय वर्षे बिदा भएकाले वितरणमा ढिलाइ भएको उनको भनाइ छ ।
गाउँपालिकामा रहेका विद्यालयहरूमध्ये दुईवटामा मात्र उच्च शिक्षा सञ्चालन भएका कारण विद्यार्थीहरू एकदेखी दुई घण्टासम्मको पैदल हिँडेर विद्यालय पुग्नु पर्ने बाध्यता रहेको छ ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा पनि पहिलो पटक १ सय ६० जना छात्राहरूलाई साइकल वितरण गरेको थियो । साइकल वितरण कार्यक्रममा मावि कपिलाकोटाका प्रध्यानध्यापक अमृत सिं घिसिङ र मावि मरिण खयरसालका प्रध्यानध्यापक मानध्वज बम्जनले छात्राहरूले साइकल पाउँदा विद्यालयमा नियमित अध्ययनका लागि आउन जान सहज भएको बताए ।
उनीहरूले यातायातको सहज पहुँच नहुँदा र घर व्यवहारले समय निकाल्न नसक्दा कतिपय छात्राहरूले बिचैमा पढाइ छाड्ने गरेकामा यसरी साइकल वितरण हुँदा पढाइलाई निरन्तरता दिने र छात्राहरूमा हौसलासमेत बढ्ने गरेको उल्लेख गरे।
पालिका भित्रका सबै विद्यालयमा विद्यालय बस नहुँदा कतिपय छात्राहरूले विद्यालय जान आउन सास्ती खेप्दै आएका थिए । पालिकाले साइकल वितरण गरेपछि आफूहरूमा सहजता मिल्ने छात्राहरूले प्रतिक्रिया दिएका छन् ।
गाउँपालिकाले पालिका भित्रका ९ वटा बालविकास केन्द्र र एक आवाशीय विद्यालयका छात्र तथा छात्राहरूलाई शैक्षिक समाग्रीसमेत वितरण गरेको छ । ब्याग, कपडा, ब्रस, नङकट लगायत शैक्षिक सामाग्री वितरण गरिएको मरिण गाउँपालिका अन्तरगत शिक्षा शाखा प्रमुख नवराज बरालले बताए ।
तस्बिर : छात्रालाई साइकल वितरण गर्दै प्रतिनिधि सभा सदस्य राजन दाहाल लगायत । तस्बिर : राजन गाउँले।