एमाले सचिवालयको बैठक जारी
काठमाडौं : सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको। केन्द्रीय नेताहरुको कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि आज सचिवालय बैठक बसेको हो।
एमालेले पार्टी कार्यालयमा बैठक बोलाएपनि मंगलबार राति बाढी पसेपछि आज हनुमानस्थानस्थित होटल बसेरामा बैठक बसेको छ।
नेकपा एमालेले केन्द्रीय नेतालाई आफ्नै भूगोलको जिम्मेवारी दिन लागेको छ। यस अगाडि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो। अन्तर प्रदेश र अन्तर क्षेत्रका फरक फरक भूगोलमा कार्यक्षेत्र रहने गरी खटाएको एक वर्ष पूरा भएकाले आफ्नै कार्यक्षेत्रको जिम्मेवारी दिने निर्णय भएको थियो।
नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने,प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ। बैठकबाट एमालेले विभिन्न ईञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्नेछ।