‘मेरी छोरी पनि मसँगै खेलिरहेकी थिइन्’
पेरिस : विश्व खेलकुदको कुम्भ मेला मानिने ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सपना संसारभरका खेलाडीको हुन्छ। यसमा कोहीको सपना पूरा हुन्छ भने कोहीको सपना सपनामै सीमित हुन्छन्। आफ्नो सपना पूरा गर्नेको संघर्ष र सफलताका कथा पनि फरक फरक हुन्छन्। विभिन्न चुनौती र संघर्षसँगै जुध्दै देशका लागि पदक जित्ने सपना बोकेकामध्येकी एक हुन्, इजिप्टकी फेन्सिङ खेलाडी नाडा हाफिज।
नाडाले पेरिस ओलम्पिकमा महिलाको व्यक्तिगत सेबरमा प्रतिस्पर्धा गरेकी थिइन्। पहिलो खेलमा अमेरिकाकी एलिजावेथ टार्टाकोवस्कीलाई पराजित गरेकी उनी दोस्रो खेलमा भने पराजित भइन्। निकै प्रतिस्पर्धात्मक खेलमा उनी दक्षिण कोरियाकी जियोन हायोङसँग पराजित भइन्। कोरियाली खेलाडीसँग प्रिक्वार्टरफाइनलमा पराजय भएसँगै उनको पेरिस ओलम्पिक यात्रा पनि समाप्त भएको थियो।
नाडाले कोरियाकी खेलाडीसँग पराजित भएपछि सामाजिक सञ्जाल इन्टाग्राममा एउटा स्टाटस लेखेकी थिइन्। त्यही स्टाटसले उनलाई रातारात भाइरल बनायो। उनी पेरिस ओलम्पिककै चर्चित खेलाडी बन्न पुगिन्। २६ वर्षीया नाडाले इन्टाग्राममा लेखेकी थिइन्, ‘यस पटकको ओलम्पिकमा हामी दुई जना होइन, तीन जना प्रतिस्पर्धा गरिरहेका थियौं। म अहिले सात महिनाको गर्भवती छु। म विपक्षीसँग प्रतिस्पर्धा गरिरहँदा मसँग मेरी छोरी पनि खेलिरहेकी थिइन्, सानी ओलम्पियन।’
सात महिनाको गर्भवती अवस्थामा पनि ओलम्पिकमा प्रतिस्पर्धा गरेको खुलासा गरेपछि उनी एकाएक चर्चाको शिखरमा पुगेकी हुन्। उनले अन्तिम १६ मा स्थान पक्का गर्नु नै आफ्ना लागि ठूलो सफलता भएको बताउँदै गर्भवती अवस्थामा शारीरिक र मानसिक रुपमा थुप्रै चुनौती रहेको बताइन्। ‘मेरा लागि शारीरिक र मानसिक दुवै रुपमा चुनौती थिए। गर्भावस्थाको रोलरकोस्टर आफैमा कठिन हुन्छ। एउटा जीवन र खेलकुदको सन्तुलन कायम राख्नु साँच्चै कठिन काम हो’, उनले भनेकी छन्, ‘यस धर्तीमा जन्मनुअघि नै मेरी छोरीले ओलम्पिकजस्तो बृहत प्रतियोगिताको अनुभव बटुलेकी छन्। यसले मेरो जीवनमा पनि थप रोमाञ्चता थपेको छ।’
उनले आफ्नो पति र परिवारप्रति पनि आभार व्यक्त गरिन्। ‘गर्भ अवस्था धेरै कारणले कठिन समय हो। यस्तो अवस्थामा पनि मेरो श्रीमान् र परिवारले ओलम्पिक खेल्ने अनुमति दिनुभयो। यसका लागि म उहाँहरूप्रति आभारी छु’, उनले स्टाटसमा लेखेकी छन्। इजिप्टको राजधानी कायरोकी नाडाले लगातार तेस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हुन्।