टर्‍यो खानेपानीको समस्या

टर्‍यो खानेपानीको समस्या

सिरहा : कुम्हाल टोलकी लीलमदेवी रामलाई इनारकै पानी खाने, नुहाउने, लुगा धुनेलगायत काममा प्रयोग गर्नुपर्दा धेरै झन्झट हुन्थ्यो। सडक छेउमै इनार छ। मानिसको आवतजावत बढी हुन्छ। आफूले नुहाएको कसैले नदेखोस् भनेर उनलाई बिहानै नुहाउनु पथ्र्यो। कहिलेकहीँ धेरै मानिसहरू हुँदा पालो कुरेरै ढिलो हुन्थ्यो। उनी भाँडाकुँडा धुनलाई खुट्टीखोला पुग्थिन्। वर्षौंसम्म उनले यस्तो अप्ठ्यारो खेप्नुपर्‍यो। घरमा धारा जडान भएदेखि उनले त्यो झन्झटबाट छुटकारा पाएकी छन्। 

लहान नगरपालिका–४ की लीलमदेवीले जस्तै लहान नगरपालिका–२४ मल्हनामाकी समुन्द्री सदायले पानी अभावले धेरै पीडा खेपेकी छन्। उनी पनि इनारकै पानीले सबै काम गर्थिन्। इनारमा भीड लाग्दा कहिलेकहीँ पानी पनि धेरै पाइँदैनथियो। दिनहुँ नुहाउन पाइँदैनथ्यो। आफ्नै घरमा धारा जडान भएदेखि उनी खुशी भएकी छन्।

‘कसैले नदेखोस् भनेर गाउँका पुरुष उठ्नुभन्दा अगाडि नै नुहाउनु पथ्र्यो। भाँडाकुँडा सफाइ गर्न पनि झन्झट हुन्थ्यो। इनार सुक्दा घर नजिककै सर्रे खोला पुग्नुपथ्र्यो,’ समुन्द्रीले भनिन्, ‘अब धेरै झन्झटबाट छुटकारा पाएको छु। नगरपालिका र संस्थाको सहयोगले धारा पनि सहुलियतमै जडान गर्न पाएका छौं।’ खानेपानी नियमित आउँदा अरू काम पनि समयमा गर्न भ्याएको उनले सुनाइन्। 

घरमा धारा भएदेखि जतिबेला मन लाग्यो त्यतिबेला पानी प्रयोग गर्न पाएको लीलमदेवीले बताइन्। ‘अब पानीको झन्झट छैन। मन लागेका बेला नुहाउन पाएको छु। सबै काम गर्न पाएको छु,’ उनले भनिन्, ‘दुःख सम्झेर पानी खेर फालेको छैन। सधैंं यस्तै पानी आइरहोस्।’ घरमै धारा भएपछि जातीय छुवाछूतको घटनाबाट जोगिएको उनले सुनाइन्। 

उनीहरू जस्तै लहान नगरपालिकाका धेरै गृहिणीहरू खानेपानीको सुविधा भएपछि खुसी भएका छन्। केही वर्षपहिले यहाँ खानेपानी संस्थानबाट पाउने पानी धमिलो, हिलो र समयमा नआएपछि आजित भएका स्थानीयले जडान गरेको धारा पनि फिर्ता गर्न कार्यालय पुग्थे। तर, अब दैनिक रूपमा सेवा लिने सेवाग्राहीको संख्या बढ्दै गएको छ। नेपाल खानेपानी संस्थान शाखा लहानका प्रमुख राज मानेका अनुसार अहिलेसम्म ४ हजार ९ सय ६८ धारा जडान भएको छ। 

लहान नगरपालिकामा २४ वटा वडा छन्। जसमध्ये १ देखि १० सम्ममा १०७ किलोमिटर खानेपानीले पाइप लाइन गरेर धाराहरू जडान गरिएका छन्। वडा नं. २४ मा पछिल्लो सेवा विस्तार गरेका छन्। त्यस वडामा अहिलेसम्म १०४ जनाले धारा जडान गराएका छन्। १० वटा बोरहलबाट खानेपानी प्रवाह भइरहेको प्रमुख मानेले जानकारी गराए। ‘अहिले वडा १३, १४ र १६ मा पनि खानेपानीको काम अन्तिम चरणमा पुगेको छ। विद्युत् अवरुद्ध नभएको बेला दिनको ८ देखि १० घण्टासम्म पानी सप्लाई भइरहेको छ,’ अब दैनिक रूपमा नयाँ धारा जडान गर्ने सेवाग्राही पनि आउन थालेका छन्।’

संस्थानले खानेपानी कतिको शुद्ध हो भनेर जाँच्न ल्याव स्थापना गरेको छ। प्रत्येक दिन १० जना ग्राहकको घरबाट ‘स्याम्पल’ ल्याएर चेक गरिन्छ। हरेक शुक्रबार पानी प्रवाह हुने बोरहलबाट स्याम्पल लिएर जाँच्ने गरिन्छ। तीन÷तीन महिनामा उच्चस्तरीय ल्याव जाँच गराउन काठमाडौंं पानी पठाउने गरिएको छन्। आइरन आएका बोरहलहरू बन्द गरेका छन्। धेरै पहिले सार्वजनिक ठाउँमा जडान गरेका धारा पनि अब आवश्यक नरहेका ठाउँबाट हटाउन थालेका छन्। 

सडक विस्तारको क्रममा केही ठाउँमा पानी प्रवाहमा सामान्य अवरुद्ध भएको संस्थान प्रमुख मानेले बताए। ‘पहिले सेवाग्राहीको गुनासो सुनेरै हैरान थियौं। अब राम्रो भएको छ। सुधार ल्याउनमा विकन परियोजनाबाट वाटर एड, दलित जनकल्याण युवा क्लब र लहान नगरपालिकाले सहयोग गरिरहेका छन्,’ उनले भने, ‘खानेपानी नपुगेका ठाउँमा पनि पाइप लाइन विस्तार सुरु भइसकेको छ।’

लालपुर्जा भएका व्यक्तिहरूलाई धारा जडानका लागि ६ हजार ३ सय ९० रूपैयाँ खर्च लाग्ने गरेको छ। जसमा ३ हजार धरौटी, ३ हजार २ सय २० राजस्व, ४० रुपैयाँ खानेपानी कार्ड र पहिलो महिनाको न्यूनतम शुल्क १२० रुपैयाँ लाग्ने गर्छ। लालपूर्जा नभएको सुकुम्बासीलाई धरौटी, राजस्व र कार्ड गरेर १० हजार १ सय १० रूपैयाँ लाग्ने गर्छ। न्यूनतम १ सय २० रूपैयाँमा सेवाग्राहीले १० हजार लिटर पानी पाउने गरेका छन्। त्यसपछि प्रतियुनिट २५ रूपैयाँ लाग्छ। एक युनिटमा १ हजार लिटर पानी हुन्छ।

दलित समुदायलाई धारामा सहुलियत

लालपूर्जा नभएको सुकुम्बासीहरू बढी दलित समुदायका छन्। त्यसैले उनीहरूलाई सहुलियत धारा जडान गरिएको छ। धारा जडानका लागि दलित जनकल्याण युवा क्लबले ३ हजार २ सय २० रुपैयाँ, नगरपालिकाले ३ हजार ७ सय २० सहयोग गर्ने गरेको छ। ३ हजार १ सय २० रूपैयाँ व्यक्तिलाई आफैं तिर्नुपर्छ। तर, जहाँजहाँ वडाले थप सहयोग गरेको छ त्यहाँ उनीहरूले निःशुल्कमै धारा पाएका छन्। 

लहान नगरपालिका २, ७ र १४ ले दलित समुदायमा धारा जडान गराउन सहयोग गरेको छ। वडा २ मा ६३ घर, वडा ७ मा २८ घर र वडा १४ मा ६३ घरले सहयोग पाएका छन्। उनीहरूलाई दलित जनकल्याणले धारा सामग्री पनि सहयोग गरेका छन्।

‘नगरका चुरेसँग जोडिएका वडाहरूमा खानेपानी समस्या छ। हामीले त्यहाँ खानेपानी संस्थानको सहकार्यमा आयोजना सञ्चालन गरी धारा जडान गर्न लागेका छौं,’ नगरप्रमुख महेशप्रसाद चौधरीले भने, ‘दलित समुदायलाई धारा जडानमा आर्थिक सहयोग पनि गरेका छौं। विस्तारै सबै वडामा खानेपानी पुर्‍याउने लक्ष्य लिएका छौं।’ वडा–१३, १४, २४, १८, १५, १६ र १७ मा काम भइरहेको उनले जानकारी गराए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.