रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने बन्द कार्यशाला शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ।
केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभाग सदस्यहरूलाई विभिन्न ६ समूहमा विभाजन गरी छलफल भइरहेको सह-प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यलाई रणनीतिकरूपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुई दिने बन्द कार्यशाला आयोजना गरिएको उनले बताइन्।
बन्द कार्यशालाबाट आएका सुझावहरूलाई पुनः छलफल गरेर निष्कर्ष निकाली पार्टीको भाबी रणनीति तय गर्ने रावललेले जानकारी दिइन्। कार्यशालामा विचार, संगठन, मूल्य मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियान लगाएत ६ वटा बिषयमा केन्द्रीत भएको रास्वपाले जनाएको छ।