अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा चुनिइन् कमला ह्यारिस
वासिङटन डिसी : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् ।
यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफू गौरवान्वित भएको कमला ह्यारिसले बताइन् ।
कमला ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् जसलाई प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट गरिएको छ।
यदि उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरिन् भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति पनि बन्नेछिन् ।
राष्ट्रपति जो बिडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राखेर कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेपछि ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु नपरेको बीबीसी समाचारमा उल्लेख छ।
कमला ह्यारिसले शुक्रबार दिउँसो २३५० डेमोक्रेटिक प्रतिनिधिको समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी हुन् ।