५२ वर्षीय वडाध्यक्ष कक्षा १२ उत्तीर्ण

५२ वर्षीय वडाध्यक्ष कक्षा १२ उत्तीर्ण

विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका खनालले पहिलो पटक सञ्चालित कक्षा ११ को शिक्षा संकाय अध्ययन सुरु गरेका थिए।

हेटौंडा : कक्षा १२ को परीक्षामा वडाध्यक्ष शिवप्रसाद खनाल उत्तीर्ण भएका छन्। पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरणलाई स्थापित गर्दै ५२ वर्षको उमेरमा उनले कक्षा १२ उत्तीर्ण गरेका हुन्। मकवानपुरको मनहरी गाउँपालिका— १ का वडाध्यक्ष खनाल आफ्नो छोराछोरीको उमेरका बालबालिकासँगै पठनपाठन गर्दै कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। हालै प्रकाशित कक्षा १२ को नतिजामा उनले २.४१ जीपीए प्राप्त गरे। उनले कक्षा ११ को परीक्षामा पनि २.५३ जीपीए प्राप्त गरेका थिए। 

बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत विद्यालयबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनको औपचारिक शिक्षा रोकिएको थियो। तर, उनै खनाल पढाइ छाडेको ३१ वर्षपछि गाउँकै बाल जीवनज्योति माविमा २०७९ मा कक्षा ११ मा भर्ना भएका थिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका खनालले पहिलो पटक सञ्चालित कक्षा ११ को शिक्षा संकाय अध्ययन सुरु गरेका थिए। शैक्षिक योग्यता नहुँदा विभिन्न अवसरबाट वञ्चित हुनु परेको महसुस गरी क्षमता अभिवृद्धि गर्न र अधुरा सपनालाई अघि बढाउन अध्ययनलाई निरन्तरता दिएको उनले बताए। ‘उतिबेला आर्थिक अवस्था कमजोर थियो। गाडीमा काम गर्न पाए पढ्न सजिलो हुन्थ्यो भनेर केही वर्ष काम गरें। एसएलसीसम्म त जसोतसो पास गरें। तर, एसएलसीभन्दा अगाडि जान सकिनँ’, उनले भने। 

बालबालिकाले आफूले जस्तै आर्थिक अभावको कारण अध्ययन छाड्नुपर्ने अवस्था नआओस् भनेर आफ्नै पहलमा गाउँमै कक्षा १२ सम्मको अध्यापन हुने प्रबन्ध मिलाएर आफू पनि भर्ना भएको उनी बताउँछन्। ‘बालबालिकालाई हौसला दिन आफू पनि भर्ना भएँ। संघर्ष त निकै गरेँ। तर, नतिजाले निकै उत्साहित बनाएको छ’, उनले भने। उनी विद्यालय पोसाकमै सकेसम्म नियमित विद्यालय जान्थे। 

‘त्यसबेला आर्थिक समस्याका कारण पढाइ रोक्नुपर्‍यो। पहिले र अहिलेको शिक्षामा धेरै भिन्नता भइसक्यो। अहिले शिक्षाबिना कुनै काम अघि बढाउन नसकिने महसुस गरेर कक्षा १२ को अध्ययन सुरु गरेँ, पास हुँदा निकै खुसी लागेको छ। शिक्षा अत्यावश्यक र महŒवपूर्ण छ। समाज परिवर्तनका लागि म उत्प्रेरकका रुपमा शिक्षालाई अघि बढाउन चाहन्छु’, उनले भने।

विद्यालय परिसरसँगै वडा कार्यालय छ। वडा कार्यालय र विद्यालयनजिकै भएको कारण पनि उनलाई पढ्न र वडाको काम गर्न सहज भएको हो। खनाल एकाबिहानै वडा कार्यालय पुग्छन्। ‘कक्षा सकिनासाथ पुनः वडा कार्यालयमै आएर बस्छन्। आपत्कालीन अवस्थामा वडा कार्यालयनजिकै छ। मेरो अध्ययनका कारण वडावासीलाई प्रवाह हुने सेवामा कुनै पनि कमी हुन पनि दिइनँ’, उनले भने, ‘बरु अझै पढेर गाउँमा शिक्षाको ज्योति छर्नेछु।’

२०७४ सालमा पहिलो पटक वडाध्यक्ष निर्वाचित भएपछि गाउँमा उच्च शिक्षा सञ्चालन गर्ने तयारी गरेको र २०७९ मा सो योजना पूरा भएको उनको भनाइ छ। ‘हामीले २०७३ चैतमा क्याम्पस सञ्चालनको उद्देश्य लिएर महायज्ञ लगाएका थियौं। त्यसबाट ९ लाख रुपैयाँ संकलन भएको थियो। सो पैसा बैंकमा मुद्दती खातामा राखेका थियौं’, उनले भने, ‘२०७९ मा सबै प्रक्रिया पूरा गरेर हामीले गाउँमै उच्चशिक्षा पढ्न मिल्ने वातावरण बनाएका थियौं। हामी गाउँमै स्नातक अध्यापन गराउने व्यवस्था मिलाउन प्रयासरत छौं।’ 

उनका दुवै जना छोराले भने यसअघि नै कक्षा १२ पास गरेर प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन्। ‘प्लस टु पास गर्ने इच्छा थियो। शिक्षा संकायमा कक्षा १२ पास भएँ। अब अध्ययनलाई अझै निरन्तरता दिनेछु’, खनालले भने। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.