असम्भवलाई सम्भवमा परिणत गरेर चीनले विश्व समुदायलाई विकास र समृद्धिको नयाँ परिभाषा दिएको छ।
उत्तरी सीमास्थित छिमेकी देश चीन भौगोलिक र जनसंख्याका हिसाबले विश्वकै दोस्रो ठूलो देश हो। दक्षिणी सीमास्थित छिमेकी देश भारतपछि १ अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको देश पनि हो चीन। भूगोलमा ठुलो रसिया, त्यसपछि ९६ लाख ४१ हजार १ सय ४४ वर्ग किलोमिटर क्षेत्रफल भएको दोस्रो ठूलो देश पनि।
एकदलीय कम्युनिस्ट शासन व्यवस्था भएको चीनको विशाल भूगोलसँग नेपाललगायत १४ अन्य देशको स्थलगत सीमा जोडिएको छ। १९औं शताब्दीदेखि २०औं शताब्दीको मध्यसम्म चीन, जापान र पश्चिमा जगत्का देशहरूको क्रीडास्थलको रूपमा चिनिन्थ्यो। बाह्य शक्ति केन्द्रको थिचोमिचो र चेपुवामा आजित चिनियाँ समाजले स्वतन्त्रता, भूमिरक्षा र स्वाभिमानका निम्ति दर्जनौं युद्धको सामना गर्नु परेको इतिहास छ। चीनमा विदेशी शक्तिको दबाबमा थियो, त्यसबेला चीनमा गरिबी, बेरोजगारी र असमानता व्याप्त थियो। गर्विलो इतिहास हुँदाहँुदै पनि चिनियाँ समाज साम्राज्यवादी साङ्लो जकडिनु पर्यो। जुन साङ्लो चुडाल्न चिनियाँहरूले धेरै दशक कुर्न परेको थियो।
सन् १९४९ को जनक्रान्ति सफल नहुनुअघि एक अवस्थामा रहेको चीन बितेका ७५ वर्षमा जादुमयी विकास गरेर संसारलाई चकित पार्न सफल भएको छ। भौतिक विकासका हिसाबले मात्र अगाडि छैन चीन, दैनिक उपभोग्य सामग्री उत्पादन र कृषि उत्पादनका हिसाबले पनि चीन विश्व बजारमा एकछत्र राज गरिरहेको छ। जल, जमिन, जंगल र जनसंख्यामा समृद्ध चीनको आन्तरिक व्यवस्थापन अझ लोभलाग्दो छ।
इच्छाशक्तिको जगमा वैभवशाली चिनियाँ समाज ः चीन अहिले चिनियाँको मात्र बजार होइन, चीनले आफूलाई विश्वको उद्योग र बजारको रूपमा स्थापित गरेको छ। विश्व अर्थतन्त्रमा रणनीतिक हिसाबले आफ्नो प्रभाव तीव्र पार्दै आइरहेको छ। चीनले चिनियाँ मोडेलअनुसार चीनको आधुनिकीकरण गर्दै विश्वमञ्चमा फरक पहिचान बनाउन सफल भएको छ। चिनियाँ समाजमा भएको अकल्पनीय विकास हेर्दा लाग्छ, सबै चिनियाँ जनता आधुनिक चीन निर्माणका वास्तविक कारिगर हुन।
चीनको विकास चिनियाँ जनताले नै गर्नुपर्छ भन्ने मान्यतामा दृढ चीनवासी सबै आफ्नो काममा व्यस्त देखिन्छन्। चीनको यूनान प्रान्तको वस्तुस्थितिको सन्दर्भमा होस् वा हेबई प्रान्तको वस्तुस्थितिको सन्दर्भमा होेस्, त्यहाँ अवस्थित सबै सहर, गाउँहरू एक पहिचान बनाएर बसेका छन्। कुनैले कृषि उत्पादनमा पहिचान बनाएका छन् भने कुनैले फलफूल व्यवसायको पहिचान बनाएका छन्। कुनै गाउँले माटाको भाडा र कुनै गाउँमा रहेको जमिनको ८० प्रतिशत भूभागमा बिरुवा रोपेर आफ्नो गाउँ र सहरको पहिचान बनाएका छन्।
चीनको कुनै सहर होस् वा कुनै गाउँ, एक गाउँ एक फरक काम गरेर आफ्नो पहिचान स्थापित गरेका छन्। चिनियाँ सरकारले गरेको विकासमा पनि कुनै विभेद देखिँदैन। सहरमा बनेको सडक र गाउँमा बनेको सडकमा कुनै भिन्नता देखिँदैन। चिनियाँ सरकारले सहर र गाउँमा प्रदान गर्ने शिक्षा, स्वास्थ्यलगायतका सेवामा कुनै भिन्नता नहुने हँुदा चीनका गाउँमा पनि जनताको आकर्षण छ। अझ गाउँ त सहरभन्दा पनि हराभरा देखिन्छन्। आफ्नो धर्मसंस्कार, संस्कृति, र परम्पराप्रति प्रतिबद्ध चिनियाँ समाजमा कुनै अन्य देशको प्रभाव देखिँदैन।
चिनियाँ भान्सामा चिनियाँ परिकार नै तयार हुने गरेको र खाने तरिका पनि चिनियाँ नै रहेको छ। चिनियाँ मूल्यमान्यता र आदर्शलाई चीन निर्माणको प्रमुख आधार मान्दै आधुनिक चीन निर्माण गर्न चिनियाँ जनता सफल भएको ठान्छन्। चीनमा हँुदै गरेको विकासको रफ्तार हेर्दा लाग्छ– चिनियाँ जनता काम गर्नैका लागि जन्मेका हुन्। असम्भवलाई सम्भवमा परिणत गरेर चीनले विश्व समुदायलाई विकासको नयाँ परिभाषा दिएको छ।
केही सम्भावना नभएको स्थानमा भौतिक विकास गरेर चीनले विश्व विकासको लयमा नयाँ चिनियाँ आयाम थप्न सक्षम भएको छ। जिम्मा पाएको काम अन्तरमनदेखि गर्ने बानीका कारण चीनले चाहेको लक्ष्य प्राप्त गरेको हो। ‘हामीले हार्न छुट छैन, हामीलाई नसक्ने छुट छैन’ भन्ने चिनियाँहरूको जुन आत्मअठोट छ। यो नै चीन निर्माणको हतियार हो। अनुशासन, लगनीशलता र मेहनतका पर्याय चिनियाँ नागरिकको इच्छा शक्ति नै वैभवशाली चीन निर्माण अभियानको जग हो। जग बलियो भएपछि घर त बलियो हुने नै भयो।
नागरिक स्वतन्त्रताको सबालमा चीन : चीनमा सन् १९४९ को जनवादी क्रान्ति सफल भएपछि चीनमा चिनियाँ कम्युनिस्ट पाटी (सीपीसी)ले शासन गरिरहेको छ। विशाल चीनमा अन्य कुनै राजनीतिक दल छैनन्, चिनियाँ कम्युनिस्ट पार्टीमात्र एक दल छ। चिनियाँ शासन व्यवस्थाले नै अर्को दलको कल्पना गरेको छैन। कम्युनिस्ट पार्टीको विधान नै चीनको संविधान हो। चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख नै देशको प्रमुख कार्यकारी रहने चिनियाँ व्यवस्था छ। चिनियाँ विशेषतासहितको वैज्ञानिक समाजवादको आधारमा चीनको विकास हुँदै आएको छ।
चिनियाँ विशेषतामा आधारित समाजवादी दृष्टिकोणमा चीनले लोभलाग्दो विकास गरिरहेको छ। आजको मितिमा चीनले गरेको विकास हेर्दा लाग्छ चीन सम्पन्नताको अर्को नाम हो। चीनलाई नबुझ्दा चीनप्रतिको आममान्यता छ कि चीनमा नागरिक स्वतन्त्रता छैन, मानवअधिकार छैन, नागरिकका पूरै अधिकार चिनियाँ सरकारको नियन्त्रणमा छ। चिनियाँ समाज पूरै बन्द समाज हो, जहाँ बोल्न पनि चिनियाँ कम्युनिस्ट पार्टीले दिँदैन। चीनले गरेको विकास कागजी मात्र हो, चीनमा नागरिक दुःखी छन् जस्ता भ्रम चीनको शासन व्यवस्थाप्रति व्याप्त सुनिन्छन्।
चीन हेर्न, बुझ्न र चीनबाट केही सिक्न पार्टीको तर्फबाट चीन भ्रमण गर्दा त्यहाँको समाजसँग प्रत्यक्ष संवाद गर्ने अवसर मिलेको थियो। २०१५ मा चीनको सिचुवानको भ्रमणपछि अहिले जुलाई २०२४ मा चीनको बेइजिङ, हेबई र युनान प्रदेशको भ्रमण गर्दा चिनियाँ समाजलाई धेरै बुझ्न पाइयो। चीनमा पुँजीवादी भनिने देशहरूको भन्दा विकास राम्रो र व्यवस्थित भएको देखिन्छ चीन सरकारले सबै नागरिकलाई योग्यता, क्षमताअनुसारको अनिवार्य कुनै न कुनै कामको व्यवस्था गरेको देखिन्छ।
चीनको बजारमा चिनियाँ नागरिकका निम्ति थुप्रै अवसर हुन्छन्। व्यक्तिले आफ्नो रुचिअनुसार छनोट गर्ने अधिकार त्यो व्यक्तिको निजी विषय हुन्छ। धेरै गर्न सक्छु भन्ने चिनियाँ नागरिकलाई धेरै गर्ने अवसर पनि चिनियाँ व्यवस्थाले दिएको र गर्न नसक्नेलाई चीनले सामाजिक सुरक्षामार्फत पालेको पनि छ। आरक्षण र सामाजिक सुरक्षाको सबालमा चीन धेरै अगाडि भएकाले नै चीनले विगत दुई दशकभित्र शतप्रतिशत गरिबी हटाउन सफल भएको हो। राजनीतिबाहेक अरू स्वतन्त्रता उपयोग गर्ने सबालमा चीन विश्वकै पहिलो व्यवस्थित देश चीन हो भन्ने पनि आधार बनाएको छ। सरकारी र निजी क्षेत्रलाई व्यवस्थित बनाएर देशको हितमा लगाउन सक्ने चीन सफल देश मानिएको छ। काम गर्ने समयमा व्यस्त काम नहुँदा मस्त रहने चिनियाँ नागरिकलाई कुनै स्वतन्त्रताको अभाव खड्केको देखिँदैन।
इतिहासको ऐना हेर्दै उठेको देश : चीनका गाउँ हुन् वा सहर, प्रत्येक ठाउँमा एक मन्दिर, एक संग्रहालय, एक पार्क र एक पोखरी अनिवार्य निर्माण गरेको पाइयो। जसले इतिहास बुझ्दैन, उसले वर्तमान जान्दैन भन्ने चिनियाँ मान्यता नै रैछ। विभिन्न कालखण्डमा चिनियाँ समाजमा भएको उतार चढाव र उथलपुथलका सबै घटनाक्रमलाई संग्रहालयमार्फत होस् वा मन्दिरमार्फत होस्, समाजलाई अहिलेसम्म पढाइरहेको छ। चिनियाँहरू धर्म मान्दैनन् भन्ने भाष्य पनि निराधार रहेछ। चिनियाँहरूले धर्मलाई समेत चीनका तत्कालीन शासकहरूको गाथासँग जोडेर वर्तमान समाजलाई झक्झक्याउने, सचेत गर्ने माध्यम बनाएका छन्। प्रायः सबै सहरमा बुद्धका ठूलाठूला मूर्तिहरू प्रशस्तै निर्माण भएका पनि देखिए। जुन मूर्तिहरूको उद्देश्य व्याख्या गर्दै चिनियाँ समाजलाई अनुशासित गर्दै आएको पाइयो।
चीनले कसरी आफूलाई विकसित बनायो ? ती सबै कुरा चीनले निर्माण गरेका विकासका संरचनाहरू हेर्दा स्पष्ट हुन्छ। चीनको इतिहास झल्काउने गरी ती निर्माण भएका छन्। जनवादी गणतन्त्र चीनले विगत ४० वर्षमा ८० करोड चिनियाँ जनतालाई चरम गरिबीबाट माथि उठाएको छ। कुनैबेला खानासमेत नपाउने चिनियाँ जनता आजको मितिमा एक घण्टामा एक चिनियाँ अर्बपति हुने अवस्था छ। यो कसरी सम्भव भयो भने चिनियाँ सरकार र जनताले भलिभाँती जानेका छन्।
यसको मूलमर्म भनेकै श्रमको महत्व र उपादेयता नै हो। चीनले आफूसँग भएको उपलब्ध स्रोत र साधनको समयानुकूल उचित प्रयोग गर्न जानेको छ। जहाँ जेको वैज्ञानिक सम्भावना छ, त्यसको उचित प्रयोग गरेको छ। त्यसबाट मनग्य आम्दानीसमेत गरेको छ। आजको आधुनिक चीनको विकास चिनियाँ विशेषताको आधारमा भएको भए पनि चीन समृद्धिको जग चिनियाँ विरासत नै मान्ने गरेको छ। चिनियाँ जनताले चीनको इतिहासको ऐनामा आफ्नो अनुहार हेर्दै अगाडि बढेकाले आजको सम्पन्न चीन हुन सफल भएको हो।
हेबई र युनान प्रदेशको समृद्धिसँग साक्षत्कार गर्दा : हेबई चीनको छैटौंं ठूलो जनसंख्या भएको प्रान्त हो भने युनान प्रान्त चीनको चौथो अति कम विकसित प्रदेश हो। यी दुवै प्रदेश भूपरिवेष्ठित प्रदेश हुन्। युनान प्रदेश प्राकृतिक स्रोतहरूमा धनी प्रदेश हो, चीनमा पाइने करिब ३० हजार प्रजातिका वनस्पतिमध्ये १७ हजार वनस्पति युनानमा पाइन्छन्। हेबई इस्पात उत्पादनमा चीनको प्रमुख प्रदेश हो भने युनान एल्युमिनियम, सिसा, तामा र निकेलको प्रमुख भण्डार केन्द्र हो। पछिल्लो एक दशकयता विकासको तीव्र रफ्तार समात्न सफल यी दुवै प्रदेशले नमुना गोप्य विकास गरेका छन्।
केन्द्र सरकारको प्राथमिकतामा परेका यी दुवै प्रदेशको विकास सी जिनपिङ विचारधारामा आधारित छ। चिनियाँ विशेषताको सहितको चिनियाँ समाजको विकास गर्ने र त्यसको व्यावहारिक कार्यान्वयनका निम्ति हेबईको छिङ्दाङमा नयाँ सहर निर्माण भइरहेको छ। यो सहर निर्माणधीन छ जसको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ।
यो सहरको निर्माणपछि विश्वले विकासमा एउटा फरक विकास प्राप्त गर्नेछ भन्ने चिनियाँ सरकारको दाबी छ। सी जिनपिङ विचारलाई चीनले तीव्र कार्यान्वयन गर्ने सबालमा हेबई र युनान प्रान्त पहिलो प्राथमिकतामा परेका छन्। यी दुई प्रदेशमा अर्बौं लगानीका धेरै एकीकृत योजना निर्माण भइरहेका छन्। समुदाय, सरकार, निजी क्षेत्र र चिनियाँ कम्युनिस्ट पार्टीको संलग्नतामा, सहकार्य र साझेदारीमा एकीकृत सहर निर्माण, एकीकृत कृषिजन्य वस्तु उत्पादन, एकीकृत फलपूmल उत्पादन, एकीकृत पर्यटन विकास र एकीकृत ऊर्जा उत्पादनजस्ता विकास निर्माण भइरहेका छन्।
चिनियाँ विशेषतासहितको वैज्ञानिक समाजवाद सम्भव पार्न चीन प्राथमिकताका साथ लागेको देखिन्छ। चीनले चिनियाँ विशेषताको वैज्ञानिक समाजवाद सफल पार्न केही नीति केही रणनीति अख्तियार गरेको देखिन्छ। गाउँलाई उठाउने सहरलाई दौडाउने र चीन समृद्ध बनाउँदै विश्वको केन्द्र भाग बन्ने। आन्तरिक अन्तरनिर्भरताको रणनीतिअनुसार गाउँपिच्छे फरकफरक विशेषता भएका योजना निर्माण भइरहेका छन्।
चीन विश्वसँग जोडिनका निम्ति बीआरआई परियोजनामार्फत मात्र होइन, चीनलाई उत्पादनको हबको रूपमा, निर्यातको हब र बिक्री वितरणको हबको रूपमा आफूलाई विकास गर्न चाहेको देखियो। हेबई र युनान प्रान्तमा पाँच वटा बहुआयामिक बन्धक क्षेत्रहरू विस्तार गरेको छ। जुन बहुआयामिक क्षेत्रहरूले छिमेकी देश भियतनाम, लाओस, म्यानमार र दक्षिणपूर्वी एसियाली देशहरूसँग व्यापार साझेदारी गर्दै आइरहेका छन्। चिनियाँ सरकारले आत्मजागरणसहितको समृद्ध चीन निर्माणका लागि कुनै कसर बाँकी नराखी लागेको छ।
नेपाल पनि चीनको प्राथमिकतामा परेको चिनियाँहरूको नेपालप्रतिको व्यवहारले देखाउँछ। नेपाल चीनले गरिरहेको समृद्धिसँग जोडिन सक्ने हो भने नेपालले पनि आउने एक दशकभित्र समृद्ध नेपाल र सुखी नेपालको आकांक्षालाई छिटो साकार पार्न सक्छ। चिनियाँहरूको नेपालप्रतिको सकारात्मक धारणालाई हामीले हाम्रो देशको विकासका निम्ति दोहन गर्न सक्नुपर्छ।