नाचगान गरेर जुटाएको रकमबाट सीसीटीभी क्यामेरा जडान

नाचगान गरेर जुटाएको रकमबाट सीसीटीभी क्यामेरा जडान

बेनी : म्याग्दीको बेनी नगरपालिका-४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन्। 

उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन्।  

नाचगान गरेर पाहुना र लाहुरेहरूबाट जुटाएको सहयोग रकमबाट सीसीटीभी क्यामेरा जडान, विश्रामस्थल, सडकबत्ती, फोहोर ब्यवस्थापन लगायतका काममा खर्च गरिएको उपल्लो तातोपानी टोल विकास संस्थाका अध्यक्ष मुक्तिप्रसाद जुग्जालीले बताए।  

अध्यक्ष जुग्जालीका अनुसार नाचगान गरेर जुटाएको २ लाख ८६ हजार र ७६ घरधुरीबाट १ हजार ५०० का दरले संकलन गरेको रकमबाट ४ लाख रुपैयाँ खर्चेर उपल्लो तातोपानी बजारको सुरक्षाका लागि हालै १६ ठाउँमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। 

सो सीसीटीभी क्यामेरामा एक महिना सम्मको आवाज सहितको भिडियोलाई भण्डारण गर्ने क्षमता रहेको छ। केही दिनअघि उपल्लो तातोपानीमा भएको चोरीको घटनामा संलग्नलाई सीसीटीभी क्यामेराको फुटेजका आधारमा तत्कालै पक्राउ गरेर प्रहरीलाई बुझाएको जलमाई भगवती आमा समूहका सचिव मिना जुग्जाली गर्बुजाले बताइन्।  

आमा समूह र टोल विकास संस्थाले गत तिहारमा देउसीभैलो खेलेर जुटाएको रकमबाट उपल्लो बजारदेखि तातोपानी कुण्डमा जाने सडकको डिलतर्फ रेलिङ र विश्रामस्थल बनाएका छन्। यसअघि सडक किनारामा फुलका बिरुवा रोपिएको र सडक बत्ति जडान गरेर उज्यालो पारिएको संस्थाका उपाध्यक्ष मिना पुन बुढाथोकीले बताइन्।  

उपल्लो तातोपानीमा बसोबास गर्ने सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिकहरूले हालै करिब ५ लाख रुपैयाँ खर्चेर २ वटा प्रतीक्षालय बनाएका छन्। सो प्रतीक्षालयबाट स्थानीयबासी, तातोपानीमा आउने पाहुना र बेनी-दरवाङ सडकमा यात्रा गर्ने यात्रुहरू लाभान्वित भएका छन्। कुण्डचोकमा सार्वजनिक शौचालय बनाउने योजना रहेको उपाध्यक्ष बुढाथोकीले बताइन्।  

बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वासका साथ गत वर्ष नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापान ४४ हजार जना भन्दा बढी स्नानका लागि तातोपानी आएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.