सरकारले देश र जनताका लागि नतिजामूखी काम गर्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं : उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताएका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलमा सिंहले पटक पटक सरकार परिवर्तनको खेलका कारण जनतामा निराशा छाएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि ठूला दुई दल मिलेर सरकार बनाएको दावी गरे। उनले वर्तमान सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने जिकिर गरे।
वर्तमान सरकारले देश र जनताका लागि नतिजामूखी काम गर्ने उनको भनाइ छ। सिंहले राजनीतिक स्थायित्व र स्थीरताको जगमा मुलुकको परिवर्तन गर्न ध्यान केन्द्रित गर्ने धारणा राखे। यस्तै उपप्रधानमन्त्री सिंहले देशभरका सहरी क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न नीतिगत सुधारका साथ अघि बढ्ने उल्लेख गरे।