हिमाली क्षेत्रमा पनि व्यावसायिक भैंसीपालन
जुम्ला : हिमपात धेरै हुन्थ्यो। हिउँ धेरै पर्ने भएकाले हिउँदका चार महिना पशुचौपाया पाल्नै कठिन। चरन क्षेत्र हिउँले ढाक्ने भएकाले घाँसको अभाव। चिसोका कारण हिउँदको समयमा पशुचौपायालाई बेंसीतिर झार्नुपर्ने बाध्यता थियो। अत्यधिक चिसोका कारण हिमालमा भैंसी जोगाउनै मुस्किल हुन्थ्यो। यस्तो अवस्थामा हिमाली क्षेत्रमा भैंसीपालन सहज थिएन। यहीकारण पनि यहाँका किसानले विगतमा भैंसी पाल्ने आँट नै गरेनन्।
तर पछिल्ला केही वर्षयता भने हिमाली क्षेत्रमा पनि व्यावसायिक भैंसीपालन हुन थालेको छ। अर्थात् हिमालमा पनि व्यावसायिक भैंसीपालन सम्भव भएको छ। कुनै बेला दूधको अभाव हुने हिमाली क्षेत्र विस्तारै दूधमा आत्मनिर्भर बन्न थालेको हो। यहाँका किसानले पनि भैंसीपालनबाट मनग्य आम्दानी गर्न थालेका छन्।
कर्णालीका हिमाली जिल्ला जुम्ला र कालीकोटका गाउँमा अहिले व्यावसायिक रूपमै भैंसीपालन गरेको देख्न सकिन्छ। पछिल्ला वर्ष विगतको तुलनामा हिमपात कम हुन थालेको, चिसोको घट्दै गएको, घाँसको व्यवस्थापनमा सहज भएको र गोठको सुधार गरिएकाले पनि भैंसीपालनमा सहज भएको किसान बताउँछन्।
जुम्लाको गुठीचौर गाउँपालिका–४ बिगारे गाउँ हिजोआज दूध उत्पादन हुने गाउँको रूपमा परिचित छ। यो गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमै भैंसी पालेका छन्। गाउँभरि भैंसीपालन भएपछि यस क्षेत्रमा उत्पादन हुने दूधले नै सदरमुकाम खलंगाको ७० प्रतिशत माग धानेको छ। भैंसीपालन सम्भव भएपछि यहाँका पुरुष मजदुरीका लागि भारत जान छाडेका छन्।
‘हाम्रा लागि भैंसी पाल्नु भनेको हात्ती पाल्नु जस्तै हो,’ स्थानीय लक्ष्मीकान्त देवकोटा भन्छन्, ‘हिमपात र चिसोले भैंसी जोगाउनै मुस्किल हुन्थ्यो, हिउँदमा घाँस खुवाउनै सकिन्थेन। यहीकारण पहिले भैंसी पाल्ने आँट नै गरेनौं, अचेल भैंसी पाल्न सजिलो हुन थालेको छ।’
जुम्लाको गुठीचौरस्थित बिगारे गाउँमा किसानले व्यावसायिक रूपमा पालेका भैंसी । तस्बिर : ललितबहादुर बुढा
पहिलाको तुलनामा हिउँ कम पर्ने गरेकाले आफूहरूलाई भैंसीपालनमा सहज भएको उनले सुनाए। लक्ष्मीकान्तसँग हाल ६ वटा भैंसी छन्। दुई वटा दुहुना छन्। उनले दैनिक २० लिटर दूध बेच्छन्। उनी भन्छन्, ‘भैंसी पालेपछि हाम्रा दिन पनि फेरिए, दूध बेचेरै महिनामा ५० हजार रुपैयाँ आम्दानी भइरहेको छ। दूधबाट आम्दानी हुन थालेपछि कमाउनका लागि भारत जान छोडेको ८ वर्ष भयो, अब भैंसी पालेरै गाउँमा दुःख गर्ने हो।’
कृषि प्राविधिक विष्णु शाहीले मंसिरदेखि माघसम्म जाडोका कारण भैंसीपालन गर्न कठिन हुने गरेको बताए। जाडोबाट भैंसीलाई जोगाउन आफूहरूले गोठलाई आधुनिक तरिकाले न्यानो बनाउने उपाय किसानलाई सिकाएको उनको भनाइ छ।
हिमाली जिल्ला जुम्लासँगै कालीकोटका किसानले पनि व्यावसायिक भैंसीपालन थालेको कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका प्रमुख बासुदेव काफ्लेले बताए। उनका अनुसार हाल जुम्लामा ८ समूहमा २ सय ३७ र कालीकोटमा ८ समूहमा २ सय १४ परिवारले व्यावसायिक रूपमा भैंसीपालन गरिरहेका छन्। उनले भने, ‘हिमाली क्षेत्रमा भैंसीपालन गर्न हामीले किसानलाई प्रोत्साहन गरिरहेका छौं, गोठ सुधार र भकारो सुधारमा सहयोग गरेका छौं। किसानलाई पोखरी निर्माण र घाँस काट्ने मेसिन पनि उपलब्ध गराएका छौं, नश्ल सुधारमा पनि सहयोग गरिएको छ।’
दूध उत्पादन गर्ने किसानलाई अनुदान
भैंसीपालनमा आकर्षित गर्न कर्णाली प्रदेश सरकारले पनि दूध उत्पादन गर्ने किसानलाई अनुदान दिन थालेको छ। कर्णालीका हिमाली पाँच जिल्लामा प्रतिलिटर १० रुपैयाँ र अन्य पाँच जिल्लाका किसानलाई प्रतिलिटर दूधमा ५ रुपैयाँका दरले अनुदान उपलब्ध गराउन थालिएको हो।
हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालीकोटमा दूध उत्पादन कम हुन्छ। यहाँको हावापानी चिसो हुने भएकाले भैंसीपालनमा कठिनाइ हुने गर्दछ। त्यसकारण पनि यहाँका किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्न प्रतिलिटर दूधमा प्रदेश सरकारले १० रुपैयाँ अनुदान दिँदै आएको छ। सरकारले दूधमा अनुदान दिन थालेपछि हिमाली जिल्लाका किसानले पनि व्यावसायिक रूपमा भैंसीपालन सुरु गरेका छन्।
त्यसैगरी सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिममा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।