हिमटीका आख्यान पुरस्कारका लागि ‘प्रहेलिका’ छनोट
अमेरिका : युवा स्रष्टा जेएन दाहालको उपन्यास ‘प्रहेलिका’ हिमटीका आख्यान पुरस्कारका लागि छनोट भएको छ। सन् २०१८ मा लामिटारे परिवारद्वारा स्थापित उक्त पुरस्कार तीन वर्षको अन्तरालमा लेखिएका उपन्यासमध्येबाट एक उत्कृष्ट कृतिका लागि प्रदान गरिन्छ।
भुटानी स्रष्टाद्वारा २०२४ सम्म लेखिएका उपन्यासहरू संकलन गरी ६ महिनाअघि परिषद्ले मूल्यांकन समितिलाई उपलब्ध गराइएको थियो। मूल्यांकन समितिले उत्कृष्ट ठहर गर्दै पुरस्कारका लागि सिफारिस गरेपछि प्रहेलिका छनोटमा परेको हो। ‘प्रहेलिका’ले युवाहरूमा उम्लिएको अपेक्षा, अन्तरजातीय प्रेम, यौनप्रतिको बढ्दो आकर्षण र समसामयिक सन्दर्भका साथै वर्तमान समाजको मनोविज्ञानलाई समेत गम्भीरताका साथ उठान गरिएको ठहर गर्दै समितिले पुरस्कारको लागि छनोट गरेको हो।
प्रहेलिकाको प्रकाशनले भुटानी नेपाली साहित्यका नयाँ लेखकहरूलाई ऊर्जा थपेको र सिर्जनात्मक कार्यमा लाग्न उत्प्रेरित गरेको परिषद्का सचिव खेम रिजालद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ।
आगामी अगस्ट १७ मा क्यानडाको विन्डसरमा हुने परिषद्को सम्मेलनमा प्रहेलिकाका लेखक दाहाललाई प्रमाणपत्रका साथै नगद पुरस्कारबाट समेत सम्मान गरिने विज्ञप्तिमा उल्लेख छ। नेपाली साहित्यको स्तरोन्नतिका लागि कलम चलाउने स्रष्टाहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले २०१८ मा विभिन्न पुरस्कारहरू स्थापना गरिएको थियो।