वाणिज्य बैंकहरूको नाफा ६४ अर्ब, खराब कर्जा भने अझै नियन्त्रण भएन

वाणिज्य बैंकहरूको नाफा ६४ अर्ब, खराब कर्जा भने अझै नियन्त्रण भएन

काठमाडौं : अघिल्लो आर्थिक वर्षदेखि नै खराब ऋणको भारले थिचिएका वाणिज्य बैंकहरूको गत आर्थिक वर्षमा पनि सोही अवस्था दोहोरिँदा नाफा अपेक्षाअनुसार बढाउन सकेनन्। आर्थिक वर्ष २०८०/८१ मा बैंकहरूको वितरणयोग्य नाफा प्रभावित हुँदा लाभांश क्षमता पनि नगन्य बाहेक प्रायः सबैको कमजोर छ। बर्सेनि खराब कर्जाको आकार बढ्दै जाँदा नाफासँगै लाभांश क्षमता पनि खुम्चिएको छ। 

आर्थिक वर्ष २०७८/७९ मा निस्क्रिय कर्जा औसत १.१५ प्रतिशत थियो। आव २०७९/८० मा एनपीएल बढेर औसत २.६७ प्रतिशत पुगेको थियो। यसपछि आव २०८०/८१ को चौथो त्रैमाससम्ममा औसत ३.७३ प्रतिशत पुगेको छ। यद्यपि गत आवको तेस्रो त्रैमासमा औसत एनपीए ३.८७ पुगेकोमा चोथों त्रैमासमा आइपुग्दा थोरै (०.१४ प्रतिशत विन्दु)घटाउन सफल भएको बैंकरहरू बताउँछन्।  

यसका वावजुद समग्रमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ बराबरको कुल नाफा कमाएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा औसत १३.४० प्रतिशत (७ अर्ब ५७ करोड रुपैयाँ) बढी हो। आर्थिक वर्ष (आव) २०७९/८० मा खुद नाफा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ कमाएका थिए। 

पूर्व बैंकर भुवनकुमार दाहाल बैंकहरूको हालत उत्साहजनक नभएको औंल्याउँछन्। उनका अनुसार केही बाहेक धेरै बैंकहरूको वित्तीय परिसूचक उत्साहजनक देखिँदैन। अर्थतन्त्रमा सुस्तता आएका कारणले नै बैंकको नाफादेखि लाभांशमा यस्तो स्थिति सिर्जना भएको उनको भनाइ छ। ‘अघिल्लो आवमा पनि बैंकहरूको नाफा धेरै कम थियो। यसपटक पनि खासै राम्रो होइन। बैंकहरूको पुँजी १० खर्बको छ तर ७० अर्ब रुपैयाँ पनि नाफा छैन भने यसलाई उत्साहजनक कमाई मान्न सकिँदैन। अझ वितरणयोग्य नाफा बिजोग देखियो,’उनले अन्नपूर्ण पोस्टसँग भने,‘अब अर्थतन्त्र चलायमान भए बैंकहरूको नाफा पनि बढ्ने अपेक्षा गर्न सकिन्छ।’

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले गएको आर्थिक वर्ष चुनौतीपूर्ण अर्थात अप्ठेरो अवस्थामा बैंकहरू गुज्रिनु परेको बताए। उनका अनुसार वर्षभर नै बैंकहरूसँग अधिक तरलता (लगानीयोग्य पूँजी) थियो। एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका संघका अध्यक्ष केसी भन्छन्, ‘यस्तो अवस्थामा कर्जाको माग त्यति भएन। निजी क्षेत्र प्रभावित हुँदा कर्जा कम जाँदा कुल कर्जा वृद्धि ५ प्रतिशत मात्रै भयो। यसअघिको वर्षमा ३ प्रतिशत भएको थियो। लिएका निक्षेपहरू पनि एकदम सस्तोमा सरकारको ट्रेजरी बिल्समा लगाउनु परेको थियो।’ 

१० बैंकको नाफा वृद्धिदर घट्दा १० को मात्रै सुधार

सञ्चालनमा रहेकामध्ये १० वटा वाणिज्य बैंकले नाफा बढाउन सकेका छैनन्। अघिल्लो वर्षको भन्दा नाफा घटाउने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, सानिमा, ग्लोबल आईएमई, माछापुच्छ्रे, एनएमबी, सिटिजन्स, नेपाल बैंक र एनआईसी एशिया बैंक रहेको छ। 

यसबीच सबैभन्दा बढि नाफा प्रभु बैंकले गरेको छ। सो बैंकले अघिल्लो आवमा २८ करोड मात्रै नाफा गरेकोमा गत आवमा बढाएर ४ अर्ब ४८ करोड रुपैयाँसम्मको नाफा बढाउन सफल भएको छ। यसपछि वार्षिक नाफा वृद्धि गर्नेमा कुमारी, प्राइम, कृषि विकास, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, नबिल, एभरेष्ट र नेपाल एसबीआई बैंक रहेको छ। 

नबिल, ग्लोबल र नेपाल इन्भेष्टमेन्टले अधिक नाफा कमाए

समग्रमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण केलाउँदा वर्षभर बढी नाफा कमाउने बैंकमा नबिल बैंक अगाडि छ। गत वर्ष नबिलले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा बैंकले १०.२३ प्रतिशत नाफा बढाएको छ। 

यस्तै, बैंकको लाभांश क्षमता पनि १४.२६ प्रतिशत रहेको छ। यसैगरी बढि नाफा गर्ने दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ कमाएको छ। तर सो बेंकको नाफा अघिल्लो आवको भन्दा १०.१३ प्रतिशतले कम हो। तर पनि बैंकले ३.०६ प्रतिशत लाभांश क्षमता बनाएको छ।

यसपछि बढि नाफा कमाउने तेस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले गत आवमा ५ अर्ब १९ लाख रुपैयाँ कमायो। यो अघिल्लो आवको भन्दा ३९.७१ प्रतिशत बढि नाफा हो। तर सो बैंकको लाभांश क्षमता भने बनाउन सकेन। यसपछि प्रभु बैंकले ४ अर्ब ४८ करोड नाफा गरेको छ। यसबाहेक ४ अर्बभन्दा कम ३ अर्बमाथि नाफा गर्नेमा प्राइम, एभरेस्ट, कृषि विकास, राष्ट्रिय वाणिज्य, स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, सिद्धार्थ बैंक रहेका छन्। 

यसबाहेक ३ अर्बभन्दा कम २ अर्ब माथि नाफा गर्नेमा हीमालयन, सानिमाा, एनएमबि, कुमारी, नेपाल एसबीआई बैंक रहेको छ। त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको नाफा डेढ अर्बभन्दा कम रहेको छ यसबाहेकका बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा कम छ। यसअनुरूप सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक रहेको छ। गत आव १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा मात्रै गरेको छ। 

यसै क्रममा नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन समग्रमा खासै सन्तोषजनक मात्रै रहेको बताउँछन्। उनका अनुसार ठूलो पूँजी अर्थात सबै बैंकहरूको अर्ब पूँजीको तुलनामा वार्षिक औसत १३ प्रतिशत मात्रै नाफा वृद्धि खासै केही होइन। उनी भन्छन्, ‘पूँजीको तुलनामा प्रतिफल न्यून। सबै बैंकहरूको वितरणयोग्य नाफा प्राय बैंकहरूको कम छ। 

नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)ले गर्दा वितरणयोग्य नाफा कम छ। यसले गर्दा सेयर होल्डरहरूले पाउने लाभांश कम छ।’ एनएफआरएस आउनुअघि बैंकहरूले जुन हिसाबले लाभांश वितरण गरेका थियो त्यसरी भने गर्न नसक्ने अवस्था रहेको उनले बताए। ‘अहिलेको अवस्थाको प्रतिविम्ब वित्तीय प्रतिवेदनमा आएकै हो। यद्यपि चालु आवमा नेपाल राष्ट्र बैंकले गरेको प्रोभिजनमा लचकताले भने आगामी वित्तीय प्रतिवेदनमा नाफा बढ्ने छ’, उनले अन्नपूर्णसँग भने। यस पटकसम्म प्राय सबै बैंकहरूको निस्क्रिय कर्जा खासै नियन्त्रणमा आउन नसकेको पनि उनले गुनासो गरे। 

यद्यपि अहिलेको अवस्थामा समग्र अर्थतन्त्र कमजोर हुँदा खराब कर्जा पनि बढेकाले प्रोभिजन बढाउनु पर्दा नाफा प्रभावित बनेको उनको भनाइ छ। अब भने चालु आवमा प्रोभिजनमा धेरै छुट्याउन नपर्दा नाफा बढ्ने उनको अपेक्षा छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.