दलाल पुँजीपतिले पार्टीलाई भुलभुलैयामा पारे : अध्यक्ष दाहाल

दलाल पुँजीपतिले पार्टीलाई भुलभुलैयामा पारे : अध्यक्ष दाहाल

विराटनगर : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई दलाल पुँजीपतिहरूले भुलभुलैयामा पारेको जिकिर गरेका छन्। 

उनले आफू, पदाधिकारी तथा कार्यकर्ताहरू दलाल पुँजीपति र विभिन्न गिरोहका कारण प्रदूषित भएको पनि स्वीकार गरे। विराटनगरमा मंगलबार बसेको माओवादी कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले दलाल पुँजीपति र विभिन्न गिरोहले पार्टीलाई भुलभुलैयामा पारेको भन्दै आत्मालोचना गरेका हुन्। 

‘आफू प्रदूषित भएकोमा आत्मालोचना गर्छु। ममात्रै होइन, पदाधिकारी र तपाईंहरू पनि प्रदूषित हुनु भएको छ,’ उनले भने, ‘जनयुद्धका बेलाका हजारौं ‘होलटाइमर’ कार्यकर्तालाई व्यवस्थापन गर्न हामी प्रहर्षित भयौं। तर, दलाल पूँजीपतिहरूको भुलभुलैयाका कारण पार्टीमा समस्या भयो।’ 

दलाल पूँजीपति र विभिन्न गिरोहले भुलभुलैयामा पारेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रदूषित बनाएको उनको आरोप छ। बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा माओवादी त्यति अनुभवी नभएको फाइदा दलाल पुँजीपतिहहरूले चलखेल गरेर उठाएको दाहालको स्वीकारोक्ति छ। 

माओवादी पार्टीको विभाजनका कारण आन्दोलनले अर्को मोड लिएको उनको भनाइ छ। आफ्नै कारण पार्टी विभाजन भएको उनले बताए। ‘हामीले विद्रोह कि चुनाव भन्ने कुरालाई छान्न सकेनौं। चुनाव पनि भन्यौं र विद्रोह पनि। चुनाव र विद्रोह सँगसँगै भन्नु नै माओवादी आन्दोलनको गल्ती भयो। जसका कारण साथीहरूले पार्टी विभाजन गर्नुभयो,’ दाहाल भन्छन्। 

पार्टी अध्यक्ष भएका नाताले सबै गल्तीको जिम्मा आफैंले लिने दाहालले बताए। क्यान्टोन्मेन्टमा जनमुक्ति सेना राखेर विद्रोह गर्छु भन्नु नै आफ्नो मुख्य गल्ती भएको उनको भनाइ छ। ‘त्यो गल्ती नगरेको भए साथीहरू फुटेर जाँदैन थिए,’ उनी भन्छन्, ‘विद्रोह नै भनेको भए हामी एक हुने थियौं।’ गल्ती गर्न नछाड्ने पार्टीको विशेषता भएको बताउँदै दाहालले गल्तीदेखि डराउने पार्टीले अगाडि बढ्न नसक्ने उल्लेख गरे। भने, ‘गल्ती गर्न डराउने पार्टीले प्रगति गर्न सक्दैन। तर, गल्ती थाहा पाएपछि आत्मालोचना गर्न पनि पछि परिँदैन। त्यही भएकाले हाम्रो पार्टी अरूभन्दा फरक छ।’ 

दाहालले विभाजनमा गएकासँग कुनै रिसराग नभएको भन्दै अब पार्टी एकताको कुरा अगाडि बढेको पनि बताए। उनले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोक्नु पनि माओवादी आन्दोलनको गल्ती भएको बताए। ‘गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोक्नु मेरो गल्ती भयो,’ दाहालले भने, ‘कोइरालालाई राष्ट्रपति हुनबाट रोक्नलाई ममाथि प्रेसर थियो।’

ब्यानरमा ‘प्रदेश १’ लेखेर बैठक 
माओवादी केन्द्र कोशी प्रदेशको सातौं पूर्ण बैठकको ब्यानरमा भने ‘प्रदेश १’ लेखिएको छ। माओवादीका प्रदेशसभा सदस्यसमेतको समर्थनमा तत्कालीन प्रदेश १ को नाम कोशी राखिएको थियो। २०७९ साल फागुन १७ गते माओवादीका सांसदले कोशी नामकरणको पक्षमा मतदान गरेका थिए। पार्टी अध्यक्षको निर्देशन र सहमतिमा कोशीको पक्षमा माओवादीका १२ जना सांसदले भोट हालेका थिए।

तर, कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै पहिचानको आन्दोलन उठेपछि माओवादीले पहिचान पक्षधरलाई साघाउँदै आएको छ। पहिचानको आधारमा प्रदेशको नाम राख्न माग गर्दै प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन थालेपछि माओवादीसहित कोशी प्रदेशको पक्षमा मतदान गरेका प्रदेशसभा सदस्यहरू निशानामा परेका थिए। 

त्यसपछि माओवादीले पहिचानको मुद्दामा समर्थन जनाएको दाबी गर्दै आएको छ। प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले पारित गरेको नाम भने माओवादीलाई स्वीकार गर्न समस्या भइरहेको छ। माओवादीले आफूलाई पहिचानको पक्षमा स्पष्टसँग उभ्याउन सकेको छैन भने कोशी नामकरणको पक्षमा पनि ढुलमुले व्यवहार देखाइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.