खुम्चिँदै माओवादी, चुलिँदै असन्तुष्टि

किन ओरालो लाग्यो माओवादी ?

किन ओरालो लाग्यो माओवादी ?

काठमाडौं : बेला यस्तो थियो– ढुंगै माओवादी, माटै माओवादी। सदन, सडक र सत्ता जता हेर्‍यो, उतै माओवादी। अर्थात् देश नै माओवादीमय थियो। कांग्रेस र एमाले जस्ता (संसद्वादी) दल त कति फुच्चे, कति फुच्चे। माओवादीको रापतापले रन्किएको थियो– २०६४ को पहिलो संविधानसभा।

नहोस् पनि किन ? माओवादीको आकार यति ठूलो थियो कि– कांग्रेस र एमाले मिल्दा पनि माओवादी जति नपुग्ने। सशस्त्र विद्रोह (बुलेट) छोडेर आएको माओवादी ‘ब्यालेट’ बाट पनि जनअनुमोदित थियो। संविधानसभामा एजेन्डा नयाँ, नेतृत्व नयाँ। जनतामा आशा र भरोसा उस्तै। तर, ‘रापताप’ अनुसार न संविधान निर्माणको नेतृत्व लियो, न सत्ता नै ‘ढंगले’ चलाउन सक्यो। न एजेन्डा बोक्न सक्यो, न जनताका पक्षमा काम गर्न सक्यो। उल्टै पहिलो संविधानसभामा ‘भाँडभैलो’ को अवस्था उत्पन्न भयो। संविधान नबनाई माओवादी नेतृत्वको सरकार (डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएकै बेला) संविधानसभा विघटन। दोस्रो संविधानसभा निर्वाचन गराउन ‘प्रधानन्यायाधीश’को नेतृत्वमा सरकार। 

पहिलो संविधानसभामा माओवादीलाई ‘हात्ती’ आकारमा पठाए पनि काम गर्न नसकेको भन्दै जनतामा तीव्र असन्तुष्टि र आक्रोश थियो। त्यसैकारण ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीको आकार जनताले निकै खुम्च्याइदिए। पहिलोबाट एकैपटक तेस्रो दलमा झर्‍यो माओवादी। त्यस यता माओवादी झन्–झन् खुम्चिँदै गएको छ। 

२०६२/६३ को दोस्रो जनआन्दोलन सफलता यताका १९ वर्षमा अधिकांश समय माओवादी सत्ता र शक्तिमा रह्यो। तेस्रो दलबाट भने माथि उठ्न सकेन। तेस्रो भए पनि कहिले कांग्रेस त कहिले एमालेको काँध चढेर सत्ताको स्वाद लिन थालेपछि दुई दल मिलेर हाल सरकार सञ्चालन गइरहेका छन्। ३२ सिटे माओवादी उछिट्टिएर प्रतिपक्षको बेञ्चमा पुगेको छ। ०६४ को पहिलो संविधानसभामा २२९ सिट जितेको

माओवादी ०७० को निर्वाचनमा ८३ 

सिटमा सीमित भयो। ०७४ को प्रतिनिधिसभा चुनावमा ५३ सिटमा खुम्चिएको माओवादी ०७९ मा ३२ सिटमा झर्‍यो। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ जनतासँग एक प्रकारले सम्बन्ध विच्छेद गरेकाले माओवादी कमजोर हुँदै गएको बताउँछन्।

‘सत्तामा पुगेपछि जनताबाट टाढियो,’ श्रेष्ठ भन्छन्, ‘जनताको मुद्दा लिएर माओवादी सडकमा वा सरकारमा भएको भए लोकप्रिय हुन्थ्यो। सरकारमा माओवादीले गतिलो काम गर्‍यो भन्ने पनि छैन। सडकमा हुँदा पनि माओवादी जनताको मुद्दा लिएर आएन। यसै कारणले माओवादी झन्–झन् खुम्चिँदै गयो।’ माओवादी भित्रको भ्रष्टीकरणले पनि झन्–झन् कमजोर बन्दै गएको उनको भनाइ छ। 

माओवादी अब सक्किने कि सच्चिने ?
०७९ को निर्वाचनबाट जम्मा ३२ सिट जिते पनि माओवादी डेढ वर्ष जस्तो सत्तामा रह्यो। कहिले कांग्रेसको सहयोगमा त कहिले एमालेको वैशाखीमा। माओवादी अध्यक्ष प्रचण्डले ‘३२ सिट’को जादु आफूसँग रहेको बताएका थिए। तर, त्यो जादु धेरै टिकेन। डेढ वर्षमा प्रचण्डले चारपटक विश्वासको मत लिए। असार २८ गते चौथो पटकमा भने असफल भए। अनि माओवादी सदनको प्रतिपक्षी दल बन्न पुग्यो। गएको दुई दशकमा माओवादी दोस्रोपटक सत्ता बाहिर पुगेको हो। ०७२ सालमा पनि केही महिना माओवादी सत्ता बाहिर पुगेको थियो।

‘अब माओवादी सकिने कि सच्चिने ? भन्ने प्रश्न आयो। माओवादीको भेषमा रहेका खाओवादीहरूको छानबिन गरी कारबाही गरिनुपर्छ अनि मात्रै पार्टी स्वच्छ बन्छ।’

सत्ता बाहिर आएको माओवादी ‘सक्किने कि सच्चिने’ भन्ने बहसमा छ। हालै पाँच दिनसम्म चलेको पदाधिकारी बैठकमा नेताहरूले विस्तृत रूपमा पार्टीभित्रका समस्या, जनताको मुद्दा, पार्टीको विचार, सिद्धान्त र अन्तर्राष्ट्रिय परिस्थितिबारे पार्टी अध्यक्षलाई ध्यानाकर्षण गराएको उपमहासचिव गिरिराजमणि पोखरेलले बताए।

माओवादीले पार्टीको विशेष महाधिवेशन गर्ने तयारी पनि गरेको छ। पदाधिकारी, स्थायी समिति, केन्द्रीय कमिटी, केन्द्रीय निकायहरू हुँदै विशेष महाधिवेशनमा जाने पदाधिकारी बैठकमा छलफल भएको थियो। उपमहासचिव पोखरेल भन्छन्, ‘माओवादीको अबको बाटो के ? भन्ने विषयमा मार्ग चित्र बनेपछि विशेष महाधिवेशन हुन्छ। स्थायी कमिटी र केन्द्रीय कमिटीले त्यो मार्ग चित्र बनाउँछ। यसका लागि दस्तावेजहरू बनाउँछौं।’ 

बैठकमा अर्का उपमहासचिव हरिबोल गजुरेलले तोकिएको भन्दा धेरै संख्यामा पदाधिकारी मनोनयन गरेकोमा आपत्ति नै जनाए। उनले हालका पार्टी पदाधिकारी र कमिटी विघटन गरेर नयाँ ढंगले जान पार्टी नेतृत्वलाई आग्रह गरेका थिए। उपमहासचिव पोखरेल भन्छन्, ‘विधान अधिवेशनबाट हामीले विधान बनायौं। विशेष महाधिवेशनबाट चुन्ने र चुनिने प्रक्रिया लागू हुन्छ।’ अब बन्ने पार्टीको दस्ताबेजबारे माथिल्लो कमिटीका नेताहरू मात्रै बोलेर नपुग्ने पोखरेल बताउँछन्। ग्रासरुटसम्म छलफल र बहस गर्नुपर्ने उनले बताए। 

अब कता जान्छ माओवादी ?
सत्ताबाट बाहिरिएपछि अब माओवादीको भूमिका संसद् र सडकमा कस्तो हुन्छ ? राजनीतिक वृत्तमा बहस सुरु भएको छ। माओवादी भने आफ्ना विचार, सिद्धान्त, एजेन्डा र अब के गर्ने ? बारे छलफलमा जुटेको स्कुल विभाग प्रमुखसमेत रहेका उपमहासचिव पोखरेल बताउँछन्। ‘नेपाली विशेषताको समाजवादका बारेमा पार्टीभित्र छलफल हुन्छ’, उनी भन्छन्, ‘कार्यकर्तामा आधारित पार्टी बनाउने भनेका छौं। पहिला क्याडरबेस कार्यकर्तामा आधारित पार्टी थियो। अब मासबेस क्याडर पार्टी बनाउने नीति लिएका छौं।’ 

उनका अनुसार शान्तिपूर्ण ढंगबाट जनआन्दोलन र प्रतिस्पर्धाको बाटोबाट समाजवादतिर जाने पार्टीले उद्घोष गरिसकेको छ। आउँदो निर्वाचनमा माओवादीले एक्लै चुनावमा जाने निर्णयसमेत गरेको छ। 

‘०८४ को चुनाव पनि हाम्रो अगाडि छ। आफ्नै खुट्टामा उभिने गरी पार्टी निर्माणको प्रक्रियामा जान्छौं’, स्कुल विभाग प्रमुख पोखरेल भन्छन्। समाजवादको आधारहरू तयार गर्ने, अहिलेसम्मका उपलब्धिलाई रक्षा गर्ने, राष्ट्रियताको रक्षा गर्ने, शान्ति प्रक्रियाको कामलाई पूरा गर्ने र सामाजिक, सांस्कृतिक, आर्थिक रूपान्तरणको कामलाई मुख्य काम बनाउने गरि अघि बढ्न खोजेका छौं।’ नेपाली राजनीति र पार्टीहरू गम्भीर मोडमा पुगेको नेता पोखरेलको बुझाइ छ। 

‘विश्व राजनीतिको प्रभाव नेपालमा परेको छ। यसैको वरिपरि माओवादी नेतृत्वको सरकार ढालिएको हो’, उनी भन्छन्, ‘यी सबै पक्षलाई लिएर जनता र कार्यकर्ताहरूमा जान्छौं।’ मुद्दाको दृष्टिकोणले जनतामा जाने र पार्टी निर्माणको दृष्टिकोणले कार्यकर्तामा जाने पार्टीको योजना रहेको उनी सुनाउँछन्। माओवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले संसद्मा माओवादीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। ‘अब हामी जनताको पक्षमा सदनलाई प्रभावकारी बनाएर अगाडि जान्छौं,’ सापकोटाले भने। 

माओवादी कमजोर हुनुको यस्तो छ कारण 
शान्ति समझौतायता माओवादी निरन्तर सत्ता र शक्तिमा छ। तर, माओवादी निरन्तर कमजोर, भ्रष्टीकरण, सिद्धान्त र विचारविहीन र प्रभावहिन बन्दै गएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। 

उनका अनुसार भन्नका लागि मात्रै माओवादीसँग विचार र सिद्धान्त भयो। उसले सिद्धान्त अनुसारको व्यवहार गरेन। समाजवादी सिद्धान्त अपनायो। तर, समतामूलक शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा कामै गरेन। उनी भन्छन्, ‘धनीका लागि एक खालको स्कुल र अस्पताल छ, गरिवका लागि अर्को खालको छ। यो भनेको वर्गीय विभाजन हो। समाजवादले त्यस्तो त भन्दैन। माओवादीले भट्याउने एउटा कुरा, गर्ने अर्को कुरा भयो।’

सर्वसाधारण जनताको मुद्दा लिएर देशमा बोल्ने पार्टी नै नरहेको उनी सुनाउँछन्। ‘जनता र देशलाई जहाँनिर दुःखेको छ त्यहाँ समात्ने नेता र पार्टी नै भएन। त्यो पार्टी भएर माओवादी निस्कन सक्छ त ?’ त्यो कुरामा उसले पुनर्विचार गर्नुपर्ने बताउँदै उनी थप्छन्, ‘माओवादी पार्टीभित्र सिद्धान्त र व्यवहार बीचको जो अनमेल छ त्यो ठूलो परिमाणमा छ। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्व गरेको ३५ वर्ष बढी भयो। पार्टीको एकल नेतृत्व प्रचण्डको हातमा रहेकाले पार्टीभित्र तीव्र असन्तुष्टि पनि छ। साउन १७–२२, २०८० मा भएको केन्द्रीय समितिको चौथो बैठकमा पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाउँदै विधि र नीति मिचिएकाले पार्टी ‘सकिने बाटो’मा रहेको चर्को कुरा उठेको थियो।

यता पार्टीका बौद्धिक नेता भनेर चिनिने पोखरेल शान्ति प्रक्रियाको पहिलो दिनदेखि आर्थिक रूपान्तरणको कामलाई मुख्य एजेन्डा बनाउन नसक्नु ठूलो कमजोरी भएको बताउँछन्। ‘आत्मनिर्भर अर्थतन्त्र बनाउने दिसामा  सँंगसँगै जान सकिएन। हाम्रो ध्यान अलि बढी राजनीतिमा गयो। संक्रमण काललाई छोट्याउँदै मुलुकलाई संविधान दिने कुरा तिर लाग्यौं’, उनी भन्छन्, ‘आर्थिक रूपान्तरणको महाअभियान चलाउनु पर्थियो त्यहाँ कमीकमजोरी भयो।’
उत्पादनको क्षेत्रमा काम गर्न अभियान नचलाइकन नहुने ठाउँमा पार्टी पुगेको उनी जिकिर गर्छन्। उनी सुनाउँछन्, ‘समाजवादको आधार तयार गर्नु भनेको सामाजिक न्याय, सुशासन र समृद्धिसँग सबै पक्षलाई जोड्दै देशभित्रै रोजगारी दिने गरि जानुपर्छ।’

एमाले पार्टीसँग एकीकरण गर्नेदेखि चुनावअघि नै गठबन्धन गर्ने निर्णयका कारणले पार्टी कमजोर भएको पार्टीको निष्कर्ष छ। ‘चुनाव अगाडि गठबन्धन गर्नु ठीक थिएन। नेकपाको कडीलाई जोड्न एमालेसँग मिलेर सरकार बनायौं, त्यहाँ पनि धोका पाइयो’, पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, ‘अहिले आफ्नो शक्ति बनाउने, पार्टी बनाउने, जनआधारलाई सुढृढ गर्ने र सदनमा सशक्त प्रतिपक्षको भूमिका खेल्ने निर्णय गरेका छौं।’

भ्रष्टीकरणको दिशामा नेता–कार्यकर्ता

भ्रष्टाचार जस्ता कुशासनको विरुद्ध ‘टाउकोमा कफन बाँधेर’ युद्ध लडेका माओवादीहरू सुन कान्डमा मुछिए। छोरालाई बचाउन नेताहरू लागे। भ्रष्टाचार, चाकरी र परिवारवादले माओवादी गन्हाएको फेरि सुनाउँछन् राजनीतिक विश्लेषक श्रेष्ठ।

‘माओवादीभित्र भ्रष्टीकरण, दलालीकरण चरम रूपमा देखा परेको छ। एक थोकमा मात्रै होइन धेरै थोकमा यस्तो रोग देखा परेको हो’, श्रेष्ठ भन्छन्, ‘सुन कान्ड, भुटानी शरणार्थी कान्डमा माओवादी नेताहरूका परिवारजनहरू नै संलग्न रहेको भेटियो। पक्राउ परेका छोराहरूलाई बचाउका लागि बाउहरू ने लागेको त छर्लंगै देखियो। यस्ता देखा नपरेको भित्र—भित्रै कति होला।’  

फागुन ३, २०८० मा सम्पन्न विधान सम्मेलनबाट पार्टीभित्र शुद्धीकरण अभियान चलाउने माओवादीले नीति लिने अधिवेशनबाट निर्णय गरेको थियो। निर्णय गरेको ६ महिना बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन। पार्टीका भ्रष्ट नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्ने कुरा बैठकमा चर्को रूपमा उठेको थियो। पार्टी नेतृत्व सरकारमा गएकाले पार्टीको शुद्धीकरण अभियान प्रभावित भएको माओवादी नेता माधव सापकोटा दाबी गर्छन्। उनी भन्छन्, ‘अब छिट्टै पार्टीको बैठकमा शुद्धीकरणबारे छलफल हुन्छ।’

माओवादीभित्र कसरी पस्यो खाओवादी ?

चैत ३, २०८० सम्पन्न भएको विधान अधिवेशनमा माओवादी भित्रको भ्रष्टीकरणबारे चर्को बहस भएको थियो। त्यो बेला अधिकांश नेता/कार्यकर्ताले पार्टीभित्रका खाओवादीले गर्दा पार्टी बदनाम भएको टिप्पणी गरेका थिए। केन्द्रीय सदस्य भवानी खड्का पार्टीमा माफिया, दलाल, पुँजीपति वर्गको घुसपैठ भएको बताउँछिन्।

‘जसविरुद्ध लड्नुपर्ने थियो। उनीहरू नै हावी भएपछि पार्टीमा एक किसिमले क्यान्सर नै लाग्यो’, खड्काले भनिन्, ‘अब माओवादी सकिने कि सच्चिने ? भन्ने प्रश्न आयो। माओवादीको भेषमा रहेका खाओवादीहरूको छानबिन गरी कारबाही गरिनुपर्छ अनि मात्रै पार्टी स्वच्छ बन्छ।’ पार्टी निर्माणको आधार, बाटो र भविष्य निर्धाण गर्न नयाँ सिराबाट नेतृत्व हिँड्न सक्नुपर्ने उनको भनाइ छ। 

पहिला कार्यकर्तामा आधारित क्याडरबेस पार्टी थियो। अब मासबेस क्याडर पार्टी बनाउने नीति लिएका छौं।
- गिरिराजमणि पोखरेल, उपमहासचिव 


पार्टीलाई रूपान्तरित, गतिशील, जनतासँग जोडिएको जीवन्त पार्टी बनाउनुपर्छ। सबै नेताहरू जनता र पार्टीतिर फर्किनुपर्छ ।
- माधव सापकोटा, युवा नेता

हालका पार्टी पदाधिकारी र कमिटी विघटन गरेर नयाँ ढंगले जानुपर्छ। पार्टी विधि र पद्धतिमा नगएसम्म उँभो लाग्न सक्दैन।  
- हरिबोल गजुरेल, उपमहासचिव

शान्ति प्रक्रियापछि माओवादी मूलधारमा आयो। त्यसपछि पार्टीबाट एकपछि अर्को नेताहरू ‘प्रचण्ड पथ’का कारण बाहिरिए। जो लामो सशस्त्र संघर्षबाट आएका थिए। बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, मोहन वैध जस्ता वरिष्ठ क्रान्तिकारी नेताले प्रचण्डको साथ छोडे। त्यसपछि माओवादीमा दलाल, पुँजीपति वर्ग, माफियाहरूले प्रवेश पाएका थिए। 

पार्टीभित्रका इमान्दार, निष्ठावान् नेता/कार्यकर्ताहरू ओझेलमा परे। अनि पार्टीमा दलाल र पुँजीपति वर्गको हावी भएको त्यो बैठकमा चर्चा चुलिएको थियो। पार्टीभित्रैका भ्रष्टाचारी, मिटरब्याजी, क्रसर माफिया र स्वार्थी समूहलाई कार्यकर्ताहरूले खाओवादीको संज्ञा दिँदै आएका छन्।

अर्का केन्द्रीय सदस्य राजु खड्का भन्छन्, ‘शान्तिकालमा आएपछि माओवादीको चरित्रमाथि नै प्रश्न उठेको छ।’ माओवादीले वर्गीय राजनीति र विचार छोडेकाले ओरालो लागेको उनले बताए। उनले भने, ‘माओवादीले पछाडि फर्केर आफ्नै विगत र कामलाई आलोचनात्मक ढंगले संश्लेषण गर्नुपर्छ।’

प्रचण्ड किन जनतामा जान चाहन्छन् ?

जनतासँगको टुटेको सम्बन्धको कडी जोड्का लागि माओवादी पार्टी अध्यक्ष प्रचण्ड देशभरि जाने मनसाय बनाएका छन्।  ‘म एकपल्ट देशैभरि गएर जनतासित एकाकार हुन चाहन्छु।  जनताको सुःख दुःख बुझ्ने, सुन्ने इच्छा छ’, पदाधिकारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले बोलेको कुरालाई उद्दृत गर्दैपार्टी प्रवक्ता अग्नि सापकोटा भन्छन्, ‘परिस्थिति असाध्य जटिल र पेचिलो छ। एक खालको सन्देश दिएर हामी सरकार छोडेका छौं।’

 null

नेता पोखरेल जनतामा माओवादीले गरेका कामहरू प्रचार गर्न पार्टीले अभियान चलाउने बताउँछन्। उनका अनुसार संविधान बनाउनेदेखि सरकारमा हुँदासम्म माओवादीले गरेका सुशासन, सामाजिक न्याय, समृद्धि, विकासबारे जनताका माझमा छलफल गरिनेछ।

यस्तै, लोडसेडिङ अन्त्यदेखि  शिक्षा, स्वास्थ्यको क्षेत्रमा गरेको रूपान्तरण, स्वास्थ्य बिमा, निःशुल्क शिक्षा ऐन, मौलिक हकको काममा बारे जनतामा प्रचार गरिने उपमहासचिव पोखरेलले बताए। उनी भन्छन्, ‘हामीले गरेका राम्रा काम र कमीकमजोरीलाई लिएर जनतामा जान्छौं। जनताको कुरा सुन्ने हो। गल्ती भएको छ भने आत्मलोचना गर्ने हो।’

अन्तर्घातको रोगले थलियो माओवादी

अन्तर्घातको रोगले माओवादी कमजोर मात्रै बनेको छैन। एक प्रकारले थला नै परेको छ। पार्टी भित्रको गुट उपगुटले पार्टी संरचना नै कमजोर बनेको छ। त्यसको असर गत निर्वाचनहरूमा प्रसस्त देखियो।

०७९ सालमा सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा माओवादी भित्रैबाट घातअन्तर्घात भएको पार्टीको बैठकले नै निष्कर्ष निकालेको थियो। छानबिन समितिले पनि प्रतिवेदनमा उल्लेख गरेको छ। तर, पनि पार्टी नेतृत्व पंक्ति दोषीलाई कारबाही  कदम चालेको देखिँदैन। 

स्थानीय तहको चुनावमा घातअन्तर्घात गर्नेहरूमाथि छानबिन समिति गठन भएर पार्टी अध्यक्ष प्रचण्डलाई ०७९ भदौं ६ गते प्रतिवेदन पनि दिएको थियो। तर, त्यो दराजमा थन्काइएको छ। छानबिन समितिका संयोजक टंक राईले बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले विपक्षी पार्टीका उम्मेदारसँग मोटो रकमको ‘लेनदेन’ गरेर आफ्ना पार्टीको उम्मेदवारलाई पराजित गरायो।’ 

एक वर्ष बित्न लाग्दा पनि त्यो प्रतिवेदनमाथि पार्टी अध्यक्षले कारबाही बढाएको छैन। यसले पनि इमान्दार कार्यकर्ताहरूको मनोबल खस्किएको केन्द्रीय सदस्य राजु खड्का बताउँछन्। अनुशासनको बाँध भत्काउनेहरूलाई पार्टीबाट निष्कासन गर्नसम्मको सिफारिस गरेको थियो। 

त्यसैगरी ०७९ मंसिर ४ मा भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि स्थानीय तहको निर्वाचनमा पार्टीमा लागेको अन्तर्घातको पुरानै रोग झनै बल्झिएको थियो। जित्ने धेरै ठाउँमा माओवादीले पराजयको सामना गर्नु परेको थियो।

माघ २१, २०७९ मा भएको पार्टी बैठकले संसदीय निर्वाचनमा नेता तथा कार्यकर्ताहरू विपक्षीसँग आर्थिक लेनदेन गरेर पार्टीलाई कमजोर बनाइरहेकाबारे निष्कर्ष निकालेको थियो। अन्तर्घातीहरूलाई कारबाही गर्न पार्टी कार्यालय पेरिसडाँडामा अझै पनि उजुरीको चाङ छ। अन्तर्घातको विषयमा अध्ययन गर्न नेताहरूको टोली जिल्ला तहमै खटाइने भनिएको थियो। त्यो पनि कुरैमा सीमित भयो।

एकल नेतृत्व, चुलिँदो असन्तुष्टि

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्व गरेको ३५ वर्ष बढी भयो। पार्टीको एकल नेतृत्व प्रचण्डको हातमा रहेकाले पार्टीभित्र तीव्र असन्तुष्टि पनि छ। साउन १७–२२, २०८० मा भएको केन्द्रीय समितिको चौथो बैठकमा पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाउँदै विधि र नीति मिचिएकाले पार्टी ‘सकिने बाटो’मा रहेको चर्को कुरा उठेको थियो। प्रचण्डले नेताहरूलाई फकाए, अन्तिममा ‘प्रचण्ड’ जिन्दावाद, ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड–लालसलाम’ भन्दै नारा लगाएर नेताहरू बाहिरिएका थिए।

राजनीतिक विश्लेषक श्रेष्ठ राजनीतिक दलको विगत सुनाउँदै भन्छन्, ‘सबै पार्टीमा बर्सौंदेखि एकल नेतृत्व छ। एकल नेतृत्व नेपालको रोग नै हो। नयाँ पुस्ताका मान्छेलाई नेतृत्वमा आउनै दिइँदैन। यो गम्भीर समस्या हो।’ यो सबै पार्टीको साझा समस्या रहेको उनी सुनाउँछन्। 

माओवादीमा प्रचण्डको विकल्प खोज्न बहस उठेको ? भन्ने प्रश्नमा माओवादीका केन्द्रीय सदस्य माधव सापकोटा भन्छन्, ‘राम प्रसादको ठाउँमा श्यामप्रसाद फेरेर पार्टीभित्रको तमाम समस्या हल हुँदैनन्। व्यक्ति परिवतर्नको कुरा सहायक कुरा हो।’ 

आजको आवश्यकता र सन्दर्भमा माओवादीले आफ्नो विचारलाई कसरी हाइलाइट  गर्न सक्छ, विकसित तुल्याउन सक्छ ? भन्ने कुरामा मुख्य छलफलको विषय रहेको  नेता सापकोटा बताउँछन्। ‘पार्टीलाई रूपान्तरित, गतिशील, जनतासँग जोडिएको जीवन्त पार्टी बनाउनुपर्छ। सबै नेताहरू जनता र पार्टीतिर फर्किनुपर्छ’, उनी भन्छन्, ‘जनताका आलोचना र गुनासोहरूलाई सुन्ने र जनताको भावनाअनुसार पार्टीलाई रूपान्तरित बनाएर  अगाडि जानुपर्छ।’ 

विचार मिल्नेसँग पार्टी एकीकरण गर्ने 

माओवादीले शक्ति आर्जन गर्नका लागि समाजवादी मोर्चाको सहारा लिने रणनीति तय गरेको छ। समाजवादी मोर्चालाई बलियो बनाउँदै विचार मिल्नेसँग सहकार्य गर्दै पार्टी एकीकरण गर्ने रणनीति माओवादीले लिएको छ। पार्टीका केन्द्रीय सदस्य माधव सापकोटाका अनुसार विचार, कार्यशैलीसँग सहकार्य गर्दै माओवादी जान्छ। खासमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, आवश्यकताअनुसार मोर्चालाई एकतामा समेत लैजाने तयारी गरिन्छ।

‘दायरालाई फराकिलो बनाउँदै वामपन्थीहरूलाई मूलधारको पार्टी बनाउनुपर्छ। विचार मिल्नेसँग सहकार्य गरे पार्टी एकता गर्दै जान्छौं। अर्कोतिर पार्टीभित्रका खराब प्रवृत्ति, आचरणका विरुद्ध निर्ममतापूर्वक आत्मसमीक्षा गर्दै अघि बढ्छौं’, उनी भन्छन्।

‘कम्युनिस्ट पार्टीको एकतापछि जनताले झन्डै दुईतिहाइ भोट दिएका थिए। त्यसलाई हामीले रक्षा गर्न सकेनौं। त्यो रक्षा गर्न नसकेको कुरालाई समीक्षा गर्दै दोस्रोपटक हामीले एमालेसँग समीकरण बनाएका थियौं’, सापकोटाले भने, ‘एमालेसँग परसम्म जाने समझदारी बनेको थियो। त्यो तोडेर एमालेले कांग्रेससँग नयाँ समीकरण बनायो।’ त्यसैले अब नयाँ ढंगबाट वामपन्थी आन्दोलनलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उनी सुनाउँछन्।


‘सुशासनको डर र भयले भ्रष्टहरू मिले’ 
पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, नेकपा माओवादी केन्द्र
 
आउने दिनमा माओवादी पार्टीलाई गतिशील पार्टीका रूपमा नयाँ ढंगबाट रूपान्तरण गर्छौं। ०८४ मा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ पार्टीमा छलफल चलिरहेको छ। हामीले सरकार छोडेर विजेताका रूपमा निस्केका छौं। सरकारमा जानेहरू हारेर पसेका छन्। हामी जनतासँग जोडिएका छौं, हामी हाम्रो मुद्दासँग जोडिएका छौं। हामी वर्ग र समुदायसँग जोडिएका छौं। 

सुशासन, सामाजिक न्याय र समृद्धि  एवं आर्थिक विकासको पक्षमा गम्भीरताका साथ पहल गर्दा गर्दै सुशासनको डर र भयका कारणले भ्रष्टहरू मिले भनेर अहिले बच्चा–बच्चाले जानकारी पाएको छ। यो हाम्रो निम्ति संगठन सुढृढ र विस्तार गर्ने एउटा ठूलो आधार मिलेको छ। त्यस कारण हामी उत्साहका साथ पार्टी निर्माणका अभियानमा लाग्छौं।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.