हैजाबाट जोगिन सरसफाइ
हैजा पानीजन्य रोग भएकाले पानी तथा सरसफाइमा स्थानीय सरकार (घरदैलोको सरकार)देखि संघीय सरकारको ध्यान जान जरुरी छ।
सरसफाइ अभावमा विभिन्न महामारीको प्रकोपको सामना गर्नुपर्ने हुन्छ। त्यसमध्ये हैजा एक हो। यो रोग पानी वा खानाका माध्यमबाट प्रवेश गरेको केही घण्टाभित्रै शरीर कमजोर हुन थाल्छ। विशेषगरी दूषित खाना वा पानीको प्रयोग गरेपछि यो लक्षण देखिन्छ। अचानक पानीजस्तो तारन्तार दिसा हुने, पेटमा असजिलो, खान मन नलाग्ने, चौलानी पानी जस्तो दिसा भइरहन्छ।
दिनको ५० देखि ६० पटकसम्म पातलो दिसा हुने, बान्ता तारन्तार हुने, पिँडौलाको मासु बाउँडिने, धेरै तिर्खा लागि छट्पटयाई हुने, पिसाबमा कमी आउने, सानो बच्चाको तालुमा खाल्टो पर्ने, आँखाभित्र गाडिने, आँसु नआउने, ओठमुख सुक्ने, छालाको चमक हराउने आदि भई शक्ति क्षण हुन्छ। हाम्रो देशमा बेलाबेलामा देखा पर्ने विभिन्न प्राकृतिक विपद्ले खानेपानीको मुहान प्रदूषण हुने र सहरी क्षेत्रमा ढलको उचित निकास तथा फोहोरमैलाको उचित व्यवस्थापन नभएको कारण हैजाजस्तो महामारी देखा पर्ने गर्छ। यो रोग पानीजन्य भएकाले शुद्ध पानी साथै मलमूत्र र फोहोरमैलाको उचित व्यवस्थापन गर्न सके हैजाबाट बच्न सकिन्छ।
हैजा नियन्त्रणका लागि, फोहोरमैलाको आवश्यक व्यवस्थापन, शौचालयको प्रयोग, नियमित साबुनपानीले राम्रोसँग हात धुने बानीको विकास, स्वच्छ र सफा खाना तथा फलफूल र तरकारीको सेवन, राम्रोसँग सफा पानीले सफा गरेको सलाद, पिउने पानीलाई सकेसम्म उमालेर मात्र पिउने बानी व्यवहारमा परिवर्तन गर्न सकेमा हैजा रोगलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ। यो रोगको लक्षण देखा परेमा तुरुन्त जीवनजल पानीको सेवन गर्ने तथा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु आवश्यक हुन्छ। हैजा नेपाली समुदायमा सयौं वर्षदेखि जरा गाडेर रहेको र बेलाबेलामा प्रकोपको रूपमा देखा परिरहेको हुँदा यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने वर्तमानको आवश्यकता हो। पानीजन्य रोग भएको हुँदा पानी तथा सरसफाइमा स्थानीय सरकार (घरदैलोको सरकार), प्रदेश सरकार तथा संघीय सरकारको ध्यान जान जरुरी देखिन्छ।
हैजाको उचित नियन्त्रणको लागि, पानीको शुद्धताको लागि फोहोरमैला व्यवस्थापन अपरिहार्य हुन्छ। सोको लागि स्रोतमै फोहोरमैला उत्पादन कम तथा व्यवस्थापन गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीको अहम् भूमिकाबारे जानकारी गराउनु पर्दछ। यसका साथै विद्यालय तथा विद्यार्थीको माध्यमबाट सोबारे अभिमुखीकरण गर्ने, पालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा राखी फोहोरबाट मोहोर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्दछ। फोहोरमैला व्यवस्थापन र यसको बहुआयामिक उपयोग नीतिमा सार्वजनिक, निजी र नागरिकबीच सहकार्यात्मक ढंगबाट अगाडि बढ्नुपर्छ।
सन् २०३० को दिगो विकासको लक्ष्य र सन् २०४३ को समुन्नत नेपालको लक्ष्यमा पुग्न व्यवस्थित र गुणस्तरीय सहर तथा गाउँको पूर्वाधार हुनुपर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउनुपर्छ। प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनुपर्छ। फोहोरमैला व्यवस्थापनको तथ्यांकलाई वैज्ञानिक ढंगले अध्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनको लागि पूर्वाधारको विकास गर्न आवश्यक छ।
फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्ने, नगरवासीहरूलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्षलगायत आदि कार्यको जनचेतना अभिवृद्धि गर्नुपर्छ। सो का व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्य योजना बनाई अगाडि ल्याउन आवश्यक छ। यस्तो कार्य योजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवा सुविधा स्पष्टरूपमा उल्लेख हुनु पर्दछ।
नगर क्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा वढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ। फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्ने सोबाट ठूलो धनराशिको बचत हुने, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र नगरपालिकाले उपयुक्त प्रविधि भिœयाई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्दछ। यसरी उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले फोहोरबाट मोहोर आर्जन गरी कार्यान्वयन गर्न आवश्यक छ।
त्यस्तै, नगरपालिकाकै ल्यान्डफिल्ड साइडको व्यवस्था गर्ने, पब्लिक—प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यामान कानुनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था हुनुपर्छ। कतै निकायगत जिम्मेवारीमा दोहोरापना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था हँुदा फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनुपर्छ। विद्यामान कानुनहरूलाई परिमार्जन गरी माध्यमिक तहको विद्यालयको पाठ्यक्रममा नै फोहोरमैलाको स्रोत परिचालनसम्बन्धी विषयवस्तु राखी, प्रांगारिक मलको कारखाना खोल्न आवश्यक पहल गर्नुपर्दछ।
काठमाडौं महानगरपालिका तथा अन्य सहरको फोहोरमैलाको व्यवस्थापनमा सहयोगको लागि सम्पूर्ण सरकारी, निजी, गैरसरकारी संस्था, विद्यालय तथा विश्वविद्यालय, युवा क्लब, स्वयंसेवक, नागरिक समाज आदि सबैसँग फोहोरमैला व्यवस्थापन सहयोग लिन अति आवश्यक छ। त्यस्तै, खानेपानीको मूल वा मुहानदेखि उपभोक्ताको मुखसम्म प्रदूषणरहित वितरण हुनुपर्दछ। खानेपानी वितरकको भौतिक र प्राविधिक पक्षको जिम्मेवारी खानेपानी वितरक संस्थाको हो। यसको प्रमाणीकरण स्वास्थ्यसँग सम्बन्धित निकायको भएकोले सो प्रभावकारी हुन आवश्यक छ। खानेपानी मानव जीवनको प्राणको रूपमा भएकोले स्वस्थ र गुणस्तरीय रूपमा वितरण गर्ने कार्यमा तीनै तहका सरकार वितरक र उपभोक्ता सचेत हुन आवश्यक छ। यसो भएमा मात्र फोहोमैलाको उचित व्यवस्थापन भई हैजा जस्तो महामारीलाई नियन्त्रण गरी सबै मानिसको स्वास्थ्य गुणस्तर बनाउन सकिन्छ।
अधिकारीले नेपालमा गुणस्तरीय जीवनका निम्ति स्वास्थ्य, जनसंख्या एवं वातावरण शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका विषयमा विद्यावारिधि गरेका छन्।