त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ७ केजी कोकिनसहित विदेशी नागरिक पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ७ किलो लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ल्याटिभियन नागरिक ५१ वर्षीय एभार्स भाल्टर्स रहेका छन्।
प्रहरीले उनको साथबाट ७ किलो ६६५ ग्राम कोकिन बरामद गरेको छ।
उनी दोहाबाट कतार एयरवेजको उडान नम्बर क्यूआर ६४४ बाट मंगलबार राति नेपाल आएको खुलेको छ। झोलामा लुकाएर ल्याएको साढे सात किलो कोकिनसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा भाल्टर्सले बोकेको झोलामा उक्त परिणामको लागुऔषध बरामद भएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ। थप अनुसन्धानका लागि उनलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर लगिएको छ।