काठमाडौं : नेपाली कांग्रेसले महासमिति बैठकमा पेस भएका विभिन्न प्रस्तावहरूलाई केन्द्रीय समितिको बैठकबाट संशोधनसहित पारित गर्ने तयारी गरेको छ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा साउन २३ गते बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि एजेन्डाबारे छलफल गर्दै महासमितिमा पेस भएका प्रस्तावमाथि आएका सुझावहरूलाई संशोधनसहित केन्द्रीय कार्यसमितिबाट पारित गर्ने निर्णय भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए। त्यस्तै केन्द्रीय समिति बैठकमा सरकारमा पार्टीको सहभागितालाई प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने उनले बताए। सरकारका साथै पार्टी संगठनलाई समेत बलियो बनाउँदै अघि बढ्ने विषयमा पदाधिकारी बैठकमा छलफल भएको परियारले बताए।
यसैगरी पदाधिकारी बैठकमा विदेशस्थित सम्पर्क समितिहरूलाई व्यवस्थित गर्ने, विभाग र निर्देशन समिति बनाउने विषयमा पनि बैठकमा छलफल हुने भएको छ। कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले आगामी केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरेको राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने सन्दर्भमा छलफल भएको सहमहामन्त्री परियारले उल्लेख गरे। उनले गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकले पारित गरेका विभिन्न प्रस्तावहरूलाई सुझावसहित केन्द्रीय समितिबाट अनुमोदन गर्ने विषय पनि उठेको बताए।
उनले भने, ‘प्रस्तावहरूमा महासमितिमा व्यापक छलफल भयो। बैठकले आएका सुझावहरूसहित, संशोधनसहित केन्द्रीय कार्यसमितिबाट पारित हुने गरी जुन निर्णय भएको थियो। सोही विषयमा अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले उक्त महासमितिबाट प्रस्तुत भएको जुन प्रस्तावहरू हो त्यसमा सुझाव संकलन गरिनेछ। सरकारमा रहेर कांग्रेसले पार्टी संगठनलाई तल्लो तहसम्म लिएर जाने कुरा र सरकारमा बसेर कांग्रेसले कस्तो भूमिका खेल्नुपर्छ भन्ने बारेमा पनि छलफललाई केन्द्रीकृत गर्ने भन्ने कुरा भएको छ। पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको बारेमा पनि छलफल हुन्छ।
परियारका अनुुसार केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्लामा खटाउने विषयमा छलफल गरिएको छ। साउन २३ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा थप छलफल गरेर निर्णयमा पुग्ने विषयमा पनि छलफल भएको छ। बैठकमा अरू एजेन्डा भनेको दोस्रो, संघीय र प्रदेशका सरकारहरूका कामकारबाही प्रभावकारी बनाउने, तेस्रो, सहमहामन्त्रीहरूको जिम्मेवारी, चौथो, संगठन सुदृढीकरण तथा विभाग लगायतलाई पूर्णता दिएर चलायमान बनाउने। पाँचौं, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरूबीच भएका सहमति ब्रिफिङ हुने भएको छ।
कांग्रेसका ३७ विभागीय प्रमुख मनोनीत
कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन्। सोमबार सभापति देउवाले विधानको धारा ३७ (१) बमोजिम ३७ वटा विभागका प्रमुखहरू मनोनयन गरेका हुन्।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम विभागीय प्रमुखहरू मनोनयन गरेको जानकारी दिए। उनका अनुसार राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागको प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनीत भएका छन्।
त्यस्तै, संघीय मामिला समन्वय विभागको प्रमुखमा चन्द्रबहादुर केसी, संसदीय मामिला विभागको प्रमुखमा गोविन्दबहादुर शाह र कानुन विभागको प्रमुखमा मानबहादुर नेपाली मनोनीत भएका छन्।