रूपन्देही प्रशासन देशभरमा सर्वोत्कृष्ट
भैरहवा : जिल्ला प्रशासन कार्यालय रुपन्देही कार्यसम्पादनमा देशभरीमा सर्वोत्कृष्ट भएको छ। गृह मन्त्रालयका सचिव र जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूबीच भएको कार्यसम्पादन सम्झौताबमोजिम देशका ७६ जिल्लालाई उन्छिदै रूपन्देही प्रशासन प्रथम भएको हो।
गत आर्थिक वर्ष २०८०/०८१ को साउन पहिलो हप्तामा भएको कार्यसम्पादन सम्झौतामा रहेको एक सय सूचाकांकअनुसार कार्य गर्दा जिल्ला प्रशासन कार्यालय रूपन्देहीको कार्यप्रगतिलाई मापन गरेर मूल्यांकनमा ९८ अंक ल्याएर प्रथम भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।
गृहबाट सार्वजनिक भएको विवरणअनुसार प्रशासन कार्यालयहरूमा रूपन्देही प्रथम भएको छ भने जिल्ला प्रशासन कार्यालय धनुषाले ७६ दशमलव २५ अंक प्राप्त गरी सबैभन्दा अन्तिम ७७औँ स्थानमा पुगेको छ।
९८ अंक प्राप्त गरी देशभरमा पहिलो हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल हुन्। उनले जिल्ला नेतृत्व सम्हाले लग्त्तै केही व्यक्तिहरुले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जग्गाको लालपूर्जा तयार गरी मुआब्जा लिने थालेको प्रयासलाई विफल बनाएर सरकारको नाममा ल्याएर चर्चामा आएका थिए। त्यस्तै उनले जिल्लाको अन्य स्थानहरुमा पनि विभिन्न व्यक्तिहरूले अतिक्रमण गरेको सार्वजनिक जग्गाहरुबाट अतिक्रमण हटाएर संरक्षण गरे।
नागरिकसगँ प्रशासन अवधारणालाई अवलम्बन गरी अघि बढ्दा सफलता प्राप्त भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए। सेवा प्रवाह, सुशासन, विकास व्यवस्थापन, विपद् व्यवस्थापन, बजार अनुगमन, लगायत समग्र पक्षमा फरक र मिहिन ढंगले कार्य गर्दा परिणाम आएको उनको भनाइ छ।